
भक्तपुरमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर एकजनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका– ५, सिर्जनानगरस्थित भीमेश्वर मःम एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा गत आइतबार सिलिन्डर पड्किएर सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते भएका थिए ।
घाइतेहरूको उपचारका लागि कीर्तिपुर बर्न सेन्टर अस्पताल लगिएको थियो । उपचारकै क्रममा होटेल सञ्चालक बस्नेतकाे शुक्रबार बिहान मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
दोलखाको सैलुङ गाउँपालिका– ६ घर भएका बस्नेत हाल दधिकोट बस्दै आएका थिए । दुर्घटनामा परी घाइते कोटेश्वर बस्ने राजेन्द्र कार्की र गीता कार्कीको अवस्था गम्भीर छ । सल्लाघारी बस्ने आदित्य सुवेदी, कटुञ्जे बस्ने विकास पौडेल र हिमुन्स थापाको अवस्था सामान्य छ ।