मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २५ बुधबार ०८:१९:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

वृद्धवृद्धा  हेरचाहका चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २५ बुधबार ०८:१९:००

नेपाल राष्ट्रबैंककी निर्देशक छोरी सुष्मा रिजाल रेग्मी । ज्वाइँ अर्थात् सुष्माका पति कमलप्रसाद रेग्मी जल उत्पन्न प्रकोप विभागका निर्देशक भइसकेका । दुवै पढेलेखेका । दुवै उच्चस्तरको सरकारी जागिरमा पुगेका । राष्ट्रबैंकले आफ्ना उच्च तहका अधिकृतलाई दिने सुविधा यसै पनि देशका अरू जागिरभन्दा लोभलाग्दो हुने गर्छ । सुष्मा र कमलको यो पृष्ठभूमि हेर्दा उनीहरू समाजका प्रतिष्ठित व्यक्ति हुन् । उनीहरूले गर्ने व्यवहार अरूका लागि उदाहरणीय हुन्छ अथवा कमसेकम अरूका आँखामा बिझाउने गलत काम उनीहरूले नगर्लान् भन्ने अपेक्षा गर्नु स्वाभाविक नै हो । तर, तिनै सुष्माकी ८४ वर्षकी आमाले आफ्नी छोरीले छलकपट गरेर सम्पत्ति हत्याएको र आफुलाई लालनपालन गर्ने दायित्व पूरा नगरेको भन्दै प्रहरीसमक्ष न्यायका लागि गुहार गरेकी छिन् । 

सरकारले ज्येष्ठ नागरिकलाई परिवारले नै स्याहार गर्नुपर्ने बाध्यात्मक व्यवस्थासहित कानुन त बनाएको छ, तर यसलाई व्यवहारमा लैजान सरकारलाई त्यति नै गाह्रो परेको छ किनभने नयाँ परिघटनालाई कसरी ट्याकल गर्ने भन्नेमा राज्यका अंगहरू नै अलमलमा देखिएका छन् 

प्रहरी अनुसन्धानले छोरीले बद्नियतपूर्वक आमाको सम्पत्ति हात पारेको र आमाको स्याहार भने नगरेको प्रमाणित भएपछि सुष्मा पक्राउ परेकी छिन् । उनका बारेमा बाँकी अनुसन्धान तथा फैसला त प्रहरी र अदालतले गर्लान्, तर यो घटनाले हाम्रो देशमा वृद्धवृद्धा कसरी आफ्नै सन्तानबाट पनि असुरक्षित छन् भन्ने देखाएको छ । यो हाम्रो समाजमा बढिरहेको वृद्धवृद्धाको स्याहार–सम्भार र सम्मानका विषयमा बढ्दै गएका चुनौतीको उदाहरण पनि हो । यसतर्फ परिवार, समाज र सरकार सबैले सकारात्मक रूपम सोच्नु र ध्यान दिनु तथा आवश्यक परे कानुनी र संस्थागत व्यवस्थाका माध्यमबाट यस्ता चुनौती सामना गर्ने तयारी गर्नु आवश्यक देखिन्छ । पछिल्लो समय नेपालको औसत आयु बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार ०७६ मा नेपालीको औसत आयु ७०.८८ वर्ष पुगेको छ । यसको अर्थ हरेक वर्ष वृद्धवृद्धाको संख्या थपिँदै छ । 

यति नै वेला नेपालको अर्थ सामाजिक परिवेशमा तीव्र परिवर्तनका धर्साहरू देखिन थालेका छन् । सहरीकरण, बसाइँसराइ, पेसा परिवर्तन, परिवारको सानो आकार र खण्डित परिवारका प्रभावले पारिवारिक संरचनामा ठूलो परिवर्तन ल्याइरहेको छ । बसाइँसराइबाट बन्ने नयाँ सहर बजारमा परम्परागत पारिवारिक सञ्जालबाट बनेका टोल र बस्तीहरू हराउँदै छन् । एक–अर्काप्रतिको मानवीय र भावनात्मक सम्बन्धका सेतु कमजोर हुँदै छन् । यससँगै खानपानमा आएको फेरबदल, स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुले मानिसको लामो समय बाँच्ने सम्भावना बढाइदिएको छ । यी थपिँदा ज्येष्ठ नागरिकको स्याहार गर्न सन्तानलाई निकै अप्ठ्यारो हुन थालेको छ । खासगरी मध्यम र निम्नवर्गीय परिवारमा २० देखि ६५ वर्षसम्म सबै मानिस व्यस्त रहन्छन् । कमाउनुपर्ने, आफ्नो करिअर बनाउनुपर्ने, परिवारका अरू दायित्व पूरा गर्नुपर्ने, यसका लागि घरबाहिरका काममा समय धेरै लगाउनुपर्ने बाध्यता हुन्छ । 

२० वर्षमुनिका सबैजसो विद्यालय जाने भएकाले तिनीहरूबाट परिवारका यस्ता दायित्व निर्वाहको आशा गर्नु असम्भवप्रायः छ । समाजमा विकसित हुँदै गरेका यी नयाँ परिघटनाले सम्पत्ति हुने या नहुने दुवै थरी वृद्धवृद्धा स्याहार पाउनबाट वञ्चित हुन सक्छन् । सम्मानपूर्वक बाँच्न पुग्ने सम्पत्ति जम्मा गरेकासमेत निर्धक्कले बुढेसकाल बिताउन नपाउने अवस्थामा धकेलिन्छन् । पछिल्लो समय सरकारले ज्येष्ठ नागरिकलाई परिवारले नै स्याहार गर्नुपर्ने बाध्यात्मक व्यवस्थासहित कानुन त बनाएको छ, तर यसलाई व्यवहारमा लैजान सरकारलाई त्यति नै गाह्रो परेको छ । किनभने यो नयाँ परिघटनालाई कसरी ट्याकल गर्ने भन्नेमा राज्यका अंगहरू नै अलमलमा देखिएका छन् । सुष्माको पक्राउले ज्येष्ठ नागरिकको सुरक्षाका लागि राज्य थप प्रयत्नशील छ भन्ने सन्देश भने अवश्य गएको छ । तर, छोरी ज्वाइँबाट अलग्गिएपछि तिनै वृद्धाको स्याहार–सम्भार हुने वैकल्पिक व्यवस्था भने भरपर्दो छैन । त्यसैले यस विषयमा सिंगो समाजले नै राम्रो गरी विचार मन्थन गर्नुपर्नेछ ।