मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७७ चैत २२ आइतबार १०:५७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुत्केरी जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७७ चैत २२ आइतबार १०:५७:००

केही वर्षयता सिन्धुपाल्चोकको सबै स्थानीय तहमा वडापिच्छे स्वास्थ्य केन्द्र स्थापना भएका छन् । स्वास्थ्य संस्थाको संख्यामा वृद्धि भएसँगै उपचार सेवामा स्थानीयको पहुँच पनि विस्तार भएको छ । सडक पुगेको सुगम ठाउँमा सेवा सहज बने पनि पहाड र हिमालका दुर्गम बस्तीमा स्वास्थ्य समस्या ज्युँका त्युँ छ । 

समस्या समाधानका लागि हेलम्बु गाउँपालिकाले सुत्केरी घरभेट कार्यक्रमलाई बस्तीबस्तीमा पुर्‍याएको छ । सरकारी मापदण्डअनुसार महिलाले गर्भवती जाँच चारपटक र सुत्केरीपछि स्वास्थ्य परीक्षण तीनपटक गर्नुपर्छ । नवजात शिशु जन्मेको सात दिनभित्र दुईपटक स्वास्थ्य जाँच गर्नुपर्छ । पहिलो परीक्षण तीन दिनभित्रै गर्नुपर्छ । स्वास्थ्यकर्मीले आमा र बच्चा दुवैको जाँच गर्छन् । सुत्केरी आमा र बच्चालाई सात दिनमा दुईपटक स्वास्थ्य जाँच गराउने सरकारी प्रावधानको मुख्य उद्देश्य बाल मृत्युदर घटाउनु हो ।

स्वास्थ्य केन्द्र पुग्न दिनभरको हिँडाइ
हेलम्बुको हिमाली गाउँ तार्केघ्याङ र मेलम्चीघ्याङबाट स्वास्थ्य केन्द्र भएको स्थान तिम्बु आउन दिनभर लाग्छ । त्यसैगरी हेलम्बुको दुई बर्थिङ सेन्टर इचोक र सिरिसे आउन पनि हिमाली गाउँका महिलालाई एक दिन ठ्याक्कै लाग्छ । ट्र्याक मात्रै खोलिएको कच्ची सडकमा गाडी चलाउन चालक मान्दैनन् । बर्खामा त मोटरसाइकलसमेत पुग्दैन । नवजात शिशुको जन्मपछि सुत्केरी आमालाई स्वास्थ्य केन्द्र पुर्‍याउन निकै कठिन भएको जनगुनासो बढेपछि गाउँपालिकाले सुत्केरी आमा र बच्चाको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीलाई घरघर खटाउने निर्णय गरेको छ ।

सुत्केरीको स्वास्थ्य जाँचमा जाने स्वास्थ्यकर्मीले दैनिक ६ सय भत्ता पाउँछन् । सुत्केरी घरभेट कार्यक्रम चलाएको ६ महिना अवधिमा घरमै पुगेर दुई सय ७४ पटक स्वास्थ्य जाँच कार्यक्रम गरिएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले बताए । ‘गत वर्ष सात नवजात शिशुको मृत्यु भएको थियो । यो वर्ष कसैको मृत्यु भएन,’ उनले भने । घरमै सुत्केरी भएका आमा र बच्चाको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी हप्तामा दुईपटक गाउँ पुग्ने गरेको उनले सुनाए । बर्थिङ सेन्टरमा सुत्केरी भएका आमा र बच्चाको दोस्रो स्वास्थ्य परीक्षण पनि घरमै पुगेर गरिन्छ । टाढाटाढाबाट स्वास्थ्य केन्द्र आएका सुत्केरी महिला दिनभरको हिँडाइले बिरामी पर्ने, रगत बग्नेजस्ता समस्याले ग्रसित भई आमा र बच्चा दुवैको स्वास्थ्य बिग्रिने भएकोले गाउँपालिकाले कडाइपूर्वक यो अभियान चलाएको हो । 

सुत्केरी र दीर्घरोगीलाई थप सुविधा
सुत्केरी महिलालाई सरकारले तीन हजार पोषण खर्च दिन्छ । हेलम्बुले थप तीन हजार थपेर दिने गरेको छ । सुत्केरी गराउन इचोक र सिरिसे बर्थिङ सेन्टर आइपुगेका गर्भवतीलाई गाउँपालिकाले तीन दिनका लागि पोषिलो खानाको व्यवस्थापन गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी बस्ने छुट्टै कोठा छन् । दुई बर्थिङ सेन्टरमा आठ कोठा छन् । थप पोषण खर्च दिन थालेकाले बर्थिङ सेन्टरमा आउने गर्भवतीको संख्या बढेको छ । स्थानीय तह गठन भएको सुरुको वर्षमा पाँचजनाले बर्थिङ सेन्टरमा आएर सुत्केरी गराएका थिए । यो वर्ष चैतसम्म एक सय ६० जनाले यहाँबाट सुत्केरी गराएका छन् । 

गर्भवती महिलालाई सुत्केरी गराउन लाग्ने एम्बुलेन्स खर्च गाउँपालिकाले व्यहोर्दै आएको छ । ‘कतिपय महिलालाई सुत्केरी गराउन काठमाडौं लानुपर्छ, त्यसको व्यपस्थापन पनि गाउँपालिकाले नै गर्छ,’ हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले भने । कोरोना भाइरसको महामारीपछि वृद्धवृद्धा र दीर्घरोगीले उपभोग गर्ने सबै प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको उनले बताए । हाल गाउँपालिकाभित्र नौ सय त्यस्ता दीर्घरोगी छन् । दीर्घरोगीले सेवन गर्ने औषधि पनि घरघरमै पुर्‍याउने गरिएको छ ।