मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १८ मंगलबार १०:३५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आफैँ उभिन सक्दिनन् पुनम, तर सरकारी जागिरे बन्ने साहस

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १८ मंगलबार १०:३५:००

झापा दमक–४ अर्नाखाडीकी १७ वर्षीया पुनम भुजेल अरूको सहयोगविना हिँडडुल गर्न सक्दिनन् । कक्षा ६ मा पढ्दादेखि सुरु भएको शरीर बांगिने समस्याले अहिले उनलाई सहयोगविना हिँड्न नसक्ने बनाएको छ । उभिँदा शरीर पूरै बांगिन्छ, शरीर लुलिएको छ । हिँड्न सक्दिनन् । डाक्टरले ‘मस्कुलर डिस्ट्रफी’ भएको भनेका छन् । अशक्त शरीर भए पनि पुनमले आत्मविश्वासमा भने कमी आउन दिएकी छैनन् ।

अरूको सहारामा हिँडडुल गर्नुपर्ने भए पनि उनले पढाइ छाडेकी छैनन् । उनका बुबा पूर्णबहादुरले हरेक दिन बिहानै साइकलमा राखेर चार किलोमिटर टाढा रहेको दमक बहुमुखी क्याम्पसमा पुर्‍याइदिन्छन् । बिहानभरि पर्खेर १० बजे छोरी लिएर मात्रै पूर्णबहादुर घर फर्किन्छन् । ‘साइकलमा बस्न सक्छु । उभिएर हिँड्न त कुरै नगरौँ,’ उनी भन्छिन्, ‘बामे सरेर हिँड्नचाहिँ सक्छु । बुबाले कलेजभित्र पु¥याएर छाडिदिनुहुन्छ । बसेको ठाउँबाट नउठी कक्षा सकिन्छ ।’

उनले भर्खरै मात्र कक्षा १२ पनि पास गरेकी छिन् । थप उच्च शिक्षा लिने उनमा इच्छा छ । उनको इच्छा पूरा गर्ने तागत परिवारमा छैन । ‘आमाको पनि हात यसैगरी बांगिएका छन् । छोरीको इच्छा पूरा गर्न मैले बाहिर कतै गएर काम गर्न सकिनँ,’ बुबा पूर्णबहादुर भन्छन्, ‘अब ब्याचलर पढ्छु भन्छिन् । तर, म मजदुरी गरेर खानेले कसरी पढाउने ?’ 

पूर्णबहादुरले ४५ वर्षको उमेरमा विवाह गरेका थिए । पुनम उनीहरूको एक्ली सन्तान हुन् । ‘बुढेसकालको सहारा बन्छिन् भन्ने सोचेको थिएँ । उनकै सहारा बन्नुपर्ने भयो,’ उनी भन्छन्, ‘६० पुगेँ । अब काम गर्न पनि सक्दिनँ ।’ समयमै पैसाको चाँजोपाँजो मिलाउन सकेको भए छोरीको उपचार हुन्थ्यो कि भन्ने पीडाबोध हुने गरेको उनी बताउँछन् । अहिले रोग छिप्पिएको छ । उपचारका लागि खर्च पनि छैन । उनी भन्छन्, ‘कसैले सहयोग गरे उपचार गर्ने थिएँ ।’

पुनममा भने बुबाको सहारा पाइन्जेल पढ्ने हिम्मत छ । स्नातकोत्तरसम्म अध्ययन गर्ने उनको लक्ष्य छ । तर, पढ्ने क्याम्पस अपांगमैत्री नहुँदा उनलाई कलेज जान मुस्किल हुन्छ । ‘क्याम्पसको शौचालयसम्म पुग्न पनि गाह्रो हुन्छ । ‘पानी खाएर कलेज जाँदा पिसाब आउँछ कि भनेर पानी पनि नखाई जान्छु,’ उनी भन्छिन्, ‘कलेजमा ठूला सिँढी चढेर कक्षाकोठामा जानुपर्छ । धन्न सरले ११ र १२ कक्षाचाहिँ मेरो अवस्था देखेर तल्लो तलामै पढाउनुभयो । अब के हुने हो कुन्नि !’ 

शारीरिक रूपमा अशक्त भए पनि उनलाई सरकारी जागिर खाने ठूलो रहर छ । बूढा भएका बा–आमाका लागि पनि उनी सरकारी जागिर खान लोकसेवाको तयारी गरिरहेकी छिन् । ‘बसेर गर्ने काम त गर्न सक्छु । सरकारी जागिर खाएर बुबा–आमालाई पाल्ने मन छ । उहाँहरूले पनि अब कति नै काम गर्न सक्नुहुन्छ होला र !,’ उनी भन्छिन्, ‘खरिदारको पुस्तक किनेर ल्याएको छु । घरमा बस्दा यही पढेर तयारी गरिरहेको छ । अब खुल्नेबित्तिकै फर्म भरेर परीक्षा दिन्छु ।’