मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ८ आइतबार १०:०७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

एस्ट्राजेनेका भ्याक्सिन सुरक्षित : डब्लुएचओ

Read Time : > 1 मिनेट
२०७७ चैत ८ आइतबार १०:०७:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप सुरक्षित रहेको दाबी गरेको छ । डब्लुएचओले एस्ट्राजेनेका खोप लगाउन आग्रह गरेको छ । एस्ट्राजेनेका खोपमा भएको अनुसन्धानमा कुनै पनि खराबी नदेखिएको डब्लुएचओको भनाइ छ । डब्लुएचओको एक विज्ञ टोलीले हालै एस्ट्राजेनेका खोपको अनुसन्धान गरेको थियो । 

यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको छ । रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोप, एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले एस्ट्राजेनेका खोप लगाउन रोकेका थिए । युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको बताएको छ । नियामक निकायको विज्ञप्तिसँगै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनिया, लाट्भिया, स्लोभेनिया र बुल्गेरियाले एस्ट्राजेनेका खोप अभियान पुनः सुरु गर्ने भएका छन् । 

पछिल्लो समयमा भाइरसको संक्रमण वृद्धि भएका कारण समस्यामा परेका फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप अभियान थालनी भएको एजेन्सीहरूको भनाइ छ । युरोपेली नियामक निकायले एस्ट्राजेनेका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः सुरु गर्न युरोपेली मुलुकसमक्ष आग्रह गरेको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रस ग्याब्रियसले एस्ट्राजेनेका खोपविरुद्ध गलत प्रचार नगर्न आग्रह गरेका छन् । एस्ट्राजेनेका खोपले अप्ठेरोमा रहेको विश्वका देशलाई कोरोना भाइरसको प्रकोपबाट रोक्न आवश्यक सहयोग गरिरहेको ग्याब्रियसले बताएका छन् ।

युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा खोपबाहेकको अर्काे विकल्प नदेखिएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप लगाउने काम गर्नुपर्ने उनको भनाइ छ । यसैबीच, डब्लुएचओले कोभ्याक्सको असर ९० प्रतिशतभन्दा बढी रहेको जनाएको छ ।

श्रीलंकामा चिनियाँ  खोपलाई अनुमति
श्रीलंकामा चिनियाँ खोपलाई प्रयोग गर्न शनिबार अनुमति दिइएको छ । श्रीलंकाको राष्ट्रिय चिकित्सा नियामक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो । यो खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीले जनाएका छन् ।

नियामक निकायले अनुमति दिएकाले अब त्यसको आपूर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलंकाका उत्पादन, आपूर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले बताएका छन् । श्रीलंकामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि एस्ट्राजेनेका र स्पुतनिक भीले अनुमति पाएका थिए । 

श्रीलंकाले अहिले खोप अभियान व्यापक रूपमा चलाइरहेको छ । गत फेब्रुअरीको मध्यदेखि सुरु भएको खोप अभियानअन्तर्गत सबैभन्दा पहिला अग्रपंक्तिमा खटिएकाहरूलाई एस्ट्राजेनेका खोप लगाएको थियो । एस्ट्राजेनेकाको खोप श्रीलंकाले भारतबाट ल्याएको हो । गत जनवरी र फेब्रुअरीमा यो खोप ल्याइएको थियो । डब्लुएचओको कोभ्याक्स सुविधाअन्तर्गत दुई लाख ६४ हजार मात्रा खोप श्रीलंकाले पाएको हो । अहिले ६० वर्षभन्दा बढी उमेरका नागरिकलाई लगाउन थालिएको अधिकारीले जनाएका छन् । 

फ्रान्सका १६ राज्यमा पुनः लकडाउन
कोरोना भाइरसको सक्रमण बढेपछि फ्रान्सका विभिन्न १६ राज्यमा पुनः लकडाउन घोषणा भएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले कोरोना नियन्त्रण गर्न लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको जानकारी दिएका छन् । ‘फ्रान्समा पहिलाभन्दा कोरोना संक्रमित संख्या बढिरहेको छ, यसलाई नियन्त्रण गर्न हामीसँग लकडाउनबाहेक अरू कुनै पनि विकल्प छैन,’ प्रधानमन्त्री क्यास्टेकले भने, ‘लकडाउन विगतको जस्तो नभएर केही खुकुलो हुन सक्छ ।’ 

प्रधानमन्त्री क्यास्टेकका अनुसार लकडाउनका समयमा मानिसलाई अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्कने अनुमति दिइनेछ । एक राज्यबाट अर्काे यात्रा प्रतिबन्ध गरिएको छ । सरकारले तय गरेको मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र विद्यालय खोल्न सकिनेछ । यसैगरी, काममा जानुपर्ने मानिस पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्छन् । त्यसैगरी, रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहनेछन् ।