मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
शान्ति तामाङ काठमाडौं
२०७७ चैत १० मंगलबार ०७:४१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रानीपोखरीबाट कमलपोखरी लगिएका १० हजार माछा खोइ ?

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ चैत १० मंगलबार ०७:४१:००

कमलपोखरी स्पोर्टस् क्लबलाई माछाको जिम्मा दिइएको काठमाडौं महानगरको दाबी, तर क्लब भन्छ– पोखरीका सबै माछा मरेरै सकिए

अब पोखरी सुहाउँदो नयाँ माछा राख्छौँ   : ईश्वरमान डंगोल, प्रवक्ता काठमाडौं महानगरपालिका

कमलपोखरीको माछा स्पोर्टस् क्लबको जिम्मामा थियो । उनीहरूले नै दाना हाल्ने काम गर्थे । पोखरी पुनर्निर्माणका लागि पोखरी सुकाउन थालेपछि क्लबले बेचिसकेको भन्ने सुनेको छु । पहिलेका माछा रहेनन् । पुनर्निर्माणपछि हामी त्यहाँ पोखरी सुहाउँदो नयाँ माछा राख्छौँ ।

केही माछा मरे, केही महानगरका कर्मचारीले लगे  : भीम मैनाली, अध्यक्ष कमलपोखरी स्पोर्टस् क्लब

भूकम्प गएकै वर्ष रानीपोखरीको माछा कमलपोखरीमा हालिएको हो । तर, हालेको दुई वर्षमा मरेर दुर्गन्ध फैलियो । त्यसपछि हामीले पोखरीबाट माछा हटाएर सफा गर्‍यौँ । कमलपोखरी सुकाउने क्रममा महानगरका केही मानिस आएर बोराका बोरा माछा उठाए ।

....               .....             ......

कमलपोखरी पुनर्निर्माणले गति लिन थालेको छ । तर, पोखरीको पानी सुकाइएसँगै त्यहाँ भएका माछा कहाँ गए ? कसरी राखिएको छ ? भन्ने विषयमा भने सम्बन्धित निकाय काठमाडौं महानगरपालिका नै बेखबर छ । भूकम्पले क्षति पुर्‍याएपछि रानीपोखरीका १० हजार माछा कमलपोखरीमा हालिएको थियो । त्यससँगै कमलपोखरीमै पनि माछा थिए । तर, ती माछाको हालको अवस्थाबारे महानगरले कुनै जानकारी राखेको छैन ।

काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल कमलपोखरी स्पोर्टस् क्लबलाई जिम्मा दिइएको माछा क्लबले नै बेचिसकेको बताउँछन् । ‘कमलपोखरीको माछा स्पोर्टस् क्लबको जिम्मामा थियो । उनीहरूले नै दाना हाल्ने काम गर्थे । पोखरी पुनर्निर्माणका लागि पोखरी सुकाउन थालेपछि क्लबले बेचिसकेको भन्ने सुनेको छु,’ डंगोलले भने ।

महानगरले कमलपोखरी स्पोर्टस् क्लबले माछा रेखदेख गरेको र उसैको जिम्मामा छाडेको भने पनि माछाबारे क्लबले अनभिज्ञता जनाएको छ । क्लबका अध्यक्ष भीम मैनालीले रानीपोखरीबाट ल्याएर छाडिएका माछा मरेर सकिएको बताए । कमलपोखरी सुकाउने क्रममा महानगरका मानिस आएर बोरामा हालेर केही माछा लगेको, तर त्यसपछि आफूहरूलाई थाहा नभएको उनको भनाइ छ । ‘भूकम्प गएकै वर्ष रानीपोखरीको माछा कमलपोखरीमा हालिएको हो । तर, हालेको दुई वर्षमा मरेर दुर्गन्ध फैलियो । त्यसपछि हामीले पोखरीबाट माछा हटाएर सफा गर्‍यौँ,’ मैनालीले भने, ‘कमलपोखरी सुकाउने क्रममा केही मानिस आएर बोराका बोरा माछा उठाए । एक/दुई दिन त करायौँ पनि, तर माछा मरेर दुर्गन्ध फैलन दिनुभन्दा लगे लगोस् भनेर कराउनै छाडेँ ।’ 

भूकम्पले क्षति पुर्‍याएपछि रानीपोखरीका १० हजार माछा कमलपोखरीमा हालिएको थियो । त्यससँगै कमलपोखरीमै पनि माछा थिए । तर, ती माछाको हालको अवस्थाबारे महानगर बेखबर ।

महानगरले पोखरीमा पानी हालिसकेपछि भने पोखरी सुहाउँदो माछा राख्ने भएको छ । ‘कमलपोखरीको माछा क्लबको जिम्मामा छाडेका थियौँ, अब त्यो माछा रहेन । अब हामी त्यहाँ पोखरी सुहाउँदो नयाँ माछा राख्छौँ,’ महानगरका प्रवक्ता डंगोलले भने । फोहोर पानी र उचित आहाराको अभावमा त्यहाँको माछा मरेको क्लबले जनाएको छ । 

महानगरपालिका–१ मा पुनर्निर्माण भइरहेको कमलपोखरी करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको छ । करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरी पुनर्निर्माणपछि फेरिएको स्वरूपमा हुनेछ । कमलपोखरीमा नौवटा चैत्य रहनेछन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिनेछ । पोखरीआसपासमा नेपालीपन झल्काउन झिँगटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिनेछन् ।

पोखरीपरिसरमा खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन र बास्केटबल कोर्ट हुनेछ । बालबालिका खेल्न खुला पार्क बनाइनेछ । साँझपख पार्कमा चहलपहल होस् भनेर बिजुलीबत्ती जडान गरिनेछ । पोखरीको बीचभागसम्म पुल बनाइनेछ । चारै कुनामा कमलका फूलसहित स–साना पोखरी र बीचमा फोहोरा निर्माण गर्नेछ । सम्झौताअनुसार कमलपोखरी पुनर्निर्माण  गत १५ असारभित्रै सक्नुपर्ने थियो ।

तर, हालसम्म पनि पुनर्निर्माणले सोचेअनुरूप गति लिन सकेको छैन । पुनर्निर्माणका लागि १९ असार २०७६ मा शिलान्यास भएको थियो । ‘हाम्रो काठमाडौं आफैँ बनाऔँ’ नाराका साथ कमलपोखरी पुनर्निर्माणको शिलान्यास मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले गरेका थिए । 

कमलपोखरीमा मेलम्चीको साढे दुई करोड लिटर पानी हालिने
कमलपोखरीमा महानगरपालिकाले मेलम्चीको साढे दुई करोड लिटर पानी हाल्ने भएको छ । उपत्यकावासीको धारामा १५ चैतदेखि आउने मेलम्चीको पानी कमलपोखरीमा हाल्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँग छलफल भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामको प्रगतिबारे जानकारी दिँदै भने, ‘पोखरी पुनर्निर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । केही दिनमै हामी पोखरीमा टनाटन पानी भर्छौँ । पोखरीमा मेलम्चीको साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ ।’ शाक्यले पहिलो चरणको पुनर्निर्माण चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी काम गरिरहेकोसमेत बताए ।

‘पुनर्निर्माणका क्रममा हामीले अकासेपानी पोखरीमा जम्मा हुने प्रणाली विकास गरेका छौँ । बाहिरी र प्राकृतिक गरी दुवै प्रकारका स्रोतको पानीले पोखरीमा पानीको सतह सधैँ एकनास कायम गराउँछौँ,’ उनले भने, ‘कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भन्ने हल्लाले समाजमा भ्रम सिर्जना भयो । हाम्रो डिजाइनमा कमलपोखरीको ऐतिहासिकता र यसको गरिमा नासिने कुनै पनि संरचना जोडेका छैनौँ । बाहिर हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कंक्रिटको कमलको फूल राख्दैनौँ । पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।’ पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने उनले बताए ।

सम्झौताअनुसार कमलपोखरी पुनर्निर्माण  गत १५ असारभित्रै सक्नुपर्ने थियो । तर, हालसम्म पनि पुनर्निर्माणले सोचेअनुरूप गति लिन सकेन ।

पोखरी पुनर्निर्माण गर्दा पोखरीको आकारमा एक इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको उनको भनाइ छ । ‘पहिला बेवारिसे र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रूपमा विकास गर्ने अभियानलाई अघि बढाएका छौँ । सहभागितामूलक निर्माण कार्यका लागि हामीले संघीय र प्रदेश सांसद तथा स्थानीयसँग पटकपटक सल्लाह गरेका छौैँ,’ शाक्यले भने, ‘ कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना हामीले नै भत्काएका हौँ । त्यसकारण पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो । कतैबाट अवरोध नहुने हो भने चैतभित्र पोखरी पुनर्निर्माणको पहिलो चरणको काम सम्पन्न हुनछे ।’ दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ प्रहरी बिट भएको ठाउँमा पार्क निर्माण हुनेछ । 

अदालतमा परेको मुद्दाको अझै सुनुवाइ भएन

मौलिक रूपमा पुनर्निर्माण नभएको भन्दै कमलपोखरी पुनर्निर्माणको विवाद सर्वोच्व अदालतसम्म पुगे पनि अझै सुनुवाइ हुन सकेको छैन । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता विष्णुप्रसाद भुसाल, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता लिशा महर्जन र सञ्जय अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्व अदालतमा रिट दायर गरेका थिए । उनीहरूले ४ माघमा कमलपोखरीलाई मौलिक शैलीमै पुनर्निर्माण गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

पटक–पटक पेसी स्थगित हुँदा महानगरलाई आफ्नो उद्देश्यअनुसार पुनर्निर्माणको काम गर्न सहज भएको सम्पदा अभियन्ताहरूको आरोप छ । ‘कमलपोखरीलाई मौलिक शैलीमै पुनर्निर्माण गर्नुपर्छ भनेर अन्तिम न्याय गर्ने न्यायपालिका सम्मानित सर्वोच्च अदालतमा गुहार माग्न गयौँ, तर चारचोटि पेसी स्थगित भइसेको छ । विचाराधीन मुद्दा भए पनि अन्तरिम आदेश रोक्नु भनेर नतोकिएको भनी महानगर फटाफट काम कारबाही बढाउँदै छ,’ सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने ।