मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १३ सोमबार ०९:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जितपुर–सिमरा गोल्डकपको उपाधि संकटालाई

Read Time : > 1 मिनेट
२०७८ बैशाख १३ सोमबार ०९:०२:००

संकटा क्लबले ११औँ जितपुर–सिमरा गोल्डकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन (एआरए)लाई सडन डेथमा पराजित गर्दै संकटाले उपाधि आफ्नो पोल्टामा पारेको हो । संकटाले जितपुर–सिमरा गोल्डकपको उपाधि उचालेको दोस्रोपटक हो । यसअघि आठौँ संस्करणको उपाधि पनि संकटाले जितेको थियो । संकटालाई उपाधि दिलाउने क्रममा गोलरक्षक राजाबाबु थापा नायक बने । संकटाका साहिद स्मार्टले सडन डेथमा गोल गर्दा क्यामरुनका काकाको प्रहारलाई गोलरक्षक राजाबाबुले बचाउ गरेका थिए । उनको उत्कृष्ट बचाउसँगै जारी सिजनमा संकटाले एआएरमाथि जित निकालेको हो । 

यसअघि आहा रारा गोल्डकपमा पनि संकटाले एआरएलाई टाइब्रेकरमा पराजित गरेर उपाधि जितेको थियो । आहारारापछि विराट गोल्डकपमा पनि संकटाले एआरएमाथि १–० को जित निकालेको थियो । तेस्रो भिडन्तमा पनि जित निकाल्ने क्रममा संकटाले एआएरले प्रस्तुत गरेको चुनौतीलाई सामना गर्न सफल भयो । 

बलियो देखिएको एआरएले उत्कृष्ट खेल खेले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा एआरएले थुप्रै अवसर बनाएको थियो । तर, ती अवसरलाई सदुपयोग गर्न भने सकेन । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरी खेलेका दुवै टिमले टाइब्रेकरमा समेत नतिजा निकाल्न सकेनन् । टाइब्रेकर ४–४ को बराबरी भएपछि नजिता सडन डेथबाट निस्किएको हो । 

विजेता संकटाले पायो सात लाख
जितपुर–सिमरा गोल्डकपको दोस्रोपटक उपाधि जित्ने टोलीमा नाम लेखाउन सफल संकटाले ट्रफीसहित सात लाख नगद हात पारेको छ । उपविजेता अफ्रिकन रुट्स एसोसिएसनले तीन लाख ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक नवजनजागृति युवा क्लबका मोहित गुरुङ घोषित भए । उनले बेनेलीको एक थान मोटरसाइकल हात पारे । 

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संकटाका राजाबाबु थापा, उत्कृष्ट डिफेन्स संकटाका अभिषेक लिम्बू, उत्कृष्ट मिडफिल्ड संकटाकै रोशन पहरी, उत्कृष्ट प्रशिक्षक संकटाका राजकुमार केसी घोषित भए । यसैगरी उत्कृष्ट फरवार्ड एआरएका एन्जिमी घोषित भए । प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट नवजनजागृति युवा क्लबका रोहन तामाङले जिते । विधागततर्फ उत्कृष्ट भएका सबैले जनही १५ हजार नगर पाएका छन् । 

विजेता, उपविजेता र अन्य उत्कृष्ट खेलाडीलाई जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, एन्फा महासचिव इन्द्रमान तुलाधर, विश्वकर्मा सिमेन्टका महाप्रबन्धक दीपक घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए । जितपुर–सिमरा उपमहानगरपालिकाको सहयोग र विश्वकर्मा सिमेन्टको प्रयोजनमा ३१ चैतमा सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।