१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ चैत २७ शुक्रबार ११:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवाको पर्यटकीय क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल

Read Time : > 1 मिनेट
२०७७ चैत २७ शुक्रबार ११:२९:००

रसुवाको पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढेको छ । जिल्लाको सदरमुकाम धुन्चेसहित गोसाइँकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा विदेशी पर्यटकको चहलपहल बढेको हो । कोरोना संक्रमण विश्वव्यापी रूपमा फैलिएसँगै १५ महिनादेखि जिल्लाको पर्यटकीय पदमार्गमा विदेशी पर्यटकहरूको आवागमन शून्य अवस्थामा पुगेको थियो । अहिले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाउँदै विदेशी पर्यटकको आगमन बढेको स्थानीय व्यवसायीले बताएका छन् । सरकारले ११ चैत ०७६ मा लकडाउन घोषणा गरेपछि नेपालको पर्यटकीय गतिविधि प्रभावित बनेको थियो ।

पछिल्लो समय नेपाल आउने पर्यटकमा भएको वृद्धिले जिल्लामा समेत चहलपहल बढेको नेपाल कैलाश ट्रेकिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर राजु गुरुङले बताए । सात दिनको भ्रमणमा विदेशी पर्यटक लिएर गोसाइँकुण्ड जान लागेका उनले भने, ‘डेढ वर्षपछि विदेशी पर्यटकलाई सेवा दिने मौका पाइयो ।’ 

अहिले नेपालमा पर्वतारोहणको मौसम चलिरहेको छ । सो प्रयोजनका लागिसमेत उल्लेख्य संख्यामा पर्यटन भित्रिरहेका छन् । नेपालका पर्यटकीय गन्तव्यमा मानिसको भिडभाड नहुने भएकाले समेत घुमफिरमा आकर्षण बढ्दै गएको व्यवसायीहरू बताउँछन् । ‘उनीहरूले भिडभाड मन पराउँदैनन्, पहिलाको जस्तो भिडभाड छैन, आनन्द मानिरहेका छन्,’ उनले भने ।  

ट्रेकिङ व्यवसायी हरि ढकालका अनुसार पर्यटक आगमन बढ्दा स्थानीयलाई काम पाउने आशा बढेको छ । हिमाली क्षेत्रको पदयात्राका लागि अहिले सिजन रहेको र विदेशी पर्यटकको आगमन सुरु भएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताए । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा ८६ जना विदेशी पर्यटक र १ जना सार्क राष्ट्रका पर्यटक रसुवाको पर्यटकीय क्षेत्रको अवलोकनका लागि आएको समेत उनको भनाइ छ । 

लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्ष ०७६/७७ को साउनदेखि असार मसान्तसम्ममा ८ हजार १ सय ३८ पर्यटकको आवागमन भएको छ । निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष ७ हजारदेखि १९ हजारसम्म पर्यटक आउने गरेका छन् । 

पर्यटकका लागि घुम्न रसुवामा तीनवटा पदमार्गहरू रहेका छन् । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेँसी हुंँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेँसीसम्मको पदमार्ग रहेको छ । 

यस्तै, नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरे पनि असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी विदेशी पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन् ।

स्थानीय तामाङ कला र संस्कृति, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड, तातोपानी, गत्लाङ, बृद्धिम होमस्टे, रसुवागढी तथा तामाङ सम्पदा मार्गलगायतका विभिन्न क्षेत्रहरू पर्यटकका लागि प्रमुख आर्कषणको केन्द्र रहेका छन् । विशेष गरी रसुवा भित्रिने पर्यटककहरूमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटाली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक रहेको बताइएको छ ।