मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गैंडा गणनामा खटिएको टोली । फाइल तस्बिर/नयाँ पत्रिका
२०७७ चैत २१ शनिबार १०:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ध्रुवे हात्तीले लखेट्दा गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते

Read Time : > 1 मिनेट
२०७७ चैत २१ शनिबार १०:४९:००

गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जंगली हात्तीले लखेटपछि हात्तीबाट खसेर शुक्रबार पाँचजना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।  

गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उनले बताए । गैँडा गणनाको क्रममा जंगली हात्तीले गणनामा प्रयोग भएका हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।  

गणनामा खटिएका हात्तीलाई जंगली ध्रुवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले बताए । सोही क्रममा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।  

हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका– ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका– ७, निवासी ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिए ।  

ध्रुवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर त कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएका हुन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते छन् ।

गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । अन्य घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।  

यसरी हुन्छ गैँडा गणना  

चैत २९ सम्म गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी गणना सुरु गरिएको थियो । यद्यपि यस घटनासँगै गैँडा गणना तत्कालका लागि रोकिएको छ

निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा सरकारले पहिलोपटक आफ्नै लगानीमा गैँडा गणना सुरु गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार गैँडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जको गैँडा पाइने क्षेत्रलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । जहाँ १० स्थानमा क्याम्प राखिएको छ । 

आचार्यका अनुसार गणनामा व्यवस्थापन सहयोगी, हात्तीसारका कर्मचारी र स्वास्थ्यकर्मीसहित प्रत्येक दिन तीन सयभन्दा बढी जनशक्ति परिचालन गरिएकाे छ । यसका लागि  चितवनका ४२, बर्दियाका नौ, शुक्लाफाँटाका पाँच गरी ५६ वटा हात्ती परिचालन भएका छन् । 

जसमा चितवनका दुई सय, बर्दियाका ६० र शुक्लाफाँटाका ४० जना गणक छन् । एउटा हात्तीले अर्को हात्तीलाई देखिने गरी लस्करै हात्ती बढ्दै जाने र हात्तीमाथि रहेका गणकहरूले एक–एक गरी गैँडा गन्ने काम हुन्छ । 

गणनाले गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा हुने हुँदा गणनापछि गैँडाको वासस्थान, व्यवस्थापन बुझ्न र सुधार गर्न सहज हुने उद्देश्यसहित गैँडा गणना गरिँदै आएको छ ।

यसअघि नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कुल ६ सय ४५ गैँडा थिए । 

तथ्यांकअनुसार चितवनमा ६ सय पाँच, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यसबीचमा एक सय ६१ को मृत्यु भएको छ । त्यसमध्ये चोरी सिकारका कारण ६ वटा गैँडा मरेको भेटिएको छ । आव ०७५/७६ मा चोरी सिकारबाट गैँडा मर्ने संख्या शून्य थियो ।