Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १०:५५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त हुन सकेनन्, पुरानाको मनोमानी

भन्सार नाका बढे, व्यापार बढ्यो, तर एउटै एजेन्ट थपिएनन्, बरु भएका एजेन्ट पनि एकतिहाइ निष्क्रिय, सक्रियाको मनोमानीले अन्तर्राष्ट्रिय व्यापारमा समस्या

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १०:५५:००

पछिल्ला दुई दशकमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार झन्डै दश गुणाले बढिसकेको छ । मूल भन्सार नाका पनि झन्डै दोब्बरले बढेका छन् । तर, यो दुई दशकमा भन्सार जाँचपासमा संलग्न एजेन्टको संख्या भने एकजना पनि थपिएका छैनन् । ०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति भएका छैनन् ।

अन्तिमपटक सरकारले ११ असोज ०५७ मा मल्ल आयात–निर्यात केन्द्रलाई भन्सार एजेन्टका रूपमा नियुक्ति गरेको थियो । करिब दुई दशकदेखि भन्सार एजेन्ट नियुक्ति नहुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिन थालेको छ । व्यवसायीले चाहेको समयमा भन्सार एजेन्ट नपाउने, समयमै मालवस्तु पास नहुने, एजेन्टले गुणस्तरीय काम नगर्ने, महँगो सेवाशुल्क लिने, तौलअनुसार शुल्क निर्धारण गर्ने तथा सिन्डिकेट गर्नेलगायतका समस्या देखिएको व्यवसायी तथा कर्मचारीहरू बताउँछन् । 

सरकारले हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् । चालू आर्थिक वर्षमा १ सय ६९ जना भन्सार एजेन्टले अनुमतिपत्र नवीकरण गरेका छन् । नाका र व्यापार बढेअनुसार भन्सार एजेन्ट नियुक्ति नहुँदा त्यसको प्रत्यक्ष असर भन्सार जाँचपासमा देखिने नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् । 

‘खासगरी गुणस्तरीय एजेन्टको अभाव छ,’ मुरारका भन्छन्, ‘भन्सार एजेन्टले क्लाइन्टको तर्फबाट भन्सारमा प्रभावकारी रूपमा आफ्ना कुरा राख्ने, कानुनको व्याख्या गर्ने तथा छिटो र सहजै मालवस्तु छुटाउनेलगायत काम गर्नुपर्ने हो, तर त्यस्तो देखिँदैन ।’ सरकारले अविलम्ब प्रक्रिया सुरु गरेर व्यावसायिक एजेन्टहरू नियुक्ति गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल फ्रेट फरवार्डस् एसोसिएसन (नेफा)का प्रथम उपाध्यक्ष नरेश अग्रवालले पर्याप्त भन्सार एजेन्ट नहुँदा मनोमानी बढेको बताए । खासगरी आयातमा भन्सार एजेन्टको मनोमानी बढी हुने गरेको उनको भनाइ छ । ‘लामो समयदेखि सरकारले भन्सार एजेन्ट नियुक्ति गरेको छैन, दिइएको लाइसेन्स पनि नवीकरण नभएको अवस्था छ,’ उनले भने, ‘अब थोरै एजेन्ट भएपछि मनोमानी त हुने नै भयो नि ।’

भन्सारमा काम गरेका एक पूर्वकर्मचारीका अनुसार एजेन्टले भन्सार कर्मचारीको बहाना देखाएर आयातकर्ताबाट पैसा असुल्ने गर्छन् । ‘भन्सारमा व्यावसायिक एजेन्टको अभाव छ, कर्मचारीलाई पैसा दिएर मात्रै काम हुने भन्दै व्यवसायीबाट रकम असुल्छन्,’ उनले भने, ‘भन्सार क्रमशः पूर्ण अनलाइनमा आधारित हुँदै जाँदा सोहीअनुसार व्यावसायिक र आइसिटीमैत्री एजेन्ट नियुक्ति गर्न आवश्यक छ ।’

 थप ५ सय एजेन्ट आवश्यक छ :एजेन्ट महासंघ
भन्सार एजेन्ट महासंघ, नेपालका अध्यक्ष डा. शान्ताकुमार शर्माले ०५७ सालयता भन्सार एजेन्ट नियुक्ति नभएको बताए । नियुक्ति लिएका ४ सय ८१ जनामध्ये हाल १ सय ७० जना मात्रै कार्यरत (नवीकरण भएको) रहेको उनले बताए । ‘१ सय ७० जना एजेन्ट र तिनका ३ सय ५० हाराहारी प्रतिनिधिले भन्सारमा सहजीकरण गरिरहेका छन्,’ उनले भने, ‘सरकारले पटक–पटक एजेन्ट नियुक्तिको तयारी गर्ने, तर अघि नबढाउने गरिरहेको छ ।’

यद्यपि, एजेन्टले मनोपोली गरेको, मनोमानी गरेको भन्नेलगायत कुरा भने सत्य नभएको उनी बताउँछन् । बढ्दो व्यापार तथा भन्सार नाकालाई आधार मान्दा अहिले करिब ५ सय भन्सार एजेन्ट थप्न आवश्यक रहेको उनले बताए । तर, त्यसको आधा नियुक्ति भन्सार एजेन्टका प्रतिनिधिबाट हुनुपर्र्ने आफूहरूको माग रहेको उनले बताए । भन्सार प्रतिनिधिको व्यवस्थापन नभएसम्म एजेन्ट नियुक्ति गर्न नदिने महासंघले चेतावनी दिँदै आएको छ । 

 एजेन्ट नियुक्ति प्रक्रिया सुरु गर्दै छौँ : भन्सार विभाग
लामो समयदेखि भन्सार एजेन्ट नियुक्ति नहुँदा अन्तर्राष्ट्रिय व्यापारमा विभिन्नखाले समस्या देखिएको भन्दै नियुक्ति प्रक्रिया अघि बढाएको सूचना निर्देशक तथा अधिकारी शिशिर घिमिरेले बताए । ‘व्यवसायीको गुनासो छ, हामीले पनि आवश्यक महसुस गरेका छौँ, तर यसअघि सुरु गरिएको नियुक्ति प्रक्रिया विविध कारणले पूरा हुन सकेन,’ उनले भने, ‘अहिले फेरि हामीले नियुक्ति प्रक्रिया सुरु गर्दै छौँ, छिट्टै दरखास्त आह्वान गर्छौँ ।’ अहिले भएका ३८ मूल भन्सारमध्ये २८ वटा सञ्चालनमा छन् । बढेको व्यापार र बढेका भन्सार कार्यालयअनुसार विभागले एजेन्ट नियुक्ति प्रक्रिया सुरु गर्न थालेको उनले बताए । 

कसरी हुन्छ नियुक्ति ?
निकासी–पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्न सक्छन् । भन्सार एजेन्टलाई आयात–निर्यात हुने मालवस्तुको धनीसरह समेत मानिने गरिन्छ । तर, भन्सार एजेन्ट बन्न भने विभाग वा कार्यालयबाट अनुमतिपत्र लिनुपर्छ ।

विभागले समय–समयमा सार्वजनिक सूचना प्रकाशनमार्फत दरखास्त मागेर लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको इजाजतपत्र दिन सक्ने भन्सार ऐन, २०६४ (२०७६ दशौँ संशोधन)को व्यवस्था छ ।

छनोट भएका व्यक्तिसँग ७ हजार रुपैयाँ र धरौटीबापत ७ लाख रुपैयाँ नगद वा सो रकमबराबरको बैंक जमानत लिई नियुक्त दिइने भन्सार नियमावली २०६४ (२०७६ दशौँ संशोधन) मा व्यवस्था छ । कुनै पनि निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा आफँै उपस्थित भई मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्न सक्नेछन् ।