मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ५ आइतबार ०२:५१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनस्वास्थ्यमाथि गम्भीर खेलबाड : स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डविनै क्रिकेट मैदानमा दर्शक खचाखच

Read Time : > 2 मिनेट
२०७८ बैशाख ५ आइतबार ०२:५१:००

कोरोना भाइरस (कोभिड– १९) को दोस्रो वेभले चौतर्फी सन्त्रास छ, संक्रमितको संख्या बढेको–बढ्यै छ र सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण उपाय अपनाउन आग्रह गर्दै आएको छ । तर, शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डका सबै मानक भत्काइयो । दर्शकको भिड र गतिविधि हेर्दा लाग्थ्यो– नेपाल सम्पूर्ण रूपमा कोरोनमुक्त छ । 

एक वर्षभन्दा बढी समयपछि घरमै आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिता, त्यसमाथि नेदरल्यान्ड्सविरुद्धको उद्घाटन खेल । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकको हुल उर्लियो । तर, दर्शकको भिड व्यवस्थापनमा आयोजकको गम्भीर लापरबाही देखियो । खेलको नशाले जनस्वास्थ्यमाथि ठूलो जोखिम बनायो । 

आयोजकका अनुसार खेलका लागि चार हजार नौ सय टिकट बिक्री भएका थिए । त्यसबाहेक दुई हजार त पास नै वितरण गरिएको थियो । 

खेलको प्रायः समय दर्शक नेपाली टोलीको समर्थनमा हुटिङ गरिरहेका थिए । समर्थनमा कराइरहेका अधिकांश समर्थकको मुखमा मास्क थिएन । मैदान प्रवेश गर्दा तापक्रम मापन गरिएको थिएन । र, दर्शकका लागि स्यानिटाइजरको पनि व्यवस्था थिएन । जब कि प्रतियोगिता सुरु हुनु एक दिनअघि आयोजक क्यानले दर्शकका लागि सुरक्षाको सम्पूर्ण तयारी अपनाइने जनाएको थियो । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्यानका जनरल म्यानेजर रौनक मल्लको भनाइ थियो, ‘मैदानमा आवश्यकताअनुसार स्यानिटाइजरका बोतल बाँड्नेछौँ । साथै, समर्थकलाई सामाजिक दूरी कायम गर्न लगाइनेछ ।’ तर, रौनकले भनेजस्तो मैदानमा कुनै तयारी देखिएन । सामाजिक दूरी कल्पनाबाहिर थियो । स्यानिटाइजरको एउटा पनि बोतल उपलब्ध थिएन । भद्रगोल अवस्थापछि क्यानका अधिकारी बोल्नसमेत हिच्किचाए । खेल सकिएपछि क्यानका जनरल म्यानेजर रौनकले प्रतिक्रिया दिन मानेनन् । उनले आफू आधिकारिक व्यक्ति नभएको भन्दै जिम्मेवारीबाट पन्छिए । रौनकले छोटो प्रतिक्रियामा भने, ‘म यो विषयमा बोल्ने आधिकारिक व्यक्ति होइन, थप नसोध्नुहोला ।’

क्यानले प्रतियोगिता आयोजनाका लागि जोरा स्पोर्टस् म्यानेजमेन्टलाई ‘आउट सोर्सिङ’ गरेको जनाएको छ । क्यानकै भनाइअनुसार प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन जोराले नै हेरेको थियो । तर, जोराका मालिक आमिर अख्तर पनि शनिबारको भद्रगोल अवस्थाबारे बोल्न मानेनन् । उनले नयाँ पत्रिकाको जिज्ञासामा भने, ‘यो प्रतियोगिताबारे मलाई केही नसोध्नुहोला ।’ 

मैदानमै पुगेर खेल हेर्न पाउनु दर्शकको अधिकार हो । क्रिकेटलाई माया गर्ने नेपाली दर्शक त्यो अधिकारका लागि हकदार पनि छन् । तर, कोरोना भाइरस संक्रमण बढ्दै गरेको जोखिमपूर्ण समयमा खेल आयोजना गर्दा सुरक्षा मापदण्डलाई उत्तिकै ध्यान दिइनुपथ्र्यो । तर, आयोजकले व्यवस्थापन गर्न सक्नेभन्दा धेरै दर्शकलाई टिकट बेचेर जोखिम बढायो भने यस्तो संक्रमणका वेला दर्शक आफैँले पनि न्यूनतम सावधानी अपनाएनन् । त्यसैले प्रश्न छ– मैदान पुगेका दर्शकमध्ये कसैमा कोरोना संक्रमण भेटियो भने जिम्मेवारी कसले लिन्छ ? 

आयोजकमै अन्योल 

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारबाट सुरु भएको त्रिदेशीय शृंखला आफूले आयोजना गरेको जनाएको छ । आयोजना सहयोगका लागि भने जोरालाई आउट सोर्सिङ गरेको क्यानले जनाएको छ । तर, शनिबार मैदानमा आयोजक भनिएको क्यानको एउटा पनि बोर्ड मैदानमा थिएन । 

बरु, मैदानमा जोराले आयोजना गर्ने एभरेस्ट प्रिमियर लिग (इपिएल)को विज्ञापन गरिएको देखियो । खेलाडी स्ट्यान्डअघि रिजर्भ अम्पायर बस्नका लागि इपिएलको क्यानोपी राखिएको थियो । यस्तै, खेलाडीका आफन्त र अरू अतिथि बस्नका लागि बनाइएको स्ट्यान्डपछाडि इपिएलको ठूलो बोर्ड थियो । प्रतियोगितामा निजी कम्पनीले आयोजना गर्ने इपिएलको विज्ञापन गर्नु उचित नभएको भन्दै क्यानकै कतिपय पदाधिकारीले विरोधसमेत गरेका थिए । 

इपिएलको विज्ञापनको विषयमा क्यान र जोराका पदाधिकारीबीच छलफल भएको छ । क्यान पदाधिकारीले मैदानबाट इपिएलको विज्ञापन हटाउन र क्यानको बोर्ड राख्न निर्देशन दिएका छन् । क्यान र जोराका पदाधिकारीबीच म्यान अफ द म्याच अवार्ड प्रदान गर्ने व्यक्तिको विषयमा पनि विवाद देखिएको थियो । 

म्यान अफ द म्याच अवार्ड प्रदान गर्न क्यान र जोराले छुट्टाछुट्टै अतिथि तय गरेका थिए । क्यान पदाधिकारीले जोड गरेपछि उद्घाटन खेलको म्यान अफ द म्याच कुशल भुर्तेललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले ट्रफी हस्तान्तरण गरे ।
 
मैदानमा अवैध सट्टेबाजी गर्ने वेबसाइटको बोर्ड 

सट्टेबाजीलाई खेलविरुद्धको अपराधका रूपमा लिइन्छ । तर, क्यानजस्तो आधिकारिक निकायले आयोजना गरेको त्रिदेशीय शृंखलाको पहिलो दिन मैदानमा अवैध सट्टेबाजी गर्ने वेबसाइट डाफा बेटको बोर्ड राखिएको देखियो । क्रिकेटसम्बन्धी निकायले यस्ता गतिविधि निरुत्साहित गर्नुपर्नेमा आफैँले आयोजना गरेको प्रतियोगितामा अवैध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको देखियो । तर, आयोजक र सहयोगी पार्टनर जोरा कम्पनी दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।