चितवन राष्ट्रिय निकुञ्जमा ९ चैतदेखि २७ चैतसम्म गैँडा गणना भयो । गणक टोलीमा म पनि थिएँ । गणकहरू समूहमा विभाजित भएर गैँडा गणना गरियो । गणनाका क्रममा दुःख अनेक आए, सबैभन्दा चुनौतीपूर्ण २० चैतको दिन बन्यो । त्यस दिन गणकहरू गैँडा गणना गर्न ढोर्से खोलादेखि गैँडाखासा जाने तयारीमा थियौँ । बिहानै ७ बजे ढोर्से खोलामा ३१ वटा हात्ती गणकसहित लाइन लागेर तयार भएका थिए । एउटा हात्तीबाट अर्को हात्तीको दूरी वन क्षेत्रको अवस्था हेरी ५० देखि सय मिटर कायम गरिएको थियो । म २ नं. हात्तीमा थिएँ ।
त्यस दिन काम सुरुवात गर्ने वेलामै ध्रुवे हात्तीलाई गणक नं. २९ र ३० ले देखेका थिए । ती दुई गणकको बीचमा रहेको ध्रुवेलाई पाँच–सातवटा हात्ती र सुरक्षकर्मी मिलेर हवाई फायर गर्दै पछाडि पारेर काम अगाडि बढाइएको थियो । गणना गर्दै जाँदा आ–आफ्नो लाइनमा भएका हात्तीहरूले कसैले झाडी, काँडाघारी त कसैले घाँसेमैदान, खुला बगर र पानीका घोलहरू छिचोल्दै थिए ।
खुला ठाउँमा एक–आपसमा हात्ती देखिने गरेर र झाडी भएको ठाउँमा गणकहरू आवाजको भरमा समन्वय गरेर अगाडि बढिरहेका थियौँ । एक–आपसमा आवाज नसुनेको अवस्थामा सिटी फुकेर संकेत दिने गथ्र्यौँ । अगाडि बढ्न र काममा सहजता होस् भनेर तीनवटा हात्ती फरकमा दिएको वाकीटकीबाट गणकहरू एक–आपसमा खबर आदान–प्रदान गर्दै देखेका गैँडालाई आफ्नो लाइनको पछाडि पार्दै तथा रेकर्ड राख्दै अगाडि बढ्दै थियौँ । दिनको २ बजेतिर गैँडाखासानजिकै पुगेका थियौँ ।
अब काम सकिन करिब १० मिनेट मात्र बाँकी थियो । चर्को गर्मी, झाडी फाँड्दै हिँड्दै गर्दा एक्कासि ध्रुवेले लखेट्यो भन्ने खबर वाकीटकीमा सुनियो । २ नं. हातीबाट नारायणीको बगरमा म निस्किसकेको थिएँ । मेरा नजिकमा रहेका हात्तीहरू पनि सबै अलर्ट भए । एकछिनपछि वाकीटकीमा फेरि खबर आयो विनोद श्रेष्ठ चढेको हात्तीलाई ध्रुवेले हान्यो भनेर । यसो मैले गणकको नामावली लिस्ट पल्टाएर हेरेँ, उहाँ चढेको हाती ३० नं. शीतष्माकली थियो । मेरो र उहाँको हात्तीको दूरी पनि झन्डै दुई किलोमिटर थियो । फेरि एकछिनपछि वाकीटकीमा खबर आयो– विनोद श्रेष्ठ सिकिस्त घाइते हुनुभएको छ, स्टेचर चाहियोे । हाम्रो टोली गाउँनजिक नारायणी ढिकमा निस्किसकेको थियो जसले गर्दा स्थानीयको सक्रिय सहयोगले स्टेचर व्यवस्था गरेर राम कुँवर, रामचन्द्र रैला र सुशील झा डुंगाबाट घटनास्थलतर्फ लाग्नुभयो । उताबाट पनि घाइते हुनुभएका विनोदलाई माहुतले हात्तीमा बस्दा ओछ्याउने जुटको बोरा र रूखको लट्ठीको प्रयोग गरेर प्रारम्भिक स्टेचर बनाई त्यसैमा गणकहरू २५ देखि ३१ सम्मका र सुरक्षाकर्मीले बोकेर ल्याउँदै गरेका थिए । नदीको किनारमा करिब १ किलोमिटर बोकेर निकालेपछि दुवै टोलीको भेट भएपश्चात् सहजताका साथ हतार गरेर बिरामीलाई डुंगामा सुताएर नदी तारी नन्दपुर घाटमा पुगेपछि तयार अवस्थामा रहेको एम्बुलेन्सबाट मध्यबिन्दु अस्पतालमा लगियो । उक्त अस्पतालले प्राथमिक उपचार गरेपछि त्यहाँबाट तुरुन्त हेलिकोप्टर झिकाई काठमाडांैको ह्याम्स अस्पतालमा लगी भर्ना गरिएको छ र हाल उहाँ उपचारको क्रममा हुनुहुन्छ ।
घटना कसरी भएको थियो ?
शीताष्माकलीका माहुते दीपेन्द्र चौधरी भन्छन्– ध्रुवे हात्तीले एक्कासि पछाडि आएर मेरो हात्तीलाई धकेलेपछि हात्ती हुत्तियो । हात्ती भाग्दा लहराको झाडीमा अल्झेर विनोद सर र म लड्यौँ । ध्रुवेले विनोद सरलाई के गर्यो त्यो त मलाई थाहा भएन, तर अरू हात्ती लखेट्दै जाने क्रममा सुरुमा मलाई पछाडिको खुट्टाले लत्याएर हान्यो, तर खुट्टाले नभेट्टाएर म ठूलो खड्कोबाट बाँच्न सफल भएँ ।
उक्त घटना भइसकेपछि नजिकै हात्तीमा रहेका आर्मी र त्यसपछि हामी गणक टोली पुग्यौँ, विनोदलाई झाडीमा पल्टेको देख्यौँ, हामीलाई देखेर खिस्स हाँस्नुभयो, मलाई जसरी पनि बचाउनुहोस्, मैले बाँच्नुपर्छ भन्नुभयो भनेर सुनाउनुहुन्छ ३१ नं. हात्तीका गणक आशिष गुरुङ र आशिष पनि काँडाले कोतारेर रगताम्य हुनुहुन्थ्यो । हात्तीबाट पाँचजना झाडी लहरामा खसी सामान्य घाइते भएका र विनोद श्रेष्ठको भने मेरुदण्ड भाँचिएकाले उपचारमा जटिलता आएको छ ।
धु्रवेले पछाडिबाट एक्कासि झाडीमा हात्तीलाई लखेट्दा हात्ती भागाभाग हुँदा हात्ती अनियन्त्रित भई २६, २८, ३० र ३१ नं. का सबै हात्तीका गणक र माहुतेहरू हात्तीबाट खसेका थिए जसमा पाँचजना सामान्य घाइते भए । त्यसैगरी तीनवटा (शीतष्माकली, पारसगज, अमलटारी गज) हात्ती तितरबितर भएर भागेको आवाज सुनेर अर्को दिशातर्फ छड्केर जोगिएका २५ नं. हात्तीका माहुते र गणक प्रमोदराज रेग्मीले भागेका हात्तीको पछाडिपछाडि जंगली ध्रुवे हात्ती देखेपछि आफूसँग भएको वाकीटकीबाट तलका साथीहरूलाई खबर गरे र साथीहरू सुरक्षित रूपमा तर्किए । साथीहरू खसेको थाहा पाएपछि त्यस ठाउँतिर गई खसेका चारजनालाई भेट्टाएर चुरेतर्फ लगेको बताउँछन् रेग्मी । त्यसपश्चात् हात्ती सम्पर्कविहीन भएर जंगलमा हराएकामध्ये पारसगज र अमलटारी गजलाई भोलिपल्ट घटना भएको स्थान गैँडाखासाबाट करिब १५ किलोमिटर टाढा पूर्व निकुञ्जको खोरिया मुहान पोस्टमा नियन्त्रणमा लिएको जानकारी दिए हात्तीसारे सुब्बाले । शीतष्माकली हात्ती भने उक्त घटनास्थलबाट करिब ६० किलोपमटर पूर्व सौराहा हात्तीसारमा चार दिनपछि अर्को जंगली भाले हात्ती साथ लिएर पुगेको थियो ।
अप्रिय घटना घट्नलाई जंगली हात्ती नै चाहिन्छ भन्ने छैन किनभने एकसुरमा गणनाका लागि लाइन लागेर हिँडेका हात्तीहरू एक्कासि अगाडि बँदेल, चित्तल, जरायो उफ्रेको देखेर गणक चढेको हात्ती तर्सियो भने हात्ती अनियन्त्रित भई भाग्दा काँडाले अल्झाउने, रूखमा लागेर ठोक्किनेजस्ता कारणले पनि विगतका गणनामा पनि गणकहरू घाइते भएका थिए । त्यस्तै, ऐ. २५ गते कुजौली खण्डको ब्लकमा अमलटारी गज हात्तीले माहुते बलिराम चौधरी र त्यसमा सवार एकजना आर्मीलाई झाडीमा खसालेर भागेको थियो । भए छ के भने झाडीमा हात्ती लाइन लागेर गैँडा गणना अगाडि बढ्दै गरिरहेका अवस्थामा एक्कासि चित्तलका बथान उफ्रिएछन् र हात्ती तर्सेर भाग्दा माहुतेले नियन्त्रणमा लिन सकेन र काँडाघारीमा अल्झिएर माहुते बलिराम चौधरी र त्यसमा सवार एकजना आर्मी सो हात्तीबाट खस्न पुगेका थिए । हात्तीबाट मान्छे खस्यो, आर्मीको खुट्टा भाँचियो भन्ने खबर वाकीटकीमार्फत सबै गणकलाई तुरुन्तै थाहा भयो । पहिलाको घटना सेलाउन नपाउँदै के फसाद आइलाग्यो ! अब के हुन लाग्यो भनेर तुरुन्त दुवै घाइतेलाई अर्को हात्तीमा राखी राम कुँवरको सक्रियतामा निकुञ्जको कुजौली पोस्टमा पुर्याई एम्बुलेन्समार्फत टेकनाथ दाहाल र लोकेन्द्र अधिकारीको सक्रियतामा अस्पतालमा पुर्याइयो । तर, घटना सामान्य रहेछ, माहुतेको खुट्टा मर्केको रहेछ र खुट्टा भाँचिएको भनेको आर्मीलाई सामान्य काँडाले ददारेको रहेछ । त्यसपछि त्यस दिनको गणना सकेर बेलुका अमलटारी क्याम्पमा फर्किँदा सबै घटनाको बेलिविस्तार सुन्दा अतालिएको मन पनि केही शान्त भयो । सामान्य घटना हुँदा पनि अगुल्टोले हानेको कुकुर बिजुली देखेर चम्किन्छ भनेजस्तै अवस्था हामी सबै गणक र हात्ती चलाउने माहुतेको थियो । कतिखेर के घटना घट्ने हो, कसलाई के हुने हो भन्ने कुरा नै सबैको दिमागमा बसेको थियो र सबै तर्सिँदै पनि थिए ।
को हो त दोषी ?
हाल भएको गैँडा गणनामा जंगली हात्ती ध्रुवेलाई एकतर्फी रूपमा दोष देखाइएको छ । के यो सही न्याय हो त ? पक्कै पनि होइन, किनभने वनजंगल भनेको उसको सुरक्षित घर हो । हामी उसले भोगचलन गर्दै आएको शान्तप्रिय घरमा के–के छ भनेर खोज्दै गर्दा उसको संवेदनशीलतालाई नबुझेर झाडीभित्र हल्ला गर्दा हात्तीहरू रिसाउने, आक्रामक हुने गर्छन् । गैँडा गणना गर्नका लागि हामीले हल्ला गरेको हो रमाइलोका लागि होइन । फेरि हल्ला नगर्ने हो भने झाडीमा बसेका गैँडा छुट्न पनि सक्छन् । हाम्रो आँखाले हेर्दा हाम्रो उद्देश्य गैँडाको अवस्थाबारे अध्ययन र दिगो संरक्षण गर्न त्यो गर्नु हाम्रो बाध्यता हो ! तर, ध्रुवेको आँखाबाट हेर्दा हामीले उसको घरमा ऊ शान्तले बसेको ठाउँमा हो–हल्ला गर्यौँ । यो ध्रुवेको दोष होइन ! दोष हाम्रो हो । हामीले उसको इच्छालाई बुझ्न नसकेको पो हो कि ! त्यतिवेला चार–पाँचवटा पोथी हात्तीलाई छनुवा कसेर ध्रुवे भएको क्षेत्रमा छोड्न सकेको भए ऊ प्यारीतिर अलमलिन्थ्यो र हामीलाई काम गर्न सहज हुन्थ्यो होला । विगतका गणनामा पनि यसैगरी ध्रुवेलाई अलमल्याएर गैँडा गणना गरिएको अनुभव पनि त्यतिवेला खटिने गणकहरूबीच ताजै छ ।
निकुन्जले गैँडा गणनामा पोथी हात्तीहरू ध्रुवे हात्तीका प्यारीहरू र प्यारीबाट जन्मेका बच्चाहरू जुन ठूला भइसकेका छन् तिनीहरू संलग्न गरेको थियो । आफ्ना प्यारा सन्तान परिवार लगाएर मानवले मेरो घर उजाड गर्न लाग्यो भनेर ध्रुवेले प्रतिकार गरेको होला ! होइन र ! सक्नेले प्रतिकार गर्ने हो ! नसक्नेले केको प्रतिकार गर्ने ? जस्तैः यो समय भनेको मयुर, लुइँचेलगायतका पक्षीले भुइँ झाडीमा गुँड लगाई ओथारो बस्ने समय हो । यिनले प्रतिकार गर्न सकेनन्, गुँड छोडेर उडेर भागे । त्यस्तै, आफ्नो सुरक्षित वासस्थानमा रमाएका चित्तल, जरायो, लागुन, रतुवा, बँदेललगायतका वन्यजीवहरू तर्सेर प्रतिकार गर्न नसकेर सुरक्षित स्थानतिर भागे । यो सबै गणकले अनुभव गरेको, भोगेको कुरै हो । त्यसैले ध्रुवेले पनि हात्तीहरूलाई भेट्ने, लखेट्ने गर्दा अविश्वसनीय घटना घट्यो । पक्कै पनि यस्ता घटना नघटुन् भन्नका लागि सरकार र यसका हाँगाबिँगाको ध्यान जानुपर्ने आज समयको माग छ । गैँडा गणनाको विधि अबदेखि परिमार्जित गरी वैज्ञानिक ढंगले गर्नुपर्ने जरुरी भएको छ । गणना विधि र प्रक्रियाहरू परिवर्तन गरी गैँडाको दिसाबाट पनि अनुवांशिक अध्ययन ९न्भलभतष्अ कतगमथ० गर्न सकिने कुरामा विज्ञहरू एकमत देखिन्छन् । यसबाट पनि गैँडाको गणना गर्न सकिन्छ । त्यसैले अब जिम्मेवारी बहन गरेर बसेका विज्ञहरूको राज्यले यसतर्फ पनि सोच्ने पो हो कि ? जंगली हात्तीहरू प्रकृतिको पहरेदार हुन् ! प्रकृतिको पुजारी हुन् ! र प्रकृतिको सौन्दर्य हुन् ! आज ध्रुवेले यसो गर्यो भन्नुभन्दा पनि गैँडा गणनाको विधि परिवर्तन गर्नुको विकल्प अरू केही नरहेको कुरा गणकले जति कसले बुझेको होला । जंगलमा अनेकौँ ध्रुवे छन् भन्ने कुरा सबैलाई थाहा नै होला ।
अन्त्यमा, हाल उपचारको क्रममा रहनुभएका विनोद श्रेष्ठलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
(खड्का, पूर्वसंरक्षण अधिकृत चितवन राष्ट्रिय निकुन्ज)