मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
शिल्पा कर्ण काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार ०८:३६:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

क्यान्सरपीडित १० वर्षे बालकका बाबुको पीडा :  छोरो बचाउन पाँच कट्ठा खेत बेचेँ, अब परिवार कसरी पाल्ने 

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार ०८:३६:००

महोत्तरी भंगहा नगरपालिका–८ का अताबुल नदाफ भदौयता घर बस्न सकेका छैनन् । बुधबार उनीसँग  भेट्दा पनि भर्खरै अस्पतालबाट फर्किएका थिए । सात महिनायता उनको दैनिकी छोरालाई अस्पताल लैजाने, परीक्षण उपचार गर्नेमा बितिरहेको छ । यही क्रममा उनी बुधबार पनि छोराको ड्रेसिङ गराएर फर्केका थिए ।

उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा १० वर्षीय छोराको दैनिक ड्रेसिङ गराउन पुग्छन् । छोरा अलि हैदर खानको घुँडामा क्यान्सर देखिएपछि खुट्टा काटिएको एक साता पनि पुगेको छैन । ‘सात महिना भइसक्यो । उसैलाई लिएर अस्पताल–अस्पताल कुद्दै छु,’ भक्तपुरको एक सामाजिक संस्थामा छोरासहित बसिरहेका अताबुल नदाफ भन्छन्, ‘खेत बेचेँ तर त्यो पैसा पनि केही दिनमै सकियो । यसको उपचार निकै खर्चिलो हुने रहेछ । यस्तो रोग कसैलाई नलागोस् ।’ हैदरको उपचार सुरु भएदेखि हालसम्म १० लाख रूपैयाँ सकिसकेको उनले बताए । हैदर नदाफका माइला सन्तान हुन् । पाँच सन्तानमध्ये कान्छो छोरा साढे तीन वर्षका छन् । 

तीन कक्षामा पढ्दै गरेका हैदरलाई गत साउनमा घुँडा दुख्न थाल्यो । खोच्याएर हिँड्दै गरेको देखेपछि आमाले कारण सोधिन् । खेल्ने क्रममा चोट लागेर दुखेको हुन सक्ने परिवारका सदस्यले अनुमान लगाए । घरेलु उपचारबाट निको होला भन्दै आमा समिना खातुनले तातोपानीले सेक्ने, तेल तताएर मल्ने गर्न थालिन् । तर, निको भएन । ‘उल्टो झनै सुन्निँदै गयो । दुखाइ बढेपछि रुन्थ्यो, चिच्याउँथ्यो । घरका सबै उसैलाई रुँगेर बस्नुपर्ने भयो,’ आमा समिना सम्झिन्छिन्, ‘सुन्निएपछि दुखाइ असह्य हुन्थ्यो । राति झनै दुख्दोरहेछ । ऊ रुँदा हामी पनि चैनले बस्न सक्दैनथ्यौँ । घर नै बिरामी परेको थियो ।’साउन मध्यदेखि सुन्निएको घुँडाको घरेलु उपचारबाट ठीक नहुने देखेर परिवारले अन्ततः भदौमा धनुषाको रमदैयास्थित मेडिकल कलेजमा पुर्‍याए ।

चिकित्सकले एक्स रे गर्नु भनेपछि नदाफले त्यसैअनुसार गरे । तर, चिकित्सकबाट पाएको जवाफ अविश्वसनीय थियो । ‘हड्डीको क्यान्सर भएको भन्दा त हामी अचम्ममा पर्‍यौँ । सोच्यौँ, यति सानो बच्चालाई कसरी क्यान्सर हुन सक्छ ? पक्कै डाक्टर झुक्किए,’ उनले भने । उनी त्यहाँका चिकित्सकले भनेझैँ छोरासहित ४ असोजमा काठमाडौंको ट्रमा सेन्टर पुगे । तर, जसलाई भेट्न चाहेका थिए ती चिकित्सक सपरिवार क्वारेन्टिनमा रहेछन् । उनी त्यसै घर फर्किए । 

यसबीचमा ‘क्यान्सर नै त होइन होला’ भन्ने लागिरहँदा गाउँघरका मान्छेले झारफुक गराउन सुझाब दिए । निको हुने आसमा उनले छोरालाई झाँक्रीकहाँ पनि लिएर गए । तर, न सुन्निन कम भयो न त दुखाइ नै । उनलाई अब भने रमदैयाको चिकित्सकले भनेको कुरा सत्य हो कि भन्ने डर लाग्न थाल्यो ।

स्पष्ट हुन उनी चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगे । उनी सम्झिन्छन्, ‘त्यहाँ नपुग्दै मेरो गोजीबाटै २३ हजार रुपैयाँ चोरी भयो । फेरि घर गएर पैसाको जोहो गरेर भरतपुर आएँ । त्यहाँका डाक्टरले मेरो छोरालाई एकपल्ट पनि हेरेनन् । विभिन्न परीक्षण गर्नु भनेपछि डेढ महिनाजति त्यहीँ रहेँ । परीक्षण (बायोप्सी)पछि ओस्टेओसार्कोमा रहेछ भने,’ नदाफले भने । 

वैदेशिक रोजगारी (कतार)बाट फर्किएका नदाफ गाउँमा खेतीपातीमा रमाइरहेका थिए । तर, छोरालाई बोन क्यान्सर भएको थाहा पाएपछि ज्यान नै जोखिममा पर्ने हो कि भन्ने पीडा पर्‍यो । एकातिर उपचार खर्च जुटाउँदै थिए अर्कोतिर अस्पतालमा छोराको हेरचाह पनि आफैँले गर्नुपर्ने । उनले भने, ‘स्थानीय नगरपालिकाबाट विपन्न राहत कार्ड बनाएर ल्याए । उपचारकै लागि पाँच कट्ठा जग्गा पनि बेचेँ । त्यसबाट आएको पैसा सकिइसक्यो ।’ 

बिरामीलाई रगत लिनसमेत सोर्सफोर्स
उपचारको क्रममा कान्ति बाल अस्पतालमा हैदरको २१/२१ दिनको फरकमा चारपल्ट किमोथेरापी भयो । ‘यसबीचमा उनको शरीर निकै कमजोर भएको थियो । रगत आवश्यकता पर्‍यो ।’ उनले दुःखी हुँदै त्यो समय सम्झिए, ‘हामीले रगत माग्दा उपलब्ध छैन भने । तर, हाम्रो चिनजानको मान्छेलाई भन्न लाएँ । जिल्लाका नेतालाई भनेपछि मात्रै रगत पायौँ । यहाँ बिरामीलाई रगत चाहिए पनि सोर्सफोर्स लगाउनुपर्ने रहेछ ।’ 

चिकित्सकको सल्लाहअनुसार बनेपास्थित एक अस्पतालमा माघ चौथो साता हैदरको घुँडा काटेर पिँडुला र तिघ्रा जोडियो । तर, त्यो शल्यक्रिया सफल भएन । निजी अस्पतालको खर्च व्यहोर्न उनलाई निकै कठिन भइरहेको थियो । यसपछि उनी भक्तपुरस्थित क्यान्सर अस्पताल पुगे । जहाँ चिकित्सकले हैदरको तिघ्राभन्दा मुनिको भाग काटेर फाल्नुपर्ने अन्यथा क्यान्सर फैलिएर ज्यान नै जान सक्ने बताए ।

हैदरको दोस्रो शल्यक्रिया १४ फागुनमा भयो । सोमबार मात्रै उनी डिस्चार्ज भएका छन् । छिटै निको भएर स्कुल जाने हैदरको इच्छा छ । उनले भने, ‘आफूसँगैका साथी अर्को कक्षा पढ्ने भइसके । गाउँ पुगेर साथी भेट्न मन लागेको छ ।’ 
उनीहरू अहिले भक्तपुरको पाण्डुबजारस्थित लिओनार्दो इडवार्ड श्रेष्ठ फाउन्डेसनमा आश्रय लिइरहेका छन् । ‘हामीलाई खानबस्न पनि गाह्रो भइरहेको देखेर डक्टरले हामीलाई सहयोग गर्न संस्थामा सिफारिस गरिदिनुभयो,’ आमा समिना भन्छिन्, ‘छोरालाई डिस्चार्ज गरेयता हामी यहीँ बसिरहेका छौँ । बसेको, खाएको पैसा तिर्नुपर्दैन ।

औषधि र अस्पताल खर्च जसोतसो जुटाइरहेका छौँ ।’ खेत बेचिसकेपछि अब घर पुगेर के खाने भन्ने पीर छ नदाफलाई । ‘खुट्टा काटिए पनि धन्न उसको ज्यान बच्यो । हामीले उपचार खर्च जसरी पनि ल्यायौँ । तर, अब उसलाई नक्कली खुट्टा कतैबाट पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने ।