माओवादी केन्द्रनिकट विद्यार्थी संगठनका अध्यक्ष रञ्जित तामाङले प्रधानमन्त्री केपी ओली मुलुकका लागि कोभिडभन्दा घातक रहेको आरोप लगाएका छन् । अखिल क्रान्तिकारी गण्डकी प्रदेशले सोमबार गरेको कार्यक्रममा उनले भने, ‘ओली यति वेला मुलुकका लागि समस्या बनेका छन् । समस्या मात्र होइन, उनी कोभिडभन्दा घातक देखिएका छन् । उनी बालुवाटारबाट हटेको दिन देशले निकास पाउँछ ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड मुलुकका लागि समस्या रहेको बताएको अर्को दिन माओवादीनिकट विद्यार्थी नेताको प्रतिक्रिया आएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता हितराज पाण्डे, अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपमहासचिव एवं प्रवक्ता जिपी मैनाली र तेजु पौडेलले पनि धारणा राखेका थिए ।