मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०९:४२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेभी ल्यान्डिङ गराउने पाइलटले ‘फर्जी’ कागज पेस गरी लिएका थिए वाइडबडीको लाइसेन्स

२ हजार घन्टा आन्तरिक उडान गरेको फर्जी कागज बनाएर सुनील श्रेष्ठले वाइडबडी उडाउने लाइसेन्स प्राप्त गरे, क्याप्टेनसँग ५ सय घन्टा बसेपछि मात्रै उडान गर्न पाउनेमा त्यसअघि नै अवतरण गर्न दिएर क्याप्टेन महेश्वरमान डंगोलद्वारा पनि गम्भीर लापरबाही

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०९:४२:००

२४ पुस (८ जनवरी)मा नेपाल एयरलाइन्सको जहाज हेभी ल्यान्डिङ गराउने नेपाल वायुसेवा निगमका को–पाइलट सुनील श्रेष्ठले उडान अवधिको फर्जी कागज पेस गरेर वाइडबडी उडाउने लाइसेन्स लिएको पाइएको छ । चिनियाँ जहाज एमए–६० बाट निगम व्यवस्थापनले सीधै वाइडबडीको पाइलट बनेका श्रेष्ठले नेपाल नागरिक उड्डयन प्राधिकरणमा फर्जी उडान अवधिको पत्र पेस गरेर एयरबस ३३० को लाइसेन्स लिएको पाइएको हो । वायुसेवा निगमको नियमअनुसार २ हजार उडान भरेको पाइलटले मात्रै अन्तर्राष्ट्रिय उडानका एयरबस–३२० र ३३० को पाइलट बनाउन पाइन्छ । 

प्राधिकरणमा श्रेष्ठले २ हजार घन्टा उडान गरेको भनेर कागज पेस गरेका थिए । निगमका दुईवटा एमए–६० जहाज हाल ग्राउन्डेड छन् । जम्मा दुई वर्ष मात्रै उडेका एमए–६० जहाज त्यस अवधिमा पनि वेला–वेला ग्राउन्डेड हुँदै आएका थिए । दुईवटा जहाज गरी ३ हजार ३ सय घन्टा मात्रै उडेका छन् । तर, श्रेष्ठ आफूले मात्रै २ हजार घन्टा उडान गरेको कागज प्राधिकरणमा पेस गरेका थिए ।

एमए–६० उडाउन निगमसँग ३ जना पाइलट तथा ४ जना को–पाइलट रहेका थिए । तीमध्ये श्रेष्ठले १ हजार २ सय घन्टा मात्रै उडान गरेका थिए । तर, उनले उडान अवधि बढाएर पेस गरेका थिए । त्यस विषयमा प्राधिकरणमा उजुरीसमेत परेको थियो । तर, प्राधिकरणले उजुरीउपरसमेत छानबिन नगरी ३३० मा जानका लागि अनुमति दिएकोसमेत पाइएको छ । 

‘यस विषयमा मलाई जानकारी छैन, तर अब छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेछ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । यो विषयमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि छानबिन सुरु गरेको र निगमले पनि गरिरहेकाले छानबिनपछि जिम्मेवार सबैलाई कारबाही गर्ने पौडेलले बताए । 

यता ३३० को कुनै पनि लामो उडान अवधिमा उडान भर्नका लागि सोही जहाजमा कम्तीमा ५ सय घन्टा उडान गर्नुपर्ने व्यवस्था छ । तर, श्रेष्ठले ३३० मा ५ सय घन्टा हालसम्म पनि पुगेको छैन । तर, सो दिन सो जहाजका क्याप्टेन महेश्वरमान डंगोलले श्रेष्ठलाई अवतरण गर्न दिनु पनि गलत भएको पाइएको छ । 

डेढ वर्षअगाडि तत्कालीन निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफूअनुकूलका पाइलटलाई एयरबस ३३० मा लगेका थिए । निगममा ३२० मा उडान गरिरहेका को–पाइलट तथा क्याप्टेनहरू पर्याप्त हँुदाहँुदै खरेलको ठाडो आदेशमा श्रेष्ठलाई ३३० मा लगिएको थियो । 

निगमको कर्मचारी विनियमावलीको सजायसम्बन्धी परिच्छेदको दाफा ९३ को उपदफा २ (ग) मा ‘निगमको सेवा पाउने उद्देश्यले शैक्षिक योग्यता ढाँटेको ठहरेमा’ भविष्यमा निगमको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने भनी उल्लेख गरिएको छ । श्रेष्ठले फर्जी उडान विवरण बुझाएर प्राधिकरणबाट लाइसेन्स जारी गराएको समेत पाइएको छ । फर्जी उडान घन्टाका कारण विमान दुर्घटना भएमा बिमा कम्पनीले एक रुपैयाँ पनि भुक्तानी नगर्ने व्यवस्था छ । 

 प्राधिकरणले थाल्यो छानबिन
परीक्षण गर्नुपर्ने जहाज यात्रुलाई जोखिममा राखेर उडान गरेको विषयमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने भएको छ । एयरबस कम्पनी र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले समेत हेभी ल्यान्डिङ लुकाएको विषयमा चासो दिएपछि प्राधिकरणले छानबिन समिति गठन गरेको हो । 

प्राधिकरणले मंगलबार प्राधिकरणका सुरक्षा महाशाखाका पूर्वप्रमुख भेषराज सुवेदीको संयोजकत्वमा चार सदस्य रहेको समिति गठन गरिएको हो । निगम व्यवस्थापनले आन्तरिक छानबिनका लागि समिति बनाएको थियो । तर, हवाई सुरक्षामा निगमले गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरणले अर्को छानबिन समिति गठन गरेको हो । ‘यो अत्यन्तै गम्भीर भएकाले समिति गठन गरेका हौँ, छिट्टै कारबाहीको दायरामा ल्याउनेछौँ,’ प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले भने ।

८ जनवरीमा कुन–कुन पक्षले गल्ती गरेको भन्ने कुरा छानबिन समितिले अध्ययन गरेर कारबाहीको दायरमा ल्याउने क्षत्रीले बताए । यता निगम व्यवस्थापनले एयरबसले पत्र काटेपछि मात्रै गत २१ फेब्रुअरीमा क्याप्टेन वाइके भट्टराई र क्याप्टेन विजय लामासहित चार सदस्यीय आन्तरिक छानबिन समिति गठन गरेको छ । निगम व्यवस्थापनले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेको छ । 

निगमको एन९–एएलजेड कलसाइन भएको एयरबस–३३० मकालु नामक जहाज गत ८ जनवरीमा दोहा–काठमाडौं अवतरणका क्रममा हेभी ल्यान्डिङ गरेको थियो । सो जहाज  क्याप्टेन महेश्वरमान डंगोल र को–पाइलट सुनील श्रेष्ठले उडान भरेका थिए । हेभी ल्यान्डिङपछि जहाजलाई परीक्षणमा पठाउनुपर्नेमा त्यसो नगरी एक महिनासम्म नियमित उडान गरिएको थियो । त्यस अवधिमा सो जहाजले ६० वटा उडान तथ्य नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेको थियो । 

जहाज ‘हेभी ल्यान्डिङ’ भएको डेढ महिनासम्म निगम व्यवस्थापन मौन बसेको मात्रै नभई त्यसैमार्फत उडानसमेत गरेर यात्रुलाई जोखिममा राखेर उडान–अवतरण गराएको गम्भीर तथ्य सार्वजनिक भएको थियो । ‘हेभी ल्यान्डिङ’ भइसकेपछि जहाजको सम्पूर्ण चेकजाँच गरेर मात्रै उडान गर्नुपर्नेमा धमाधम उडान गरिरहेको तथ्य खुलेको थियो ।

 सामान्य अवतरणका क्रममा १ जी अर्थात् प्रतिसेकेन्ड ९.८ मिटरको गतिमा जहाज तल झर्ने गर्छ । तर, सो दिन २.४२ जी अर्थात् २२ मिटर पर सेकेन्डको गतिमा जहाज अवतरण गरेको पाइएको थियो । २१ फेब्रुअरीमा जहाज निर्माता कम्पनी एयरबसले जहाजमा समस्या आएको जानकारी निगमको उडान सुरक्षा शाखामा गराएपछि मात्रै जहाज र पाइलटलाई ग्राउन्डेड गरिएको थियो । निगम व्यवस्थापनले डेढ महिनापछि आन्तरिक छानबिन समिति गठन गरेको थियो ।

अनिवार्य अवकाश पाउनै लागेका विष्टलाई एयरबस ३२० को क्याप्टेन बनाइँदै
निगमले उडान भरिरहेका न्यारोबडी एयरबस ३२० जहाजका को–पाइलटहरूलाई पाखा लगाउँदै चिनियाँ जहाज एमए ६० जहाजका पाइलट गोपाल विष्टलाई सीधै सो जहाजको क्याप्टेन बनाउन लागेको छ । २८ फागुन ०७५ मा ५८ वर्ष उमेर पुगेका विष्टले अनिवार्य अवकाश पाएका थिए ।

स्थायी जागिरबाट अवकाश पाएका विष्टलाई त्यसपछि करारमा नियुक्ति गरिएको थियो । नियमतः पाइलटहरूले ६५ वर्षसम्म उडान गर्न पाउने व्यवस्था छ । विष्ट हाल ६१ वर्ष उमेर पुगेका छन् । अबको ४ वर्षपछि विष्टले उडान गर्न पाउँदैनन् । तर, निगम व्यवस्थापनले क्याप्टेन बनाउन उनलाई तालिममा पठाउने निर्णय गरिसकेको छ । जबकि ३२० मा दर्जनौँ को–पाइलटहरू कार्यरत छन्, उनीहरूले क्याप्टेन बन्ने अवसर पाएका छैनन् ।