मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
२०७७ फाल्गुण १९ बुधबार ०९:३४:००
Read Time : > 3 मिनेट
प्रदेश प्रिन्ट संस्करण

फेवातालको गहिराइ बढाउन माटो-ढुंगा निकालिँदै

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण १९ बुधबार ०९:३४:००

वर्षौँदेखि तालभित्र थुपिएका माटो, ढुंगा–गिटी र अन्य फोहोरले ताल पुरिँदै गएकाले निकालेर तालको गहिराइ बढाउने काम थालिएको छ । तालभित्रबाट १५ हजार घनमिटर माटो, ढुंगा–गिटी र फोहोर निकाल्ने तयारी छ । यसपछि ९ देखि १० फिट गहिराइ बढ्ने अनुमान छ ।

पोखराको प्रमुख पर्यटकीयस्थल फेवालतालको क्षेत्रफल सार्वजनिक गरिएसँगै तालको गहिराइ बढाउने काम सुरु भएको छ । मंगलबारबाट ताल सफाइको अभियान पनि थालिएको छ । फिर्केखोला फेवातालमा मिसिने स्थान कोमागाने पार्क र केदारेश्वर मन्दिरपछाडिको भागबाट सफाइको काम सुरु भएको हो ।

तालको बाँध जीर्ण अवस्थामा पुगेपछि त्यसको मर्मत गर्न पानीको सतह एक मिटर घटाइएको छ । यही समयमा तालमा रहेको माटो, ढुंगा–गिट्टी, बालुवालगायत फोहोरमैला निकालेर सफाइ गर्ने तथा तालको गहिराइ बढाउने काम सुरु भएको पोखरा महानगरपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा पोखरा महानगरसँगै अन्य कार्यालयको समन्वय र सहयोगमा सो काम थालिएको महानगरको भनाइ छ । 

वातावरणमन्त्री विकास लम्सालले साना–ठूला गरी तालमा २९ वटा खोलाको पानी आउने गरेको जानकारी दिए । ती खोलाबाट पानीसँगै बगेर आउने माटो, ढुंगा–गिट्टी, बालुवा, काठ–दाउराले ताल पुरिने क्रम बढेपछि निकालेर तालको गहिराइ बढाउन लागिएको मन्त्री लम्सालले बताए । 

नौ–दश फिट गहिराइ बढ्ने विश्वास
ताल सफाइका क्रममा करिब १५ हजार घनमिटर माटो, ढुंगा–गिट्टी, बालुवासँगै त्यहाँ जम्मा भएका फोहोर निकालिने भएको छ । सफाइ कार्यक्रमका संयोजक रामकाजी श्रेष्ठले तालको माथिल्लो अर्थात् सिरान क्षेत्रको फिर्केखोला, हर्पनखोला, खहरेखोलालगायत क्षेत्रबाट माटो निकालिनेछ । यसका लागि एक करोड ३३ लाख खर्च हुने अनुमान गरिएको छ । ताल सरसफाइको काम एक महिनाभित्र सकिने श्रेष्ठले बताए ।

पुरिएको स्थानबाट माटो, ढुंगा, गिट्टी, बालुवासँगै फोहो्र निकाल्दा तालको गहिराइ नौ–दश फिट बढ्ने अनुमान गरिएको संयोजक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार फिर्केखेला मिसिने स्थानमा ताल धेरै पुरिएको छ । केही वर्षपहिले सो स्थानमा जमिनको सतह पानीभन्दा करिब पाँच फिट तल रहे पनि हाल माटोको सतह पानीको सतहभन्दा माथि आइसकेको छ । यसैगरी, गाईघाट क्षेत्रमा समेत ताल धेरै पुरिएकाले दुईवटा ताल भएजस्तो देखिने गरेको छ । सफाइपछि पुरिएका क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सकिने संयोजक श्रेष्ठले विश्वास व्यक्त गरे । तालबाट निकालिने माटो, बालुवालगायत फोहोर वसुन्धरा पार्क र कोमागाने पार्कमा रहेका खाल्टा पुरिने भएको छ ।

खर्चको जोहो नगरी काम थालियो
ताल सफाइको काम सुरु भए पनि यस कामका लागि आवश्यक बजेटको व्यवस्था भएको छैन । ताल किनारमा रहेको कोमागाने पार्क संरक्षण गर्न विनियोजन गरिएको २० लाखमध्ये पाँच लाख रुपैयाँ तालको सफाइका लागि छुट्याएर मंगलबारदेखि काम सुरु भएको हो । सफाइको काममा ठूला उपकरण प्रयोग गर्दा २५ लाखजति खर्च लाग्ने भए पनि सबै स्थानमा उपकरण लान नमिल्ने भएकाले मानिसले नै गर्नुपर्ने अवस्था छ । त्यसैले खर्च पनि बढ्ने श्रेष्ठको भनाइ छ ।

तालको गहिराइ तथा सफाइको काममा एक करोड ३३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, कार्यक्रमको सुरुवात गरेका प्रदेशका वातावरणमन्त्रीले समेत यसका लागि मंगलबारसम्म बजेट विनियोजन गरेका छैनन् । पोखरा महानगरपालिकाले पनि यति नै बजेट दिने भनेर हालसम्म बताएको छैन । बजेटको टुंगो नलाग्दा बीचमै काम रोकिने हो कि भन्ने आशंका उत्पन्न भएको छ । संयोजक श्रेष्ठले समितिमा रहेका सबै सातवटा कार्यालयका प्रतिनिधिले बजेट जुटाउन प्रयास गर्ने बताए । ‘समितिमा रहेका हामी सातैजनाले प्रयास गर्नेछौँ । बजेट जुटाउन सकिएन भने बीचमै काम छाड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

दुई साताअघि बसेको सरोकारवालहरूको बैठकले ताल सफाइका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख श्रेष्ठको संयोजकत्वमा ताल संरक्षण समिति गठन गरेको थियो । समितिमा विकास प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्य, डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल सदस्य छन् । यस्तै, बृहत् जलाधार व्यवस्थापन केन्द्र पोखराका वरिष्ठ जलाधार संरक्षण अधिकृत रामसिंह थापा, भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका वरिष्ठ जलाधार संरक्षण अधिकृत कृष्णप्रसाद घिमिरे र पोखरा महानगरपालिका योजना आयोगका सदस्य सरोज कोइराला पनि समितिको सदस्य छन् ।

तालमा रहेको माटो, ढुंगा, गिट्टी, बालुवालगायत फोहोरमैला निकाल्न ताललाई चार भागमा विभाजन गरिएको छ । फेवा बाँधदेखि फिर्केखोलासम्म पर्ने ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले काम गर्नेछ । फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरणले काम गर्नेछ । बाराहीघाटदेखि गौराको चौतारासम्मको क्षेत्रमा ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा, बृहत् जलाधार व्यवस्थापन केन्द्र पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले काम गर्ने निणय भएको छ । 

बर्सेनि डेढ लाख मेट्रिकटन माटो जम्मा हुँदै
११ वर्षअघि जापानी सहयोगी संस्था (जाइका)को सहयोगमा भएको अध्ययनअनुसार बर्सेनि एक लाख ४२ हजार मेट्रिकटन माटोलगायत पदार्थ तालमा मिसिने गरेको छ । अध्ययनअनुसार प्रत्येक दुई वर्षमा शून्य दशमलव १८ वर्ग किलोमिटर ताल पुरिँदै आएको छ । तालमा थिग्रिँदै गएको माटो निकाल्ने पहल र माटो थुप्रिने क्रम तत्कालै नियन्त्रण गर्न नसके एक सय ५० वर्षमा तालको अस्तित्व नामेट हुने सो अध्ययनमा उल्लेख छ ।

३८ वर्षको बीचमा फेवाताल ५५ प्रतिशत साँघुरो भइसकेको छ । मानवीय अतिक्रमणका अलावा तालमा बर्सेनि खोलाको मुहानबाट बगेर आउने माटो र गेग्रानका कारण आकार र प्रकार घट्ने क्रम तीव्र छ । २० वर्षअघिसम्म तालकै पानी अन्जुलीमा उठाएर पिउने गरेका स्थानीय अहिले पानीमा हात हाल्न पनि नसकिने स्थिति पैदा भएको बताउँछन् । पोखरा उपत्यका नगर विकास समितिका अनुसार ०१७ देखि ०५५ को बीचमा तालको भाग ५५ प्रतिशत साँघुरो भएको हो ।

समितिका अनुसार ०१७ मा तालको जलीय क्षेत्रफल नौ सय ८४ हेक्टर रहेकोमा ०५५ सम्म आइपुग्दा घटेर चार सय ४३ हेक्टर मात्र भएको छ । त्यस्तै, जलाधर क्षेत्र एक सय २३ वर्गकिलोमिटर छ । ३८ वर्षको बीचमा ताल ५५ प्रतिशत साँघुरिएको छ । दुई महिनाअघि तालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले गरेको अध्ययनअनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना १ पैसा अर्थात् ५.७२६ वर्ग किलोमिटर छ । 

विभिन्न अध्ययन–प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोकिँदै आएको थियो । यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल १२ हजार आठ सय ७४ रोपनी (६.५४ वर्गकिलोमिटर) तोकिएको थियो । ०६९ जेठमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार आठ सय ७४ रोपनीमध्ये नौ हजार नौ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो । 

०३८ मा युएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार चार सय रोपनी (५.८ वर्गकिलोमिटर) तोकेको थियो । तालको क्षेत्रफल ०१८ मा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल ०३१ मा ६, ०३८ मा ५.८ र ०६९ मा ५.०६ वर्गकिलोमिटर (पानीको मात्रा) उल्लेख थियो । अहिले मापन गरेको क्षेत्रफल ०३८ को भन्दा पनि थोरै छ ।