मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २८ शुक्रबार
  • Friday, 11 April, 2025
वेदबहादुर खड्का
२o७७ फाल्गुण २८ शुक्रबार २o:१o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

चितवनबाट तिब्बत हुँदै भारतसम्म पुगेका ‘हिलारी’ र ‘तेन्जिङ’लाई पछ्याउँदा... 

Read Time : > 4 मिनेट
वेदबहादुर खड्का
नयाँ पत्रिका
२o७७ फाल्गुण २८ शुक्रबार २o:१o:oo

नेपालमा पानीहाँस ३६ प्रजातिका पाइनेमध्ये २७ प्रजातिका चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका छन् । चितवनमा पाइनेमध्येकै सबभन्दा आकर्षक सुन्दर हाँस बतक हो । यसलाई ठाउँ विशेषअनुसार कोसी सुनसरीतिरका माछा मारेर निर्भर मलाहा जातिले गागनहाँस, चितवनका बोटे मुसहरले बतकहाँस र कतैकतै खोयाहाँस भनेर चिन्छन् । यो हाँस प्रजाति संसारको अग्लो गगनचुम्बी सगरमाथाभन्दा माथिबाट बसाइँसराइ गर्ने क्रममा उडान भर्ने गरेको पाइएकाले यसलाई गगनचुम्बी गागनहाँस भनेर पनि भनिन्छ । संसारभर गागनहाँस ५० हजारजतिको संख्यामा रहेकोमध्ये नेपालमा पनि एक हजारजति पाइने अनुमान गरिएको छ । जोन वाई टाकिकवासमेतले वाइल्डफौल (२००९) जर्नलमा प्रकाशित गरेको लेखअनुसार सन् २००५ देखि २००८ सम्ममा भारतमा ६, चिनमा २९, मंगोलियामा २३ र नेपालमा दुईवटासमेत गरेर ६० वटा बतकहाँसको शरीरमा भूस्थानिक प्रणाली अर्थात् सेटलाइट ट्रान्समिटर जडान गरिएको थियो । अध्ययनअनुसार अधिकांश गागन हाँसले तिब्बतको पठार चिंघाई र मंगोलियामा प्रजनन गरी जाडो छल्न नेपाललगायत भारत, बंगलादेश, भुटानसम्म आइपुग्छन् र यस क्षेत्रमा गर्मी सुरु हुनासाथ सोही स्थानमा प्रजननका लागि फर्कने गर्छन् । सन् २००५ मा नेपालको चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीमा दुईवटामा सेटलाइट ट्रान्समिटर जडान गरिएको गागनहाँस तिब्बतको पठार गन्चो जलाशयमा पुगेका थिए । सम्भवतः हाँसमा गरेको यस्तो खालको अध्ययन–अनुसन्धान नेपालका लागि पहिलो होला । 

ठूलाखाले बाघ, गैँडा र हात्तीलगायतका वन्यजीवमा रेडियो कलर लगाई तिनीहरूको अध्ययन–अनुसन्धान गर्ने गरेको कुरा सुन्दा एकजमानामा अचम्म लाग्ने समय थियो, तर हाल आएर सामान्य भइसक्यो । कालान्तरमा समयको मागसँगै आज आएर चरामा पनि यस्तो खालको जीवविज्ञानबारे अध्ययन–अनुसन्धानको थालनी हँुदा अचम्म मान्नुपर्ने अवस्था छैन । घटना त्यस्तै सन् २००५ अर्थात् २०६१ सा माघ महिनाको हो । भारतको केलादेवल राष्ट्रिय निकुञ्जमा ६ वटा बतकहाँसलाई सेटलाइट ट्रान्समिटर जडान गरी सोही टोली नेपालको चितवन राष्ट्रिय निकुञ्जमा पनि दुईवटा बतकहाँसको शरीरमा सेटलाइट ट्रान्समिटर जडान गर्न आएको थियो । टोलीमा विज्ञको रूपमा अमेरिकी र भारतवाट एक–एकजना आएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहलको अनुमति पत्रानुसार नेपालबाट पक्षीविज्ञद्वय राजेन्द्र सुवाल र हरिशरण नेपाली ‘काजी’को टोली आएको थियो । सहजताका लागि सम्पर्क अधिकारीको रूपमा चितवन राष्ट्रिय निकुञ्जबाट चरा र गोहीमा अध्ययन गर्ने मेरा साथ (यो पंक्तिकार) दुईजना सहायक कर्मचारी सन्ते बोटे र जुठीराम बोटे पनि खटिएका थिए । यस्तो यन्त्र चरामा जडान गरेपछि दिनभरि के–कति र कहाँ–कहाँ उडान ग¥यो भन्ने विवरण घरमै बसेर कम्प्युटरबाट हेर्न सकिन्छ । 

हिलारीको ढाडमा सेटलाइट ट्रान्समिटर जडान गरिँदै
तेन्जिङको घाँटीमा सेटलाइट ट्रान्समिटर जडान 

ठूलाखाले वन्यजन्तुहरूलाई लठ्याएर बेहोस पारेर शरीरमा रेडियो कलर जडान गरिन्छ भने पक्षी, सरिसृप, साना खालका स्तनधारीलाई नलठ्याईकन पासोमा पारेर शरीरमा रेडियो कलर जडान गरिने प्रचलन छ । पासोमा पारी वन्यजीवहरूको शरीरमा ट्रन्समिटर जडान गर्नु चानचुने कुरा होइन, तर चराहरूको हकमा झनै कठिन हुन्छ । यसका लागि धेरै लगनशील र परिश्रमको आवश्यकता पर्दछ । त्यसका लागि चराहरू कहाँ–कहाँ र कुन–कुन अवस्थामा रहेका छन् भन्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ । हुन त हिउँद याममा नारायणी नदीमा जलपक्षी र गोही अध्ययनको सिलसिलामा म (पंक्तिकार) डुंगाबाट सफर गरिरहने र आवश्यकताअनुसार रातमा समेत बगरमै वास बसी अध्ययनमा अभ्यस्त भइसकेकाले कहाँ कुन प्रजातिका चरा पाइन्छन् भन्ने कुरा मेरा लागि कुनै नौलो विषय थिएन । तैपनि विदेशी विज्ञटोली आउने भएपछि योजनाबद्ध ढंगले काम सजिलोसँग फत्ते होस् भन्नका लागि गागनहाँस कहाँ–कहाँ र कुन–कुन अवस्थामा रहेका छन् भन्ने कुरा पत्ता लगाउन जरुरी थियो । त्यसका लागि एक हप्ता अगाडिदेखि हरिशरण नेपाली आउनुभएकोमा मैले मेरा सहयोगी सन्ते र जुठीराम (यो पंक्तिकारसमेत) भई नारायणीमा डुंगाबाट चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने नारायणीको लौखानी क्षेत्रमा गागनहाँसको बथान देखाइदिएपश्चात् त्यही ठाउँ नै हाँस अठ्याउने उपयुक्त ठाउँको छनोट भयो । 

 गागन/बतक/खोयाहाँस

चरा अठ्याउने विधि : गागनहाँस बिहान झिसमिसेमा नजिकैको पिठौली क्षेत्र जहाँ धान काटी निन उठाइसकेको रसिलो सिम खेतमा चर्ने गरेको र पुनः १०–११ बजे फर्केर आएर नारायणी बगरमा घाम तापेर बस्ने गरेको पत्ता लगाइयो । चरा समात्ने विदेशी विज्ञताको तौरतरिका पनि यस कार्यमा खटिएका निकुञ्जका सन्ते बोटे र जुठीराम बोटेको तौरतरिकासँग ठ्याक्कै मेल खाएकाले झनै चरा समात्नलाई निकै सहज भएको महसुस गरिएको थियो । झिसमिसेमा हाँस चर्न गएको वेलाको मौका छोपी राति हाँस वास बसेको बगरमा बालुवाकै रंगको सेतो नाइलनको मसिनो धागोमा सुर्कने गाँठो बनाई हाँस बस्ने स्थानमा छपक्कै राखिएको थियो । चरेर फर्केपछि उडेर आएर बस्ने क्रममा हिँड्दा खुट्टामा फन्ना (बोटे भाषामा फन्ना भनेको पासो हो) फस्यो र हिँड्न सकेन, कराउँदै पखेटा फ्याटफ्याट गर्दा समूहका अन्य साथीहरू उडेर नजिकै अर्को बगरको टप्पुमा गएर बसेका थिए । फन्नामा परेको हाँस कराउँदै फ्याटफ्याट गरिरहेको अवस्थामा हतपत लुकेर बसेका टिमले गएर अठ्याई ढाडमा सेटलाइट ट्रान्समिटर जडान गरिएको थियो जसको हरेक क्रियाकलापहरू नजिकै गएर अर्को बगरमा बसेका बथान हाँसले नियालिरहेका थिए । ट्रान्समिटर ढाडमा जडान गर्ना साथ तत्कालै उडाइएको हाँस आफ्नो बथान खोज्दै गएर मिसिँदा उसको शरीरमा जडान भएको ट्रान्समिटर देखेर होला अन्य उसका साथीहरू त्रसित भएर कराएका थिए र लाग्दथ्यो बथानबाट अलग्याउने हो कि भनेर, तर पछि सहज नै स्वीकार गरी समूहमा सो हाँसलाई बस्न दिए । यस हाँसको नाम हिलारी राखिएको थियो ।

 गागन/बतक/खोयाहाँस

दोस्रो हाँस समात्ने प्रयास गरियो, तर बथान तर्सिएर आप्mनो बस्ने स्थान नै परिवर्तन गरिदिएबाट हाँस समाउन सकिएन र १० दिनका लागि कार्यक्रम स्थगित गरियो । तर, हाँसको अनुगमन भने निरन्तर जारी थियो । पुनः पहिलाकै स्थानमा हाँसहरू बस्न सुरु गर्न थालेपछि दोस्रो हाँस समात्न सहज त भयो, तर खुट्टामा फन्ना अल्झिएर हिँड्न सकेन र पखेटा फ्याटफ्याट गर्दा गेगरानमा पर्न गई घाइते भएर ट्रान्समिटर घाँटीमा जडान गरे पनि हाँस उड्न सकेन । अब के गर्ने फसाद पर्यो ! तनावको वातावरण सिर्जना भयो । हामीले चिया–खाजा खाने पसलनजिकै पण्डितको घर थियो, उहाँको नाम बद्रीप्रसाद उपाध्याय हो । चिया खाने क्रममा गरेका सबै वृत्तान्त उहाँले सुन्नुभएको रहेछ । घाइते हाँसलाई सिम्रिक खुवाउनुहोस् ठीक हुन्छ भनेर भन्नुभयो र उहाँले दिएको सल्लाहअनुसार कनिका र मकैको पिठोको खोले बनाई त्यसमा सिम्रिक धुलो पारेर मिसाएर तीन हप्ता खान दिएपछि घाइते हाँसको फुर्तीफार्ती अर्कै भएर आयो । पछि त्यसलाई प्राकृतिक वासस्थानमा उडाइयो । यसको नाम तेन्जिङ राखियो । संयोगै भनौँ यो चराका लागि सिम्रिक अचुक औषधि हुन गयो । गाउँघरतिर सामान्य अवस्थामा घाइते भएका गाईवस्तुहरूलाई सिम्रिक खुवाई निको पार्ने चलन अझै पनि जीवित छ । त्यसपछि मैले (यो पंक्तिकारले) पनि सामान्य अवस्थाका घाइते भई उड्न नसक्ने अवस्थाका दर्जनौँ चरालाई उपचार गरी तिनीहरूको प्राकृतिक वासस्थानमा छोडेको ताजा स्मृतिहरू अझै जीवित नै छ । 

चितवनमा गागनहाँस जाडो छल्न मंसिरतिर आइपुग्छन् र गर्मी सुरु हनासाथ फागुनदेखि फर्किन सुरु गर्छन् । तेन्जिङ (दोस्रो हाँस) फागुनको पहिलो हप्तातिर सेटलाइट ट्रान्समिटर जडान गर्ने क्रममा समातिएको अवस्थामा घाइते हुन गएकाले करिब तीन हप्ता मानवीय रेखदेखमा राखी उपचार गर्दा समय लागेको थियो । हिलारीलाई ढाडमा र तेन्जिङलाई घाँटीमा सेटलाइट ट्रान्समिटर जडान गरिएको थियो । हिलारी (पहिलो ट्रान्समिटर जडान गरेको हाँस) गर्मी सुरु भइसकेकाले आफ्नो तिब्बतको गन्तव्यतर्फ फर्किसकेको अवस्था थियो भने घाइते तेन्जिङलाई निको पारी उडाएपश्चात् पुनः हिलारी र तेन्जिङ तिब्बतको पठार गन्चो जलाशयमा भेट भएका थिए । जोन वाई टाकिकवा र सलिम जावेदसमेतको २००९ को अध्ययन रिपोर्टअनुसार हिलारी बाटोमा आरम नगरीकन १४ मार्च २००५ मा ५९४४ मिटर (१९५०० फिट)को उचाइबाट सगरमाथा नजिक चोओइयु हिमाल आसपासबाट क्रस गरेर सगरमाथाबाट ठीक उत्तर १०० किलोमिटर (हवाई दूरी) टाढा तिब्बतको पठार गन्चो तलाउमा पुगेको थियो भने तेन्जिङ २९ मार्चदेखि ११ अप्रिलसम्म सुनकोसीको दोलालघाट आसपासमा आराम गरी पुनः उडान भरी गन्चो तलाउमा पुगी हिलारीलाई भेटेको थियो । अर्को साल हिलारी र तेन्जिङ बसाइँसराइ गरेर पुनः चितवनमा निकुञ्जमा आउँछन् भन्ने विश्वास गरिएको थियो, तर नआई हिलारी गोरखपुर आसपासकोे दाङबाट बगेर गएको राप्ती नदी र तेन्जिङ दरभंगा आसपासको सर्लाहीबाट बगेर गएको लखन्देहीको भारतीय मूभिमा पुगेका थिए । भारतीय भूमिमा उक्त नदीहरू छरिएर बगेका र हिउँदभरि त्यसै क्षेत्रवरपर हिलारी र तेन्जिङ उडेको सेटलाइट ट्रान्समिटरले देखाउँछ । त्यसपछिका विवरणहरू सेटलाइट ट्रान्समिटरको ब्याट्रीको म्याद सकिइसकेकाले प्राप्त गर्न सकिएन ।

(लेखकः वेदबहादुर खड्का, पूर्वसंरक्षण अधिकृत चितवन राष्ट्रिय निकुञ्ज)

छुटाउनुभयो की ?