मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख १ बुधबार ०६:०३:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

झोला बोकेर विद्यालय जाँदै हजुरआमाहरू

Read Time : > 3 मिनेट
२०७८ बैशाख १ बुधबार ०६:०३:००

- तनहुँको व्यास नगरपालिकानिवासी ७१ वर्षीया मिश्रीमायादेखि ६५ वर्षीया अमृता आलेमगर र ६० वर्षीया धनमाया गौलीजस्ता हजुरआमा नियमित विद्यालय जान्छन्

- लहड होइन रहरले विद्यालय गइरहेका आमाहरू अब कक्षा आठ मात्र होइन, एसइई परीक्षामा पनि बस्ने प्रयासमा छन्, अंग्रेजी, विज्ञान र गणितमा पनि अध्ययन

तनहुँको व्यास नगरपालिका– ३ स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा गृहिणी शिक्षा कार्यक्रमअन्तर्गत अध्ययन गर्दै आमाहरू । ०६७ देखि सुरु गरिएको यो कार्यक्रमबाट अहिलेसम्म आठ सयभन्दा बढी आमाले शिक्षा हासिल गरिसकेका छन् । पहिलो वर्ष ०६७ मा ९५ जना आमा भर्ना भएका थिए भने अहिले २६ जना अध्ययन गरिरहेका छन् । कतिपय अक्षर चिनेर मोबाइलमा समाचार पढ्न सक्ने भएपछि विद्यालय आउन छाडेका छन्, कतिपयले नेपाली मात्र होइन, गणित र अंग्रेजी पनि सिक्दै छन् । तस्बिर : उपेन्द्र खनाल/नयाँ पत्रिका

....                            ....                                 ....

व्यास नगरपालिका भादगाउँकी ६५ वर्षीया नारायणी भट्टराई बिहान सबेरै उठेर घरधन्दामा बुहारीलाई सघाउँछिन् । सासू–बुहारी मिलेर बालबालिकालाई विद्यालय पठाउँछन् । पछि–पछि झोला बोकेर नारायणी पनि घरबाट निस्कन्छिन् । उनको झोलामा पनि किताबकापी छन्, दिनभर विद्यालयमा पढेर बेलुका फर्कन्छिन् । 

‘छोरा बिहान क्याम्पस र दिउँसो विद्यालय पढाउँछ, उसलाई र नातिनातिनीलाई बटाउन बुहारीलाई काम धेरै हुन्छ, त्यसैले मिलेर गर्छौँ, त्यसपछि म पनि स्कुल जान्छु,’ उनी भन्छिन् । 

विद्यालय जाने नारायणी एक्ली हजुरआमा होइनन् । दमौली र आसपासका हजुरआमाहरू अहिले नियमित विद्यालय जान्छन् । व्यास नगरपालिका– ३ स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले दिवा कक्षाअन्तर्गत गृहिणी शिक्षा कार्यक्रम सञ्चालन गरेपछि आमाहरू विद्यालयमा आकर्षित भएका हुन् । 

लहड होइन रहरले विद्यालय गइरहेका उनीहरूले लगनशील भएर अध्ययन पनि गरिरहेका छन् । कतिपय अक्षर चिनेर, मोबाइलमा समाचार पढ्न सक्ने भएपछि विद्यालय आउन छाडेका छन्, कतिपय नेपाली मात्र होइन, हिसाब र अंग्रेजी सिक्दै छन् । 

०६७ देखि गृहिणी शिक्षा कार्यक्रम सुरु गरिएकोमा आठ सयभन्दा बढी आमाले शिक्षा हासिल गरिसकेका छन् । पहिलो वर्ष ०६७ मा ९५ जना आमा भर्ना भएका थिए भने अहिले २६ जना छन् ।

‘सुरुमा कखरा सिके पुग्छजस्तो लागेको थियो, तर सिक्दै गएपछि झन्झन् रहरलाग्दो रहेछ, अब त एक दिन स्कुल गइनँ भने ठूलै गल्ती गरेजस्तो लाग्छ,’ सात वर्षदेखि विद्यालय गइरहेकी ६० वर्षीया धनमाया गौलीको अनुभव छ । 

विद्यालय जाने, पढ्ने र अघि बढ्ने धोको उनलाई सानैमा थियो । ‘तर, बाआमाले गाई–बाख्रा हेर्न पठाउनुभयो । दाइले पढेको देख्दा मलाई पनि रहर लाग्थ्यो, तर दाइ विद्यालय जाँदा म वनतिर जानुपथ्र्यो,’ उनी भन्छिन्, ‘यो जन्म यस्तै भयो, अर्को जन्ममा पढ्न–लेख्न पाऊँ भन्ने लाग्थ्यो, तर त्यो धोको यही जीवनमा पूरा भएको छ, म त दंग छु ।’

उनलाई अक्षरका अनेक रूपरंग देख्दा पहिले आश्चर्य लाग्थ्यो, अहिले भने माया लाग्छ । ‘पढ्दै जाँदा राम्रो हुँदै गयो भने एसइई पास गर्ने उद्देश्य छ ।’ महिला, त्यो पनि ६ दशक पूरा गरेकी । समाज र परिवारले हौसला दिन पनि कन्जुस्याइँ गर्छ । ‘पढ्न जान्छु भन्यो भने श्रीमान् रिसाउनुहुन्थ्यो, हप्कीदप्की पनि हुन्थ्यो, त्यसैले भजन–कीर्तन र सत्संगमा जाने हो भनेर हिँड्नुपर्थ्यो,’ नारायणी भन्छिन्, ‘छिमेकीले पनि खिसिट्युरी गर्थे, तर लुकीचोरी भए पनि स्कुल जान थालेँ, अहिले पनि डर लाग्छ, तर डरभन्दा रहर ठूलो छ ।’

त्यस्तै तिलुमाया आलेलाई पनि छिमेकीले हँसिमजाक गर्छन् । तर, उनको रहर भने झन्झन् बढेको छ । ‘पढेपछि थाहा भयो, नपढेर कति ठूलो गल्ती गरिएको रहेछ भन्ने । मोबाइलको नम्बरसमेत अरूलाई हेर्न दिनुपर्थ्यो, अहिले त समाचार पनि पढ्न सक्ने भएका छौँ,’ उनले भनिन् । 

अधिकांश आमा सानोमा पढ्ने इच्छा हुँदाहुँदै पनि बाध्यताले खुम्चिएको बताउँछन् । मिश्रीमाया घर्ती क्षेत्री ७१ वर्षकी भइन्, उनी विद्यालय जान थालेको दुई वर्ष भयो । कागजमा हस्ताक्षरसमेत गर्न नजानेर ल्याप्चे लगाउने उनी अहिले भने स्वस्थानी तथा रामायणको किताबसमेत पढ्न सक्छिन् । 

बुढेसकालमा सिकेको यो सीपलाई आमाहरूले निकै मूल्यवान् ठानेका छन् । ‘आमाहरूले केही पनि जान्नुहुन्थेन । त्यसैले सुरुमा पढाउन निकै कठिन भयो, तर रहरसँगै लगन थियो, त्यसैले धेरै सिक्नुभएको छ,’ शिक्षिका बिनु श्रेष्ठ भन्छिन्, ‘अहिले त केही सोध्नुपर्‍यो भने मलाई मोबाइलमा म्यासेज पनि गर्नुहुन्छ, यो परिवर्तन देखेर निकै खुसी लाग्छ ।’ 

शिक्षा विभागअन्तर्गत रहेर व्यास नगरपालिकाको समन्वयमा गृहिणी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । यसको आर्थिक व्यवस्थापन नगरपालिकाले गर्दै आएको प्रधानाध्यापक तोयानाथ निरौलाले बताए । ‘हजुरआमा–आमाहरूको जोस–जाँगर र पढाइप्रतिको लगाव देखेर हामी चकित भएका छौँ, उहाँहरूको उपस्थितिले हाम्रो विद्यालयको गौरव बढेको छ,’ उनी भन्छन् । विद्यालयमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गृहिणी शिक्षा कार्यक्रमको पढाइ हुन्छ । अहिले २६ आमा अध्ययन गरिरहेका छन् ।

अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ
सुरुमा सबैजसो आमाको उद्देश्य अक्षर चिन्ने मात्र हुन्छ । तर, पढ्दै गएपछि अंग्रेजी र हिसाबमा पनि रहर गर्छन् । उनीहरूको इच्छाअनुसार विद्यालयमा नेपाली र अंग्रेजी विषयसमेत पढाइने गरेको शिक्षिका बिनु श्रेष्ठको भनाइ छ । विद्यालयमा गणित, विज्ञान, सामाजिकलगायतका विषयको पढाइ हुन्छ । 

गृहिणी शिक्षा कार्यक्रम पढेका केही आमाले भने कक्षा आठ उत्तीर्ण गर्ने र त्यसपछि खुला शिक्षा विद्यालयमा पढी एसइईमा सहभागी हुने लक्ष्य लिएका छन् । प्राइभेटबाट पनि एसइई दिन मिल्ने व्यवस्था भएकाले आमाहरूको इच्छा पूरा गराउन विद्यालयले सहजीकरण गर्ने तयारी गरेको बताउँछन् प्रधानाध्यापक तोयानाथ निरौला ।

‘कतिपय आमा निरन्तर ६–७ वर्षदेखि एउटै कक्षामा पढिरहनुभएको छ, नियमित कक्षामा पढेको भए उहाँहरू अहिले आठ–नौ कक्षामा पुगिसक्नुहुन्थ्यो, तर बालबालिकासँग बस्न आमाहरूले संकोच मान्नुभयो, त्यसैले नियमिततर्फको पढाइबाट उहाँहरूले कक्षा चढ्न पाउनुभएको छैन,’ उनी भन्छन् ।

तर, अब भने आमाहरूको इच्छाअनुसार कक्षा आठको परीक्षामा सहभागी गराउने र त्यसपछि योग्यता पुगेकालाई एसइई दिन सहजीकरण गरिदिने प्रतिबद्धता उनले व्यक्त गरे ।