मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २४ शुक्रबार
  • Friday, 07 May, 2021
एरिक जे. टोपोल
२०७८ बैशाख २ बिहीबार १०:०१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँ भेरियन्ट खतरनाकै हुन्छ भन्ने छैन

Read Time : > 3 मिनेट
एरिक जे. टोपोल
२०७८ बैशाख २ बिहीबार १०:०१:००

भाइरस निरन्तर परिवर्तनबाट गुज्रन्छन्, परिवर्तन सधैँ खतरनाक हुँदैन, तर हामीले खोपमा जोड दिँदै सचेत रहनु आवश्यक छ  

कोरोना भाइरस प्रकोप सुरु भएको पुगनपुग वर्षदिनमा यसविरुद्ध खोप विकास भयो । विश्वभरका प्रतिष्ठित औषधि निर्माण कम्पनी, वैज्ञानिक जनशक्ति, ज्ञान तथा उपकरणको प्रयोगले खोप निर्माणको इतिहासमै सबैभन्दा छिटो खोप निर्माण हुन सम्भव भयो । विभिन्न देशका सरकारले खोप निर्माणका अनुसन्धानमा अर्बौं डलर लगाएकाले पनि महत्वपूर्ण सहयोग पुग्यो । यसअघि सन् १९६० को दशकमा सबैभन्दा छिटो खोप बनेको थियो । हाँडेविरुद्धको खोपको सन् १९६३ मा अध्ययन भएर सन् १९६७ मा (अर्थात् चार वर्षको अवधिमा) स्वीकृति पाएको थियो । कोरोना भाइरसविरुद्धको खोपको तीव्र विकासले धेरैमा महामारीको अन्त्य नजिक आएको आशा पलाइरहेको समयमा भाइरसको विभिन्न भेरियन्टका खबर आउन थाल्यो । नयाँ–नयाँ भेरियन्टका समाचारले जिनोमिक्स पदावलीसँग बानी नपरेका सर्वसाधारणलाई आतंकित गरेको हुन सक्छ । तर, भाइरसको परिवर्तनले सधैँ घातक स्थिति सिर्जना गर्दैन । 

भाइरस नियमित रूपमा म्युटेसन (उत्परिवर्तन)बाट गुज्रने गर्छ । भाइरसमा अन्तर्निहित गुणले नै यो परिवर्तन गराउँछ । एकजना संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा मात्र होइन, संक्रमित व्यक्तिको शरीरमै पनि भाइरसमा परिवर्तन आउँछ । विश्वव्यापी महामारीका लागि जिम्मेवार कोरोना भाइरस सार्स–कोभ–२ को झन्डै ३० हजार बेसिज अथवा न्युक्लियोटाइड्स हुन्छ । भाइरस थप उन्नत हुँदै गर्दा र एक होस्टबाट अर्को होस्टमा फैलिँदा तिनको बेसिजमा परिवर्तन हुन्छ । यदि भाइरसको २० वटा बेसिजमा मात्र परिवर्तन आयो भने त्यसबाट पहिलो प्रकोपका लागि जिम्मेवार स्ट्रेनभन्दा फरक १० खर्ब सम्भावित भेरियन्ट बन्छन् । आजको दिनसम्म विश्वमा पुष्टि भएको १३.६ करोड कोभिड–१९ केसमध्ये झन्डै दश लाख व्यक्तिले कोरोना भाइरसको सिक्वेन्स (अनुक्रम) गराएका छन् । ती दश लाख सिक्वेन्समध्ये वैज्ञानिकहरू केही भेरियन्टलाई लिएर मात्र चिन्तित छन् । चिन्ता गरिएका भेरियन्टहरू बढी संक्रामक, थप गम्भीर बिरामी गराउने र हाम्रो रोगप्रतिरोधात्मक प्रतिक्रियाले छुन नसक्ने वा तीनैवटा क्षमता भएका हुन सक्छन् ।

तर, उलेखनीय पक्ष हालसम्मको लाखौँ सिक्वेन्समा कोरोना भाइरसको मूल प्रवृत्तिमा उल्लेख्य परिवर्तन देखिएको छैन । यी परिवर्तनले वैज्ञानिकहरूलाई भाइरस कसरी र कहाँ फैलिरहेको छ भन्ने मापन गर्न सघाउँछ, तर त्यसको चिकित्सकीय महत्व छैन । अहिले पाँचवटा भेरियन्टले वैज्ञानिकको विशेष ध्यान तानेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले तिनलाई ‘भेरियन्ट अफ कन्सर्न’ (चिन्ता गर्नुपर्ने भेरिन्ट) भनेको छ । बी.१.१.७ (पहिलोपटक ब्रिटेनमा पहिचान भएको), बी.१.३५१ (दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको), पी.१ (ब्राजिलमा सबैभन्दा पहिले पाइएको) र पछिल्लो समय क्यालिफोर्निया र न्युयोर्कमा भेटिएका भेरियन्टलाई वैज्ञानिकहरूले मिहिनताका साथ अध्ययन गरिरहेका छन् । यी प्रत्येक भेरियन्टका पुनः दुई दर्जनजति उल्लेखनीय म्युटेसन छन् । 

धेरैजसो परिवर्तन भाइरसको सतहमा भेटिने र मानव कोषमा टाँसिन सघाउने तिखा प्रोटिनमा देखिएको छ । खोपले मुख्यतः यही प्रोटिनका सुइरामाथि आक्रमण गर्ने गर्छ । केही म्युटेसनबाट भाइरसको हाम्रो कोषसँग टाँसिने क्षमता बढ्छ । अन्यले भने हाम्रो शरीरको प्रतिरोधी क्षमतामाथि असर गर्छ । महत्वपूर्ण पक्ष, म्युटेसनको संख्या भाइरसको जोखिमपनको वृद्धिसँग जोडिएको छैन । उदाहरणका लागि अन्गोलामा पाइएको एउटा भेरियन्ट हालसम्मकै सबैभन्दा धेरै परिवर्तनबाट गुज्रिएको पाइयो । तर, यसले सिकिस्त बनाउने दर बढाएको स्पष्ट प्रमाण भेटिएको छैन । कुनै भेरियन्टले धेरैलाई संक्रमित गर्ने, धेरैलाई सिकिस्त बनाएर अस्पताल भर्ना गर्नुपर्ने बनाउने, मृत्यु गराउने वा पुनः संक्रमण गराउने कुरा निश्चित गर्न प्रयोगशाला तथा ठूलो संख्याको मानिसमा अध्ययन गर्नुपर्ने हुन्छ । 

बी.१.३५१ भेरियन्ट खोपका लागि बढी चुनौतीपूर्ण देखिएको छ । तथापि, अध्ययनले खोप लगाएकाहरूलाई यस भेरियन्टले सिकिस्त पार्नबाट रोकेको देखिएको छ । अमेरिकामा बी.१.१.७ सबैभन्दा धेरै फैलिएको भेरियन्ट बनेको छ ।

हाल प्रयोगमा रहेका अधिकांश खोप केही भेरियन्ट देखिनुअघि विकास गरिएका थिए । तर पनि प्रमुख खोपहरू धेरैजसो भेरियन्टविरुद्ध प्रभावकारी देखिएका छन् । प्रयोगशाला अध्ययनमा एम–आरएनए नामक प्रविधि प्रयोग गरेर निर्माण भएको मोडेर्ना र पी–फाइजर खोप सबैजसो प्रमुख भेरियन्टविरुद्ध प्रभावकारी भएको देखिएको छ । 

प्रयोगमा रहेका अन्य खोप एस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र नोभाभ्याक्सका खोपबारेमा सीमित अध्ययन भएका छन्, तर पनि ती अध्ययनमा खोपले भेरियन्टविरुद्ध प्रभावकारिता देखाएका छन् । हालसम्म बी.१.३५१ भेरियन्ट खोपका लागि बढी चुनौतीपूर्ण देखिएको छ । तथापि, अध्ययनले खोप लगाएकाहरूलाई यस भेरियन्टले सिकिस्त पार्नबाट रोकेको देखिएको छ । अमेरिकामा बी.१.१.७ सबैभन्दा धेरै फैलिएको भेरियन्ट बनेको छ । भाइरसहरूमध्ये पनि बी.१.१.७ सुपर स्प्रेडर (धेरै फैलिने) भएकाले यसले बिस्तारै फैलिने भेरियन्टलाई पछाडि पारेको छ । ब्रिटेनका शतप्रतिशत संक्रमणका लागि यही भेरियन्ट जिम्मेवार रहेको देखिएको छ । तर पनि खोपले संक्रमण, अस्पताल भर्ना हुने दर तथा मृत्युलाई उल्लेख्य घटाएको देखिएको छ । सबैभन्दा तीव्र गतिमा खोप लगाउने इजरायलबाट प्राप्त रिपोर्टले तीन प्रमुख ‘भेरियन्ट अफ कन्सर्न (चिन्ता गर्नुपर्ने भेरियन्ट)’ले खोपको प्रभावकारिता घटाएन । 

अमेरिकाले अहिले कोभिड–१९ को चौथो लहरको सामना गरिरहेको छ । अमेरिकाभित्र पनि मिचिगन राज्यमा पछिल्लो दुई हप्तामा नयाँ संक्रमण केस ६० प्रतिशतले बढेको छ । त्यस्तै, मृत्यु र अस्पताल भर्ना पनि दोब्बरभन्दा बढेको छ । अघिल्ला लहरहरूमा खोप उपलब्ध थिएन, तर अहिले खोपको विकास भइसकेको छ । यस अवस्थामा संक्रमण दर बढेसँगै तिनलाई नियन्त्रण गर्न सकिने अवस्था छ । तर, अमेरिकाले निश्चित जनसंख्या समूहलाई खोपको प्राथमिकतामा राखेको छ । तोकिएको जनसंख्याभन्दा अन्यमा खोप नदिने कठोर नियमले मिचिगनजस्ता हटस्पटका संक्रमण नियन्त्रणमा खोप प्रयोग भइरहेको छैन । अमेरिकामा लागू प्रणाली इजरायल, ब्रिटेन र अन्यत्र प्रभावकारी देखिएको शैलीभन्दा फरक हो । 

कोरोना भाइरसका प्रमुख भेरियन्टहरूले चुनौती तेर्स्याएका छन् । तर, हामीसँग उपलब्ध खोपको असाधारण प्रभावकारिताले तिनमाथि विजय पाउन सकिन्छ । खोपले कोरोना भाइरस संक्रमणविरुद्ध बृहत्तर र शक्तिशाली प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गराइदिन्छ । तर, भाइरस थप विकास भएर खोपलाई निस्तेज बनाउने अवस्था आउनुअघि नै हामीले त्यसलाई निर्मूल गर्नु आवश्यक छ । महामारीविरुद्ध खोप महत्वपूर्ण हतियार हो, तर मास्क र भौतिक दूरीले भेरियन्टको विस्तार रोक्न सघाउँछ । खोप लगाएकाहरूमा भाइरसले संक्रमण नगर्ने भए पनि उनीहरूको शरीरमा भाइरस सक्रिय हुने–नहुने निश्चित भइसकेको छैन । अर्थात्, खोप लगाएको व्यक्तिले पनि भाइरसको ‘क्यारियर’को काम गर्न सक्छ । यसले गर्दा सबैले खोप नलगाएसम्म सबैले मास्क लगाउनु बुद्धिमानी हुन्छ । खोपसँगै सुरक्षात्मक रणनीति अंगीकार गर्‍यौँ भने हामी महामारीबाट चाँडै बाहिरिन सक्छौँ । भाइरसको भेरियन्टसम्बन्धी अध्ययन र हाम्रो खोपसम्बन्धी चिकित्सकीय साधनले महामारीबाट बाहिरिने आत्मविश्वास दिएको छ । 

मोलिक्युलर मेडिसिनका प्राध्यापक टोपोल ‘कोभिड ट्र्याकिङ प्रोजेक्ट’को सल्लाहकार बोर्डमा आबद्ध छन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य