मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १८ मंगलबार
  • Friday, 11 July, 2025
अर्जुन अधिकारी काठमाडाैं
२o७७ फाल्गुण १८ मंगलबार o६:४५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

हेलचेक्र्याइँले सघन उपचार कक्षमा कोरोना संक्रमित बढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १८ मंगलबार o६:४५:oo

परीक्षण गर्नेहरू घट्दै जाँदा कोरोना सक्रमितको संख्या कम देखिन थालेको चिकित्सकहरूले दाबी गरेका छन् । कोभिडको उपचार गरिरहेका अस्पतालहरूका अनुसार अझै कोरोना लागेर सघन उपचार कक्षमा भर्ना हुनेको संख्या भने घटेको छैन । 
‘मानिसहरू स्वास्थ्यमा सामान्य समस्या देखिएकै भरमा अहिले कोरोना परीक्षण गराउन आउँदैनन्,’ पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका भने, ‘घरमा बसेर निमोनिया भएपछि मात्रै अस्पताल आउनेहरू बढ्दै छन् । अस्पताल आउनेबित्तिकै उनीहरूलाई आइसियूमा राख्नुपर्छ ।’ 

डा. शाक्यका अनुसार अस्पतालमा रहेका कुल ३६ संक्रमितमध्ये सोमबार पनि १३ जना आइसियूमा छन् । अहिले परीक्षण गराउनेहरूमा वैदेशिक रोजगारीमा जाँदै गरेका र सघन उपचार कक्षमा भर्ना भएकाहरू धेरै छन् । एक मात्र सरुवारोग अस्पताल टेकुमा पनि अहिले नौजना संक्रमित गम्भीर बिरामी छन् । केही समय त्यहाँ आइसियूमा पुग्नेको संख्या घटेर तीनमा झरेको थियो । तर, अहिले भने नौजनाको हाराहारीमा दैनिक भर्ना भइरहेका छन् ।

अस्पतालका डाक्टर अनुप बाँस्तोलाका अनुसार संक्रमित हुने दैनिक रिपोर्ट धेरै छैन, तर आइसियूमा पुग्नेहरू अझै ठूलो संख्यामा छन् । ‘सोमबार देशभर ७३ जनामा कोरोना पुष्टि हुँदा तीनजनाको मृत्यु भएको छ,’ डा. बाँस्तोलाले भने, ‘संक्रमण र मृत्यु हुने क्रम जारी भएकाले जोखिम कम भएको छैन । हामीले फुर्सद पाएका छैनौँ । नपत्याउने हिसाबले बिरामी अस्पताल भर्ना भएका छन् ।’ 

बाँस्तोलाले मानिसहरूले स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमितको संख्या पुनः बढ्न सक्ने खतरा औँल्याए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले देशभर ५० भन्दा बढी कोरोना संक्रमित आइसियूमा भर्ना भएको देखिएको छ ।

चिकित्सहरूका अनुसार ज्वरो, खोकी र रुघालाई सामान्य रूपमा लिँदा धेरै मानिस कोभिडले सिकिस्त हुँदै छन् । शिक्षण अस्पतालका चिकित्सक डा. सन्तकुमार दासले आइसियूमै आएर मात्र कोरोना परीक्षण गराउने प्रचलन बढेको बताए । शिक्षण अस्पतालमा तीनजना आइसियूमा भर्ना भएका छन् । उनीहरू सबै गम्भीर अवस्थामा अस्पताल आएका हुन् । 

पाटन अस्पतालमा हाल दैनिक ५० जनाको कोरोना परीक्षण हुँदा पजिटिभ रिपोर्ट शून्य हुन्छ । तर, आइसियूमा आएकाहरूको कोरोना रिपोर्ट भने पजिटिभ आउँछ । केही दिनयता कोरोना संक्रमितको संख्या घटे पनि मृत्युदर भने बढेको देखिएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एक एक सय १२ जनामा संक्रमण पुष्टि हुँदा एकजना, शुक्रबार एक सय १२ मा चार, शनिबार ८१ मा दुई, आइतबार ७८ मा एकजनाको मृत्यु भएको थियो भने सोमबार ७३ मा तीनजनाको मृत्यु भएको छ ।