राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दश वर्षको अवधिमा देशभर आगलागीका १५ हजार २४६ घटना भएका छन् । जसमा ६८९ जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या दुई हजार ३४ पुगेको छ । आगलागीबाट यस अवधिमा १९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ मूल्यबराबरको क्षति भएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार दश वर्षको अवधिमा सबैभन्दा धेरै आगलागीका घटना काठमाडौं जिल्लामा भएको छ । यस अवधिमा काठमाडौंमा मात्रै एक हजार २२२ घटना भए । जसमा ५२ को मृत्यु भएको छ । दुई सय ९१ घाइते भएका छन् । आगलागी हुने दोस्रो ठूलो जिल्ला मोरङ हो । यस अवधिमा मोरङमा आठ सय ९७ आगलागीका घटना हुँदा २२ जनाले ज्यान गुमाएका छन् । ९१ जना घाइते भए । सबैभन्दा धेरै आगलागी हुने जिल्लामा सप्तरी पनि पर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष आगलागी तथा डढेलोको जोखिम धेरै हुन सक्ने अनुमान गरेको छ । पानी कम परेको र हावामा सुक्खापन ज्यादा रहेका कारण आगलागी तथा डढेलो लाग्ने जोखिम धेरै रहेको प्राधिकरणको दाबी छ । यस वर्षको हिउँदमा अत्यन्तै कम पानी परेको छ । त्यसैले हावामा सुक्खापन बढी छ ।
सुक्खाका कारण जंगलका पातपतिंगर सुकेको र त्यसलाई आगोको सानो झिल्कोले टिप्न सक्ने भएकाले भीषण डढेलोको जोखिम रहेको प्राधिकरणका सिइओ अनिल पोखरेलले बताए । ‘यस वर्षको हिउँदमा वर्षा नै भएनभन्दा पनि हुन्छ । जसकारण हावामा सुक्खापन ज्यादा छ । यस्तो हावामा आगो सल्किने सम्भावना धेरै रहन्छ । त्यसैले विगतभन्दा यस वर्ष आगलागी ज्यादा हुन सक्ने हाम्रो अनुमान छ,’ पोखरेलले भने, ‘गत वर्ष अस्ट्रेलियामा यस्तै कारण भीषण आगलागी भयो । त्यस्तै जोखिम यसपटक नेपालले व्यहोर्नुपर्ने हुन सक्छ भन्दै सचेत रहन आह्वान गरेका छौँ ।’
हिउँदमा जम्मा २५.३ प्रतिशत वर्षा
प्राधिकरणका अनुसार यो वर्षको हिउँदमा २५ प्रतिशत मात्रै वर्षा भएको छ । नेपालका लागि मार्च प्रि–मनसुनको महिना हो । तर, यसपटक जम्मा २५.६ प्रतिशत मात्रै वर्षा भएको छ । जुन गत वर्षको तुलनामा अन्यन्त न्यून हो । वर्षा नहुनु र हावामा सुक्खापन बढ्नु जलवायु परिवर्तन नै मुख्य समस्या रहेको प्राधिकरणका सिइओ पोखरेलले बताए ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यसपटक अत्यन्तै कम वर्षा भएको देखिन्छ । नेपालमा पोस्ट मनसुन भनेर १५ असोजदेखि १५ मंसिरसम्मको अवधिलाई लिइन्छ । यस अवधिमा सरदर नेपालमा ९० मिलिमिटर पानी पर्ने गर्छ । तर, यस वर्ष जम्मा २३.१ मिलिमिटर अर्थात् २५.६ प्रतिशत मात्रै वर्षा भयो । हिउँदयाम नेपालमा १६ मंसिरदेखि १५ फागुनसम्मको अवधिलाई लिइन्छ । यस अवधिमा सरदर ६०.९ मिलिमिटर पानी पर्नुपर्छ । तर, यस वर्षको हिउँदमा मात्रै १५.४ मिलिमिटर अर्थात् सरदर वर्षको मात्रै २५.३ प्रतिशत वर्षा भयो ।
यस्तो अवधिमा आगलागी हुने, जमिनमा सुक्खापन आउने र उत्पादन घट्ने सम्भावना बढ्ने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा.इन्दिरा कँडेलले बताइन् । ‘यसपटक अत्यन्तै न्यून वर्षा भएको छ । जस्तो हिउँदमा २५.३ प्रतिशत र पोस्ट मनुसनमा २५.६ प्रतिशत मात्रै वर्षा भयो । पानीको मुहान सुक्छ । उत्पादन घट्छ,’ उनले भनिन् ।
लापरबाही : आगलागीका मुख्य कारण
प्राधिकरणका अनुसार मानवीय लापरबाही नै आगलागीका मुख्य कारण हुन् । काम सकेपछि आगो सही ढंगले ननिभाउने गलत आनीबानी नै डढेलो र घर आगलागीको मुख्य स्रोत रहेको प्राधिकरणको भनाइ छ । त्यसबाहेक चट्याङ र विद्युत् सर्ट पनि आगलागीका अर्को मुख्य कारण हुन् । जंगल र पहाडी भेगमा चट्याङका कारण आगलागी धेरै हुने गर्छ ।
सहरी क्षेत्रमा भने प्रायःजसो विद्युत् सर्ट हुँदा आगलागी हुने गर्छ । ‘हामीले आगलागीका धेरै घटनाको केस स्टडी गर्यौँ । प्रायःमा मानवीय लापरबाही नै मुख्य कारण देखियो । खाना पकाइसकेपछि आगो ननिभाई हिँड्छन् । त्यही आगोलाई हुरीले उडाएर सल्किने ठाउँमा लैजान्छ । अनि डढेलो र घर आगलागी हुने गर्छ । त्यसबाहेक चट्याङ र विद्युत् सर्ट पनि आगलागीका अर्का स्रोत हुन्,’ प्राधिकरणका सिइओ पोखरलेले भने ।
काठका घर र खरले छाएका घर बढी जोखिममा
प्राधिकरणका अनुसार पहाडी क्षेत्रका घर प्रायः काठका हुन्छन् । सुक्खापनले गर्दा त्यसमा आगो सल्किने सम्भावना धेरै हुन्छ । विशेष गरी पूर्वी नेपालका पहाडी घर काठले बनेका छन् । पाँचथर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, इलाम, तेह्रथुम, खोटाङलगायतका जिल्लामा आगलागीका घटना धेरै हुने मुख्य कारण यही हो । तराई क्षेत्रमा फुस तथा खरले छाएका घर हुन्छन् । त्यस्ता घरमा पनि आगो सल्किने सम्भावना बढी हुन्छ । प्रदेश २ र लुम्बिनी प्रदेशका घर आगलागीको उच्च जोखिममा छन् ।