मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७७ चैत २९ आइतबार ०८:३०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना महामारी : नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७७ चैत २९ आइतबार ०८:३०:००

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । केही दिनयता निरन्तर कोभिड संक्रमण दर बढेपछि यहाँका सरकारी तथा निजी विद्यालय अर्को सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको हो ।

नयाँदिल्लीका मुख्यमन्त्री अनरविन्द केजरीवालले एक ट्विटमार्फत कोभिड संक्रमण दर बढेसँगै दिल्लीका सबै विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । बिहीबार मात्रै पनि दिल्लीमा सात हजारभन्दा बढी व्यक्ति संक्रमित भएका थिए । यस्तै, दिल्लीको गंगाराम अस्पतालसहित अन्य अस्पतालमा कार्यरत डाक्टरसमेत संक्रमित भएको समाचार सार्वजनिक भएका छन् ।

दिल्लीमा जस्तै भारतका अन्य राज्यहरूमा पनि कोभिड संक्रमण दर तीव्र गतिमा बढेको छ । यसमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । संक्रमण दर बढेसँगै कतिपय राज्यले रात्रिकालीन कफ्र्यु जारी गरिसकेका छन् भने कतिपयले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न आदेश दिएका छन् । नयाँदिल्लीमा पनि गत मंगलबारदेखि रात्रिकालीन कफ्र्यु जारी भएको छ । कफ्र्यु आगामी ३० अप्रिलसम्म जारी रहनेछ । बिहीबार भारतमा एक लाख ३१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

भारतमा एकै दिन डेढ लाख संक्रमित
भारतमा कोरोना भाइरसबाट एकै दिन करिब डेढ लाख संक्रमित भएका छन् । यो संख्या कोरोना भाइरस महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जनाएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार तीन सय ८४ जना संक्रमित भएका हुन् । भारतमा हालसम्म एक करोड ३२ लाख पाँच हजार नौ सय २६ जना संक्रमित भएका छन् ।

अधिकारीहरूले सोही अवधिमा भारतमा देशभरि कुल सात सय ९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएका छन् । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १० लाख ४६ हजार ६ सय ३१ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार यहाँ ७७ हजार पाँच सय ६७ जना कोरोना भाइरसमुक्त भएका छन् । 

बेलायतको अवस्था सुधारोन्मुख 
कोरोनाको तेस्रो लहर चलिरहँदा बेलायतको अवस्था सुधार भइरहेको छ । बेलायतमा अहिले प्रतिदिन तीन हजारभन्दा कम संख्यामा संक्रमित बनेका छन् । कोरोनाबाट निधन हुने संख्या ५० जनाभन्दा तल रहेको बिबिसीले जनाएको छ । एक तथ्यांकअनुसार बेलायतमा जनवरीयता दैनिक कोभिडका कारण मृत्यु हुने संख्यामा ९० प्रतिशत कमी आएको छ । लकडाउन खुकुलो भएसँगै बेलायतमा जनवरी महिनामा प्रत्येक दिन ५० हजारभन्दा माथि संक्रमित भएको समाचार आइरहेको थियो । 

पछिल्लो समय युरोपमा बेलायत कोरोना संक्रमण रोक्न सफल भएको जनाइएको छ । बेलायतले यो दुई महिनामा अपनाएको रणनीतिका कारण नै कोभिड–१९ नियन्त्रणमा आएको विज्ञहरूको भनाइ छ । इम्पेरियल कलेज अफ लन्डनले भ्याक्सिनको तीव्रता, लकडाउन तथा योजनाबद्ध रणनीति सफल भएका कारण नै बेलायतले यस्तो सफलता प्राप्त गरेको बताएको छ । 

बेलायतले गत डिसेम्बरमा कोरोनाविरुद्धको खोप सञ्चालन गरेको थियो । अहिलेसम्म ४८ प्रतिशत बेलायती जनताले खोप लगाइसकेका छन् । लन्डनमा यो दुई दिनभित्र एकजनाको पनि कोभिडका कारण निधन भएको छैन ।