मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १३ सोमबार
  • Sunday, 22 December, 2024
२o७८ बैशाख १३ सोमबार o३:o७:oo
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रवासी नेपालीलाई भारतमा महाभारत

Read Time : > 8 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १३ सोमबार o३:o७:oo

भारतको स्वास्थ्य प्रणाली अस्तव्यस्त हुँदा प्रवासी नेपालीको दुःख बेहिसाब, महामारीपीडित नेपालीको संख्या र अवस्थाबारे न दूतावासलाई जानकारी, न सरकारलाई चासो

बुधबार तीन लाख १५ हजारका साथमा भारतले कोरोना संक्रमणमा विश्वमै नयाँ रेकर्ड छोयो, यसअघि गत ८ जनवरीमा अमेरिकामा तीन लाख सात हजार केस दर्ज भएका थिए । त्यतिन्जेलसम्मको उच्च रेकर्ड बनाएपछि अमेरिकामा संक्रमण ओरालो लागेको थियो । तर, भारत भने दिनहुँ उकालो लागिरहेको छ । बिहीबार तीन लाख ३२ हजार, शुक्रबार तीन लाख ४५ हजार र शनिबार तीन लाख ४९ हजार नयाँ संक्रमण पुष्टि भएका छन् । आइतबार पनि मध्यरातसम्म तीन लाख ५४ हजार संक्रमित भएको तथ्यांक अपडेट भइसकेको थियो । हरेक दिन दुई हजार पाँच सयको आसपासमा मृत्यु रेकर्ड भएका छन् । 

खासगरी दिल्ली, महाराष्ट्र, गुजरातसहित भारतभरि कोभिड संक्रमण आक्रामक छ, यिनै क्षेत्रमा नेपालीको घनत्व धेरै छ । त्यसैले आमभारतीयजस्तै विभिन्न पेसा, व्यवसाय र मजदुरी गर्ने नेपालीमा पनि कोभिडको संक्रमण तीव्र भएको छ । तर, मूल निवासीले नै अस्पतालमा बेड र अक्सिजन नपाएकाले नेपालीको पीडा हिसाबमै आएको छैन । 

अस्पतालमा पहुँच नभएको भन्दै नेपालीले प्रवासी नेपालीसम्बन्धी विभिन्न संगठनसँग हारगुहार गर्न थालेका छन् । दिल्लीस्थित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाका अनुसार दिल्लीमा यही साता ३५ वर्षभन्दा मुनिका तीन नेपालीको ज्यान गएको छ । त्यस्तै, मुम्बईमा उपचार नपाएर एकजनाको मृत्यु भएको छ । ‘नेपाली भएकै कारण भारतमा उपचार नभएको होइन, यहाँको स्वास्थ्य प्रणालीले नै थेग्न नसकेको असर नेपालीमा पनि परेको छ,’ रानाले दिल्लीबाट नयाँ पत्रिकासँग भने, ‘मैले बुझेसम्म नेपालीलाई उपचारमा भेदभाव भएको छैन । तर, भारतमा कोभिडका बिरामीको बढ्दो चापका कारण नेपाली मात्र होइन, सबै मर्कामा छन् ।’ त्यस्तै देहरादुनमा एकजना मृत्यु भएको छ । 

नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार भारतमा कति नेपाली संक्रमित छन् भन्ने तथ्यांक संकलन हुन सकेको छैन । ‘भारतमा महामारी भयावह भएकाले कहाँ कति नेपाली प्रभावित छन् भन्ने वैज्ञानिक तथ्य संकलन हुन सकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने । 

अखिल भारत नेपाली एकता समाजका महासचिव आरबी खड्काका अनुसार भारतभरि नेपाली विद्यार्थी र कामदार निकै ठूलो संख्यामा संक्रमित भएका छन् । ‘जस्तो कि दिल्लीको लक्ष्मीनगरमा विद्यार्थीलाई कोरोना भेटिएको छ, अस्पतालमा उपचार नहुने भएपछि केही औषधि खाएर उनीहरू डेरामै बसेका छन्, कतिपय गम्भीर बिरामी पनि कोठामै बसेका छन्,’ खड्काले टेलिफोनमा भने, ‘दुई साताभन्दा बढी समयदेखि निरन्तर ज्वरो आएका पनि अस्पताल जाने अवस्था नभएर डेरामै छन् । नेपालीमा त अहिले घरै बसे बाँचिएला, अस्पताल गइयो भने फर्केर आइँदैन भन्ने मनोविज्ञान देखिन्छ ।’ 

निजी अस्पतालको लुट

गम्भीर बिरामीलाई दिइने अक्सिजन तथा रेमिडिसिभिर र अक्टोमिरा औषधिको चरम अभाव छ । औषधि मात्र होइन, अक्सिजन पनि खोसाखोस र कालोबजारी भएको भन्दै राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप भइरहेको छ । यो अभावको मारमा भारतीयसँगै नेपाली बिरामी पनि स्वतः परेका छन् ।

सरकारी अस्पतालमा नयाँ बिरामीका लागि उपचार गर्ने ठाउँ नभएका वेला निजी अस्पतालले लुट मच्चाएका छन् । तर, ती रिपोर्ट भारतीय मिडियामा निकै कम मात्र आएका छन् । दिल्लीको महाराजा सुरज अस्पतालमा उपचाररत राजु परियार अहिले कोभिडसँग संघर्षरत छन् । उनको उपचार सकिएको छैन, तर अस्पतालले अहिलेसम्मको उपचारका लागि लागेको भन्दै करिब पाँच लाखको बिल थमाइसकेको छ । 

उनले टेलिफोनमा संक्षिप्त प्रतिक्रिया दिए, ‘पैसाको के कुरा गर्नु, भनिसाध्यै छैन । म अलिक गम्भीर बिरामी भएकाले अक्सिजन लगाएर अस्पतालमा बसेको छु । अहिले धेरै बोल्न सक्दिनँ । ज्यान बच्यो भने पैसा तिरौँला । अहिले जीवनका लागि संघर्ष गर्दै छु सर ।’ 

पश्चिम नेपालका धेरै मजदुर भएको मुम्बई सहरमा पनि कति नेपाली संक्रमित छन् भन्ने यकिन तथ्यांक छैन । ‘नेपाली कामदार सेना’का अध्यक्ष मास्टर थापाका अनुसार केही दिनअघि उपचारका लागि अस्पतालको बेड नपाएर गुल्मीका एकजना पुरुषको मृत्यु भएको छ । ‘बेडको आशामा एउटाबाट अर्को अस्पताल दौडाउने क्रममा बिचराको मृत्यु भयो,’ थापाले टेलिफोनमा भने, ‘रोजगारी गुमाएका नेपाली महामारीबाट बच्न स्वदेश फर्किएका छन्, फर्किन नसकेकाहरू कोभिडको चपेटामा छन् ।’ 

तर, ज्यान बचाएर देश हिँडेका नेपालीको यात्रा पनि सहज छैन । ‘मुम्बईबाट नेपाली सीमावर्ती गौरीफन्टा नाकासम्म ल्याइदिने भनेर महँगो टिकट बेच्ने र बीचबाटैमा नेपालीलाई अलपत्र पार्ने गरिएको गुनासो छ, यस्तो थाहा पाएपछि हामीले महाराष्ट्र सरकारका मन्त्रीलाई नै जानकारी दिएका छौँ,’ थापाले भने । 

के गर्दै छ नेपाली दूतावास ? 

नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार संक्रमित नेपालीलाई सहयोग गर्न दुईजना कूटनीतिक र दुईजना स्थानीय कर्मचारी परिचालन गरिएको छ । ‘संक्रमित नेपालीको अवस्था बुझ्ने, अस्पताल भर्नामा समन्वय गर्ने तथा लकडाउनको अवस्थामा नेपालीलाई स्वदेश फिर्ताका लागि कागजपत्रसहित सहजीकरण गर्ने काम भइरहेका छन्,’ सुवेदीले भने । 

भारत सरकारका विभिन्न निकायसँग समन्वयमा रहेर दूतावासले काम गरिरहेको सुवेदीले बताए । ‘विभिन्न राज्य सरकारले प्रवासी कामदार एवं मजदुरलाई नडराउन र आत्तिएर नहिँड्न आग्रह गरिरहेका छन्,’ उनले भने । शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रवासी कामदारलाई नआत्तिन भनेका छन् भने उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि धैर्य गर्न र त्यहीँ बस्न आग्रह गरेका छन् । सुवेदीका अनुसार सीमा जोडिएका राज्यहरू बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगालमा रहेका र तत्काल रोजगारी बन्द भएका मजदुर स्वदेश फर्किएका छन् । अघिल्लोपटक भारतबाट आउनेलाई सिमानामा रोक्ने, क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गर्नेसम्मका काम भएका थिए । तर, यसपालि भने आवागमन निर्वाध छ । 

प्रवासी नेपालीसम्बद्ध संगठनका पदाधिकारीले पनि नेपाल–भारत सीमा बन्द गर्न नहुने माग राखेका छन् । बरु नेपालमा सरकारले कडा चेकजाँच र क्वारेन्टिनको व्यवस्था गरोस् भन्ने उनीहरूको सुझाब छ । अखिल भारत नेपाली एकता समाजका महासचिव आरबी खड्का यसअघि नेपालीलाई सिमानामा रोकेर अन्याय भएकाले यसपालि नदोहो¥याउन आग्रह गर्छन् । 

‘सीमा बन्द भयो भने पनि भारतीय प्रहरीलाई दुई–चार सय रुपैयाँ खुवाएर नेपाली अवैध रूपमा जान्छन्, त्यो अवस्थामा महामारी झन् भयानक र बेहाल हुन्छ । बरु, अहिले सीमानाकामा परीक्षण गराएर, क्वारेन्टिनमा राखेर व्यवस्थित रूपमा उनीहरूलाई घर फर्काउनुपर्छ । सीमा बन्द कुनै पनि हालतमा समाधान होइन,’ उनी भन्छन् । 

दिल्लीस्थित नेपाली दूतावासले पनि सरकारलाई यही सुझाब दिएको परराष्ट्र स्रोतले बतायो । यद्यपि नेपालमा भने सीमानाका बन्द गर्न सरकारमाथि चौतर्फी दबाब छ । ‘सरकारले सीमानाकाबाट एक किलोमिटरभित्रको दूरीमा एक हजारजना अट्ने होल्डिङ सेन्टर बनाउने गरी काम अघि बढाएको छ,’ एकजना उच्च सुरक्षा अधिकारीले नयाँ पत्रिकासँग भने, ‘त्यहीअनुसार नागरिकको व्यवस्थापन गर्ने भन्ने छ ।’ तर, महामारी भयावह भइसकेको छ, होल्डिङ सेन्टर कहिले बनाउने ? कोभिड परीक्षण गरेर मात्र घर पठाउने क्रम कहिले सुरु हुने भन्ने ठेगान छैन । 

संक्रमित भएर दिल्लीमा अस्पताल खोजी गर्दा : सिपी अर्याल, नेपाली विद्यार्थी, साउथ एसियन युनिभर्सिटी, दिल्ली

म हाल दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्रमा विद्यावारिधि गर्दै छु । हामी होस्टेलमा बस्छौँ, मेसमा खान्छौँ । त्यसैले कहाँबाट कतिवेला कोभिड स¥यो भन्ने यकिन गर्न गाह्रो छ । पूरै भारतमा भयावह छ, एक–एक हिसाब गर्न असम्भवजस्तै भएको छ । 

म बिरामी भएको आइतबार १५ दिन भयो । सुरुमा जिउ दुखेको थियो । मैले अलि धेरै शारीरिक व्यायाम गर्ने हुनाले त्यसकै कारण अप्ठेरो भयो भन्ठानेर बेवास्ता गरेको थिएँ । पछि ज्वरो पनि आयो, तर राति कताकता सास फेर्न असहज भएपछि म आत्तिएँ । त्यही दिनदेखि ‘आइसोलेसन’मा बस्न थालेँ । तर, महामारीले स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ, प्राइमस भन्ने दिल्लीको ठूलो अस्पतालमै पिसिआर रिपोर्ट आउन एक साता लाग्यो । 

सास फेर्न असहज हुँदै गयो, अस्पतालमा सुरक्षित नभइएला भनेर साथीको सहयोगमा युनिभर्सिटीबाट निस्किएँ । दिल्लीजस्तो ठूलो ठाउँमा अस्पताल पाउनु कुन ठूलो विषय हो र भन्ने लागेको थियो । तर, परेपछि बल्ल चाल पाइयो, कुनै पनि अस्पतालमा भर्ना हुन बेड पाइएन । अहिले होइन, दुई साताअघि नै त्यो अवस्था थियो । 

यता मलाई असहज भइरहेको थियो, अस्पतालमा बेड पाइन्न भन्ने विषयले झन् विचलित बनायो । अर्को दिनभरि पनि कोसिस गर्दा जिटिबी हस्पिटलमा एउटा बेड मिलेको खबर आयो । अघिल्लोपटक एम्बुलेन्सको राम्रो व्यवस्थापन थियो । तर, अहिले निजी होस् वा सरकारी, सबै अस्पतालको व्यवस्थापन भद्रगोल भइसकेको छ । 

बल्लतल्ल एम्बुलेन्स जोहो गरेर अस्पताल गएँ । मैले त सोचेको थिएँ बेड पाइयो, अब उपचार हुन्छ । भित्र कोठामा बेडमा लैजाला, अक्सिजन देला र उपचार गर्ला । तर, अस्पताल आपैmँ भद्रगोल थियो । पार्किङदेखि नै आँगन, रिसेप्सन जताततै बिरामी लामो–लामो सास फेर्दै टाउकोमा हात राखेर खुइ–खुइ गर्दै बसेका छन् । भाग्यमानीले मात्र स्ट्रेचरमा सुत्न पाएका छन् । अरू कतिको सास जान आँटेको थियो, अक्सिजन पाइरहेका थिएनन् । सास जान लागेका मानिसको छातीमा अँठ्याएर डाक्टरले बचाउन सक्दो प्रयास गरिरहेका थिए । हेर्दाहेर्दै मान्छे मरिरहेका थिए । बडो विस्फोटक र हृदयविदारक अवस्था थियो । 

मैले पनि एउटा स्ट्रेचर पाएँ, त्यसमा बसेँ । एकछिनमा डाक्टर आएर सुई रोपे । एकछिनमा अक्सिजन लेभल नापे, केहीबेरमा अक्सिजन दिन थाले । मलाई केही राहत भयो, तर भित्र आराम थिएन । 

तुरुन्तै कोही सञ्चो हुने कुरा त भएन । भित्र कसैको ज्यान गयो भने बेड खाली गरेर अर्कोलाई बोलाइने रहेछ । धेरै बेरपछि भित्रबाट आवाज आयो, ‘एक पेसेन्टको अन्दर भेजो ।’ त्यसको मतलब भित्र उपचार भइरहेको कसैको मृत्यु भयो, बेड खाली भयो । अर्को बिमारीले अवसर पायो । यस्तो भयानक अवस्था । तर, मेरैअगाडि सब यही भइरहेको थियो । 

म भने स्ट्रेचरमा पल्टिएर अक्सिजन लिइरहेको थिएँ, भित्र पालो कहिले आउने हो ठेगान थिएन । त्यस्तो अवस्थाको दर्शक बन्दा मनोवैज्ञानिक रूपमा पनि झन् कमजोर हुने देखियो । त्यसैले मैले त्यहाँबाट उम्कने विचार गरेँ । करिब तीन घन्टाजति अक्सिजन लिएपछि डाक्टरलाई बोलाएर मैले भनेँ, ‘हम अभि घर जाएंगे, हल्का ठीक होगए ।’ अक्सिजन लेभल जाँच गरेपछि डाक्टरले पनि सहमति दिए । 

हस्पिटलमा भन्दा होस्टेलमा आराम लाग्यो । तीन घन्टा मात्रै पनि अक्सिजन पाएकाले होला, मलाई धेरै हदसम्म सजिलो भयो । एक–दुई दिनपछि सास फेर्न पनि सजिलो भयो । म त बिस्तारै ठीक हुँदै छु । तर, दिल्ली र पूरै भारतको अवस्था भयावह हुँदै छ । अवस्था यस्तो छ कि यहाँ कसैले कसैलाई सहयोग गर्न सक्ने अवस्था छैन । खासमा कसैलाई अस्पताल भर्ना गराउन र अक्सिजनसम्म दिलाउन निकै गाह्रो छ ।

संक्रमण भयावह भएपछि भारतीय धनाढ्यको भिड विदेशतिर 

एएफपी (मुम्बई)/ कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ । भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढ्यो । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर बिदेसिएका छन् । 

भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई प्रमुख हो । कोरोना संक्रमणमा भारतमा दिनहुँ उच्च रेकर्ड बन्न थालेपछि दुबईले भारतबाट आउने उडान आइतबारबाट स्थगित गर्ने सूचना दिएको थियो । त्यसैले अन्तिम घडीमा भए पनि देशबाट निस्किन खोज्नेहरूका कारण हवाई टिकटको मूल्यले रेकर्ड बनाएको हो । बेलायतलगायतका थुप्रै देशले भारतसँगको हवाई उडान स्थगित गरिसकेका छन् । 

मुम्बई–दुबई उडानको टिकट शुक्रबार र शनिबार एक लाख भारुसम्म पुगेको थियो, तैपनि टिकट नपाएर कैयौँ धनाढ्यले जहाज चार्टर्ड गरेर भारत छोडे । आइतबारदेखि भने युएईले भारतसँगका उडान स्थगित गरेको छ । तस्बिर : एएफपी

भारत र दुबईबीच सातामा करिब तीन सय उडान हुन्छन् । तर, पछिल्ला दिनमा ती उडान पनि कम भए । शुक्रबार र शनिबारका उडानमा मुम्बईबाट दुबईसम्मको यात्राको भाडादर भारु एक लाखसम्म पुगेको थियो । सामान्य अवस्थामा यो रुटमा करिब भारु १० हजार मात्र भाडा लाग्छ । त्यस्तै, नयाँदिल्लीबाट दुबई जाने टिकटको मूल्य पनि भारु ५० हजार पुगेको थियो । 

महँगो टिकट पनि प्राप्त नभएपछि धमाधम जेट विमान चार्टर्ड भएका थिए । ‘जहाज चार्टर्ड गर्न मान्छेहरू यसरी आतुर थिए कि हामीले यसअघि यस्तो कल्पनासमेत गरेका थिएनौँ,’ एक एअर चार्टर कम्पनीका अधिकारीले एएफपीलाई भने, ‘हामीले मात्रै १२ जहाज चार्टर गरेका छौँ, तर पनि माग धान्न सकिएको छैन । हामीले विदेशबाटै जहाज मगाउने कोसिस गरिरहेका छौँ ।’

मुम्बईबाट दुबईसम्मको उडानका लागि १३ सिटको जहाज चार्टर गर्न ३८ हजार र ६ सिटको जहाज चार्टर गर्न ३१ हजार अमेरिकी डलर लाग्छ । तर, अहिले पैसाको होइन, जहाजको कमी भएको व्यवसायीहरूले बताएका छन् । ‘एक्लै जहाज चार्टर गर्न नसक्नेहरू समूह मिलेर आउन थालेका छन् । कतिपय थाइल्यान्डतर्फ जान खोजेका छन् । तर, धेरैजसोले दुबई नै रोजेका छन्,’ ती व्यवसायीको भनाइ छ ।

सिंगापुरको सहयोगमा भारतमा अक्सिजन एयरलिफ्ट, अन्य देशबाट पनि आयात

एजेन्सी/ कोरोना– १९ महामारीमा अक्सिजन संकट पैदा भएपछि भारतले विदेशबाट ठूलो संख्यामा अक्सिजन केन्द्र आयातको निर्णय लिएको छ । दश हजारभन्दा बढी अक्सिजन केन्द्र आयात गर्ने भारत सरकारको निर्णय छ । 

‘१० हजार अक्सिजन केन्द्र अर्डरमा राखिएको छ र अर्को हप्तादेखि अमेरिकाबाट अक्सिजन कन्सेन्ट्रेटर आयात सुरु हुनेछ,’ सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनआईले लेखेको छ । विदेशबाट अक्सिजनका कन्टेनर ल्याउने प्रयास पनि भएका छन् । तीन महिनाका लागि भन्सार शुल्क हटाइएको छ । 

यतिवेला भारतमा दैनिक १२ सय टन अक्सिजन उत्पादन भएको छ र पूरै अक्सिजन कोरोना बिरामीका लागि खपत भएको छ । संक्रमण बढ्दै जाँदा अक्सिजनको माग १५ देखि १६ सय टन पुगेको छ । तर, तत्काल अक्सिजनको माग घट्ने कुनै संकेत देखिएको छैन । कोभिडअगाडि भारतमा दैनिक सात सय टन अक्सिजन जरुरत थियो भने अहिले पाँच हजार टन पुगेको छ । भारतमा करिब पाँच सय कम्पनीले हावाबाट अक्सिजन निकाल्ने र शुद्ध गर्ने काम गर्छन् । त्यसपछि यसलाई तरल बनाएर अस्पताल पठाइन्छ । 

भारतले अक्सिजनको बढ्दो माग पूरा गर्न धेरै विदेशी निजी कम्पनीहरूसँग पनि सम्झौता गरेको छ । अर्को हप्ता ठूलो संख्यामा अक्सिजन केन्द्रकर्ताहरू आउने र त्यसले बढ्दो संकटलाई कम गर्ने भारतको विश्वास छ । विदेशमा रहेका भारतीय मिसन पनि अक्सिजन आपूर्तिका लागि जुटेका छन् । रसियाले पनि हरेक साता तीन लाख रेडेडेभिर इन्जेक्सन प्रस्ताव गरेको छ र भारतमा अक्सिजन पठाउन चाहेको पनि बताएको छ । चीनले पनि भारतलाई सहयोग गर्न चाहेको छ । 

फिलिप्स इन्डियाले अक्सिजन केन्द्रहरूको आपूर्ति गर्ने भएको छ । फिलिप्ससँग विशेष रूपमा कोभिड– १९ का लागि चाहिने धेरै उत्पादन छन्, जसमा भेन्टिलेटर, अक्सिजन केन्द्र, अल्ट्रासाउन्ड, मोनिटर र पोर्टेबल आइसियू छन् । हालको अक्सिजनको मागका लागि उसले अक्सिजन केन्द्रको विश्वव्यापी उत्पादनमा उल्लेखनीय वृद्धि गरेका छ ।

हाल भारतको राजधानीसहितका धेरै अस्पतालमा अक्सिजन अभाव छ ।  धेरै अस्पतालमा अक्सिजन आपूर्ति नहुँदा दैनिक सयौँ संक्रमितले ज्यान गुमाएका छन् । अक्सिजन अभावलाई लिएर अदालतले पनि चासो देखाएका छन् । दिल्ली उच्च अदालतले तत्कालन अक्सिजन व्यवस्था गर्न निर्देशन नै दिएको छ । अक्सिजन अभाव र अक्सिजन पाउने अनिश्चितताले चिकित्सकहरू चिन्तित बनेका छन् ।