मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 30 November, 2022
बेलेन फर्नान्डिज
२०७७ चैत ११ बुधबार ०८:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड–१९ अर्थात् पितृसत्तात्मक महाव्याधि

Read Time : > 2 मिनेट
बेलेन फर्नान्डिज
२०७७ चैत ११ बुधबार ०८:४३:००

उत्पीडित हमेसा थप उत्पीडित हुने पितृसत्तात्मक पुँजीवादी विश्वमा यो महामारीले संरचनागत विकृतिको पनि पुनरुत्पादन गरेको छ

मेक्सिकोमा महामारी सुरु भएर लकडाउनलगायतका सामाजिक सुरक्षाका उपाय अपनाउन थालेसँगै स्त्रीहत्या र घरेलु हिंसाका हटलाइन फोन कलमा वृद्धि हुन थाल्यो । पहिले त मेक्सिकाली राष्ट्रपति एन्द्रेस म्यानुयल लोपेज ओब्रादोरले यस्ता ९० प्रतिशत कल झुटो भएको दाबी गरे । पछि, ओब्रादोर सरकारले घरेलु हिंसा १० गन्दासम्म गहिरो श्वास लिएर कसरी रोक्न सकिन्छ भन्नेजस्ता हास्यास्पद सुझाबयुक्त भिडियो पनि जारी गर्‍यो । 

निश्चय नै, मेक्सिको र विश्वभरका अधिकांश महिलालाई महामारीले घरको चौघेरामा लगेर थुनिदिएर निसासको परिस्थिति सिर्जना गर्‍यो, यस्तोमा गहिरो श्वास कसरी लिऊन् बिचरा ! अर्जेन्टिनादेखि मलेसियासम्म, सुडानदेखि बेलायत र अमेरिकासम्म महिला हिंसामा उछाल आएका रिपोर्ट छन् । घरमा नजरबन्दले घरेलु हिंसा चर्कायो । महाव्याधिले महिलालाई अर्काे तरिकाले पनि असमान रूपमा असर गरेको छ । अधिकांश मुलुकमा आतिथ्य र खाद्यजस्ता उद्योगमा महिलाको उपस्थिति बढी छ, यिनै क्षेत्रमा सबैभन्दा बढी रोजगारी गुमेका छन् ।

विश्वभर, विद्यालयहरू बन्द हुँदा भुक्तानी नहुने घरेलु काममा निकै वृद्धि भयो । बालबच्चाको देखभालको थप भार पनि महिलामै पर्‍यो । महिलाहरू बालबालिकाको हेरचाह गर्नका लागि पनि काम छोड्न बाध्य भए । तर, कसैले आफूसँग आय नै छैन भने, अरूको हेरविचार कसरी गर्न सक्छ ?

सन् २०१९ मा १०४ मुलुकमा गरिएको सर्वेक्षणअनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमबलमा महिलाको हिस्सा ६७ प्रतिशत छ । यसको अर्थ, महिला नै कोभिडविरुद्ध अग्रपंक्तिमा पनि खटिनुपरेको छ, पुरुषको तुलनामा महिला नै बढी जोखिममा भए । जबकि मेडिकल क्षेत्रका पुरुषसमकक्षीको तुलनामा महिलाको पारिश्रमिक भने कम रहेको अवस्था छ । यहीबीच, अधिकांश विश्वमा यो महामारीले महिलाको यौन तथा प्रजनन स्वास्थ्यको अधिकारलाई पनि गम्भीर असर गरेको छ । गत जुलाईमा प्रकाशित अन्तर्राष्ट्रिय साप्ताहिक साइन्स जर्नल नेचरले महामारी सिर्जित दुष्परिणामबाट सबैभन्दा बढी प्रभावित महिलाहरू नै भएको जोड दिएको थियो ।

समाजलाई क्रूरता र अन्यायका नयाँ–नयाँ थप बलशाली स्वरूपले निरन्तर आक्रान्त गरिरहँदा हामीले कोभिडमा जस्तै बढी प्रताडितलाई ख्याल गर्ने पद्धतिको निर्माण गर्नुपर्छ । 

विगतका प्रकोपबाट पाठ सिकेर विश्व स्वास्थ्य संगठनले पनि आफ्नो कोभिड–१९ रणनीतिक तयारी तथा प्रतिक्रिया योजनामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सिफारिस समावेश गर्न असफल रह्यो, त्यसको परिणाम गम्भीर देखिएको छ । इन्डोनेसिया, मोजाम्बियालगायतका थुप्रै मुलुकमा गर्भनिरोधका साधनको मौज्दात सकिएका छन् । यहीबीच, अमेरिकी सहरहरूमा विशेषगरी अश्वेत महिलामा मातृ मृत्युदर निकै वृद्धि भएको देखिएको छ । वास्तवमा, प्रणालीगत खराबीलाई महामारीले जस्तो अरू केहीले पनि उजागर गर्न सक्दैन । ब्रुकिङ इन्स्टिच्युटले आफ्नो अक्टोबर अंकमा कोभिड–१९ पुरुषको तुलनामा महिलाका लागि बढी नै कडा कहर बनेको उल्लेख गरेको थियो । अमेरिकी अर्थतन्त्र असमान रूपले महिलाका लागि अभिशाप साबित भयो । महामारीले अमेरिकामा मात्रै संरचनागत दमन गरेको भने होइन । 

उदाहरणका लागि गाँजा स्ट्रिपलाई नै लिऊँ । इजरायले थोपरेको आपराधिक नाकाबन्दीले यो तटबन्दी बन्दा यहाँका महिलाका लागि भाइरस र भाइरस सिर्जित मार दुःसाध्य भयो । ढाड सेक्ने इजरायलको नाकाबन्दी र समय–समयमा हुने सैन्य नरसंहारमाथि थपिएको यो महाव्याधिको कहरले गाँजा स्ट्रिपलाई घाँटीमै अठ्याएजस्तो भयो । उसलाई इजरायले अत्यावश्यक मेडिकल उपकरण ल्याउनसमेत दिएन । यी सबैको मारले महिला नै असमान रूपले प्रताडित भएका छन् । गाँजा पहिलेबाटै खुला जेल र इजरायली हतियारको परीक्षणस्थल त थियो नै जारी महामारीले महिलामा थप गरिबी, बेरोजगारी, घरेलु कामको भार र शारीरिक तथा मानसिक हिंसामा पनि वृद्धि गर्‍यो । यसबीच, श्रीलंकामा पनि लैंगिक हिस्सा व्यापक बनेको छ । कोरोना भाइरसको दोस्रो लहर आएपछि अक्टोबरमा दोस्रोपटक लकडाउन हुँदा गाम्पाला जिल्लाका अधिकांश कपडा उद्योगमा काम गर्ने महिलाहरू पुनः एकपटक बेरोजगार भए, गाँस, बासविहीन बने । 

वैदेशिक रोजगारीमा मध्यपूर्वमा रहेका बेरोजगार हुँदा पनि स्वदेश फर्किन नपाएका थुप्रै श्रीलंकन महिलाले त्यहाँ यौन हिंसा खेप्नुपर्‍यो । युएन वुमन महामारी सिर्जित गरिबमा उछाल आउने चेतावनी दिएको छ । यो महामारीले पुरुषका तुलनामा अधिक महिलालाई थप चरम गरिबीमा धकेल्ने र आप्रवासी कामदार, शरणार्थी, सीमान्तकृत आदिवासी तथा जातीय समूह, एकल परिवार र विपन्न बढी जोखिममा रहेकाले यिनले थप कडा दुष्परिणामको सामना गर्ने चेतावनी पनि दिएको छ । उत्पीडित हमेसा थप उत्पीडित हुने पितृसत्तात्मक पुँजीवादी विश्वमा यो महामारीले संरचनागत विकृतिको पुनरुत्पादन गरेकोमा कुनै आश्चर्य भएन । तर, समाजलाई क्रुरता र अन्यायका नयाँ–नयाँ र थप बलशाली स्वरूपले निरन्तर आक्रान्त गरिरहँदा हामीले कोभिडमा जस्तै यसका दुष्परिणाममा पनि हर्ड इम्युनिटी प्रयोग गर्न सक्नुपर्छ । अर्थात् हामीले बढी प्रताडितलाई ख्याल गर्ने पद्धतिको निर्माण गर्नुपर्छ । 

(फर्नान्डिज जाकोविन म्यागजिनकी कन्ट्रिब्युटिङ एडिटर हुन् )
अलजजिराबाट