मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ५ आइतबार ०६:४१:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाबाट निधन हुनेको संख्या ३० लाख नाघ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ५ आइतबार ०६:४१:००

कोरोना भाइरसको दोस्रो र तेस्रो लहर तीव्र गतिमा फैलिँदा विश्वभरि प्रतिमिनेट आठ संक्रमितले ज्यान गुमाइरहेका छन् । अर्थात्, प्रतिएक घन्टामा पाँच सय तथा एक दिन औसतमा १२ हजार कोरोना संक्रमित निधन भइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शनिबारसम्म कोरोना भाइरसबाट ३० लाख १५ हजार सात सय ८६ जनाले ज्यान गुमाएका छन् । महामारीको सिकार हुने व्यक्तिको संख्या लगभग चार देशको सिंगो जनसंख्याबराबरी छ । 

किभ, युक्रेन, काराकास तथा भेनेजुएला देशको जनसंख्याबराबर नै कोरोनाबाट निधन भएको छ । जोन हप्किन्स विश्वविद्यालयले अहिलेसम्मको निधन भएको संख्या अमेरिकाको सिकागो सहरको जससंख्याभन्दा बढी भएको उल्लेख गरेको छ । सिकागोको कुल आवादी २७ लाख रहेको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिएयता डालास सहरको जनसंख्या हाराहारीमै निधन भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसप्रति सेचत नहुनु र यसलाई हल्का रूपमा लिँदा नै संक्रमित तथा मृत्युदर ह्वात्तै बढेको विज्ञहरूको भनाइ छ । यस वर्षको जनवरीसम्म कोरोनाबाट विश्वमा २० लाखले ज्यान गुमाएका थिए । यस वेलासम्म अमेरिका तथा युरोपमा भर्खर मात्र कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याएका थिए । 

एक रिपोर्टअनुसार कोरोना भाइरस महामारीका रूपमा फैलिएको साढे आठ महिनाभित्र १० लाख संक्रमितले ज्यान गुमाएका थिए । विभिन्न देशले लकडाउन खुकुलो बनाउनुले नै कोरोना अनियन्त्रित भएको मानिन्छ । अहिले एक सय ९० देशमा खोप कार्यक्रम सञ्चालनमा छन् । तर, विश्वको कुल जनसंख्याको ०.२५ प्रतिशत मात्र खोपको पहुँचमा छ । 

खोप कार्यक्रम अगाडि बढे पनि कतिपय देशमा संक्रमित र मृत्युदर नियन्त्रणमा आइसकेको छैन । अमेरिका तथा बेलायतले पछिल्लो समयमा अपनाएको नीतिले यहाँ संक्रमित कम हुन थालेका छन् । तर, लकडाउन तथा अन्य गतिविधिमा प्रतिबन्ध लगाए पनि विश्वमा कोरोना झनै महामारीकै रूपमा फैलिरहेको छ । यसै कारण हो कि यो एक साताभित्र मात्रै सात लाखभन्दा बढी संक्रमित भएका छन् । 

डब्लुएचओका विज्ञ मारिया भानले १६ महिनाभित्र कोरोना नियन्त्रण गर्न सबै किसिमका प्रयास भए पनि सन्तोषजनक नभएको बताएका छन् । ‘यद्यपि, हामीले चाहेको अवस्था यो होइन, कोरोना सुरु भएको १६ महिनाभित्र धेरै प्रयास भए, अझै पनि प्रयास जारी नै छन्, तर पनि संक्रमित घटनुभन्दा बढिरहेको छ,’ मारिया भानले भने । पछिल्लो समय कोरोनाबाट सबैभन्दा प्रभावित बनाएको देश ब्राजिल हो । यहाँ लगातारजसो प्रतिदिन तीन हजारभन्दा बढी कोरोना भाइरसबाट निधन भएको समाचार आइरहेको छ । विश्वमा प्रत्येक चार संक्रमित निधन हुँदा एकजना ब्राजिलियन नागरिक पर्ने गरेका छन् । ब्राजिलमा सुरुदेखि नै कोरोना भाइरसलाई निकै सहज रूपमा लिँदा यसले विकराल रूप लिएको डब्लुएचओका विज्ञहरूको भनाइ छ । राष्ट्रपति जेर बोल्सोनारोको असफल कोरोना नीति नै ब्राजिलमा संक्रमित र मृत्युदर बढ्नुको प्रमुख कारण मानिएको छ । 

संक्रमितको संख्या हेर्ने हो भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकामा तीन करोड २३ लाख १० हजार ६ सय ९५ जना संक्रमित भएका छन् । अमेरिकामा पाँच लाख ८० हजार २१ संक्रमितले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोनालाई सहजै नियन्त्रण लिन सक्ने भनी अमेरिकी नागरिकलाई विश्वास दिलाउनु नै यहाँ संक्रमित र मृत्युदर भयावह अवस्थामा पुगेको हो । 

ट्रम्प सुरुवाती दिनमा कोरोनालाई महामारीका रूपमा लिन तयार देखिएनन् । विश्वले नै कोरोना भाइरसप्रति अपनाएको नीतिमाथि उनले हास्यास्पद टिप्पणी दिए । यहाँसम्म कि ट्रम्पले अमेरिकाले भ्याक्सिन उत्पादन गरी कोरोना भगाउनेसमेत प्रतिक्रिया दिए । अमेरिकाकै छिमेकी मेक्सिकोको मृत्युदर बिस्तारै बढिरहेको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक रिपोर्टअनुसार अहिलेसम्म मेक्सिकोमा दुई लाख ११ संक्रमितको निधन भएको छ । मेक्सिकोले कोरोनासम्बन्धी कुनै पनि नीति सार्वजनिक गरेको छैन । 

भारतमा एक दिनमै दुई लाख ३४ हजार संक्रमित 

भारतमा कोरोना भाइरसबाट एकै दिन दुई लाख ३४ हजार ६ सय ९२ जना संक्रमित भएका छन् । भारतमा एकै दिनमा यति धेरै संक्रमित भएको यो नै पहिलोपटक भएको भारतीय मिडियाहरूले जनाएका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कारण मात्रै एक हजार तीन सय ४१ जनाले ज्यान गुमाएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोनाबाट एक लाख ७५ हजार ६ सय ४९ जनाको निधन भएको छ । पछिल्लो २४ घन्टाको संख्या जोड्दा भारतमा एक करोड ४५ लाख २६ हजार ६ सय नौजना संक्रमित भइसकेका छन् । 

यहाँ अहिलेसम्म एक करोड २६ लाख ७१ हजार दुई सय २० जना संक्रमणमुक्त भएका छन् । अहिले पनि भारतमा १६ लाख ७९ हजार सात सय ४० जना संक्रमित नै छन् । शुक्रबार १४ लाख ९४ हजार तीन सय ९७ जनाको कोरोना परीक्षण गर्दा दुई लाखभन्दा बढी संक्रमित देखिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । 

एजेन्सीहरूको सहयोगमा