मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : किरण गजमेरको फेसबुकबाट
नयाँ पत्रिका
२०७७ चैत ३० सोमबार १०:१७:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भुटानी शरणार्थी शिविरबाट उठेको सांगीतिक स्वर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७७ चैत ३० सोमबार १०:१७:००

‘देखेर तिमीलाई, हेरेर तिमीलाई...’, यो गीतको रचयिता हर्क साउद हुन् भने संगीत सुजन चापागाईंको । यसमा चापागाईं स्वयं र विद्या तिवारीको स्वर छ । लकडाउनका वेला निकै नै चर्चित बनेको यो गीत गत साता ‘भ्वाइस अफ नेपाल’मा पनि सुनियो । भ्वाइस अफ नेपालमा फरक स्वर र स्वादमा गुन्जिएपछि यो गीत पुनः एकपटक जुर्मुराएको छ । 

भ्वाइस अफ नेपालमा यो गीत गाएका थिए किरण गजमेरले । किरण उनै हुन्, जो १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए । किरणका बा, हजुरबा हजुरआमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर । शरणार्थी शिविरमै किरणका बाआमाको विवाह भयो । किरण यतै जन्मिए । 

अहिले त किरण अमेरिकाको बासिन्दा बनिसकेका छन् । बाल्यकाल भने नेपालमै बिताए । बाँसको फक्ल्याँटोले बारेको घर, चुहिने छानोमा ओत लागेर सकियो उनको बाल्यकाल । त्यही बाल्यकालमै किरणले संगीतको सुर सिके । गलालाई तिक्खर बनाउने कोसिस गरे । ‘त्यसवेला हामीसँग केही थिएन, आफैँ सिक्थेँ, आफैँ गाउँथेँ,’ किरण सुनाउँछन् । 

अमेरिका पुगेको ११ वर्षपछि उनी रियालिटी सोमा भिड्न नेपाल आए । नेपाल आएर झापा गए, जहाँ उनको बाल्यकाल बितेको थियो । तर, त्यहाँ त सबथोक परिवर्तन भइसकेको रहेछ । पहिला टुकीको उज्यालोमा पढ्थे, बत्ती आइसकेछ । बाँसको फक्ल्याँटोले बारेका घरहरू थिए, जस्तापाता आइसकेछ । माटोले लिपेको भुइँ थियो, सिमेन्टको कंक्रिट बनिसकेछ । किरण बसेको शिविर र घर भएको ठाउँ त जंगल बनिसकेछ । ‘अस्ति जाँदा मलाई घरै ठम्याउन गाह्रो भयो ।

हामी बसेको ठाउँ त जंगल बनिसकेछ । धन्न सुपारीको रूख ढलेको रहेनछ र पत्तो लगाएँ,’ किरण सुनाउँछन्, ‘नेपालको माटोको गन्धसँग परिचित छु । गाउँघरको याद आउँछ । त्यही भएर पनि सुपारीको रूख देख्नासाथ चिन्न सजिलो भयो ।’
उता भुटानमा पनि किरणको टन्न जग्गा थियो । त्यहाँ सुन्तला लटरम्म फल्थे । बस्तुभाउ थिए । किरण त यतै जन्मिए, तर उनका बाआमा, हजुरबाहरू भुटानको आफ्नो जग्गाबारे कुरा गरिरहन्छन् । 

किरणको संगीतप्रतिको अभिरुचि भक्तराज, बच्चु कैलाशलगायत दिग्गज गायकले निर्माण गरिदिए । झापाको भुटानी शिविर बसाइका क्रममा उनका गुरुहरूमा पनि यिनै अग्रजबाट खारिएका स्वर र संगीतहरू थिए । साथमा थिए हजुरबा, जो मादल बनाउँथे । किरणलाई बजाउन सिकाउँथे । 

‘एकपटक जान पाए हुने’ भन्ने इच्छा प्रकट गरिरहन्छन् । तर, तत्काल सम्भव छैन । उनी भन्छन्, ‘बाआमाको कुरा सुन्दा मलाई पनि जाऊँजाऊँ लाग्छ । आफ्नो माटोको माया त लागिहाल्छ नि ! यता काठमाडौंमा बस्दा पनि जहिल्यै झापा जाऊँजाऊँ लागिरहन्छ ।’ 

भुटानबाट किरणको परिवारले केही लिएर आएको थिएन, जीउमा लगाएको कपडाबाहेक । भाग्दैभाग्दै आएका थिए । यतै आएर सानोतिनो टहरा ठडाए । पछि किरणको परिवार अमेरिका गयो, अरू शरणार्थीहरू पनि गए । बाँकी अझै शरणार्थी यतै छुटेका छन् । उनीहरू बाहिर जान पाउँदैनन् । न नेपालको नागरिकता छ । पहिला विविध संस्थाले रासन दिने गर्र्थे, अहिले आफैँ कमाएर खानुपर्ने बाध्यता रहेको किरणले यतै आएर थाहा पाए । ‘यस्तो अवस्था देख्दा एकदमै दुःख लाग्छ । आफ्नो भूमि छाडेर बाँच्नुपर्‍यो । अहिले न नागरिकता छ, न केही । त्यसरी नै धेरैवटा पुस्ता सकिँदै छ,’ किरण भन्छन् ।

 भुटानबाट लखेँटिँदा उनीहरूले माटो छाडे । भएको जग्गा–जमिन र सम्पत्ति छाडे । मुलुक छाडे । त्यही भाषा, संस्कृतिमाथिको लडाइँकै कारण आफ्ना पुर्खा भाग्नुपरेको किरणको गुनासो छ । ‘तर, लखेटेर जहाँ पु¥याए पनि भाषा, संस्कृति त मरेको हुँदैन नि ?,’ किरणको प्रश्न हो यो । 

उनले अमेरिका पुगेपछि महसुस गरे, धेरैले नेपाली भाषा बिर्सँदै छन् । संस्कृति, पोसाक बिर्सँदैछन् । उनीहरू आफ्नो पहिचानप्रति चासो राख्दैनन् । यसैले पनि आफूलाई नेपाली संगीतले तानिरहने बताउँछन् उनी । भन्छन्, ‘मेरो उमेरका धेरै साथीहरूले नेपाली भाषा बिर्सिसकेका छन् । पछि आउने पुस्ताले त झनै बिर्सनेछ । त्यसैले, संगीतको माध्यमबाट आफूले सकेको कोसिस गरूँ, भाषा, संस्कृतिबारे अवगत गराऊँ भनेर संगीतमा लागेको हुँ ।’ 

संगीतप्रतिको किरणको अभिरुचि भक्तराज, बच्चु कैलाशलगायत दिग्गज गायकले निर्माण गरिदिए । झापाको शिविर बसाइका क्रममा उनका गुरुहरूमा पनि यिनै अग्रजका खारिएका स्वर र संगीतहरू थिए । साथमा थिए हजुरबा, जो मादल बनाउँथे । किरणलाई बजाउन सिकाउँथे । एल्बमको तयारीमा रहेका उनी भन्छन्, ‘जे सुनेर हुर्कियो, त्यसैको चाह र आदत बस्नेरहेछ । त्यसैले मलाई संगीतले नै फेरि नेपाल ल्याइदियो ।’