Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ फाल्गुण १६ आइतबार ०७:५१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

क्यान्सर सर्भाइबर डा. शिलु अर्याल भन्छिन्– उपचारमा विश्वास गरौँ क्यान्सर निको हुन्छ

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १६ आइतबार ०७:५१:००

डा. शिलु अर्याल क्यान्सर सर्भाइबर (क्यान्सर विजयी) हुन् । वरिष्ठ स्त्रीरोग विशेषज्ञ अर्यालले ६० वर्षको उमेरमा ओभरी क्यान्सरमाथि विजय हासिल गरेकी हुन् । चिकित्सा पेसा अँगालेको लामो समयसम्म उनले पाठेघरको क्यान्सरबारे जनचेतना फैलाउन खर्चेकी थिइन् । तर, आफैँ सो समस्याबाट गुज्रिनुपर्ला भनेर उनले कहिल्यै सोचेकी थिइनन् । 

उनले स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखामा फोकल पर्सन र परोपकार प्रसूति गृहमा वरिष्ठ स्त्रीरोग विशेषज्ञको रूपमा लामो समय काम गरेकी थिइन् । उनी अहिले रिटायर्ड भइसकेकी छन् । ६४ वर्षीया डा. अर्यालले ३४ वर्षभन्दा बढी महिला स्वास्थ्यका क्षेत्रमा काम गरेकी छन् । रिटायर्ड भए पनि उनले क्लिनिकबाट सेवा दिइरहेकी छन् ।

डा. अर्याल ओभरी क्यान्सर जितेर सामान्य जीवनमा फर्किन सक्नुमा आत्मविश्वासको ठूलो भूमिका रहेको बताउँछिन् । 
डा. अर्यालमा ओभरी क्यान्सर भएको चार वर्ष पूरा भयो । उपचारपछि हाल उनी पूर्ण रूपमा स्वस्थ छिन् । चार वर्षअघि ओभरीमा ट्युमर देखिएपछि शल्यक्रिया गर्नुपरेको थियो । उनको दुवै ओभरीमा ९–९ सेन्टिमिटरको ट्युमर पलाएको थियो ।

जुन बाहिरबाटै छाम्दा महसुस गर्न सकिन्थ्यो । ट्युमरको शल्यक्रिया गर्नुपर्ने अवस्थामा डा. अर्यालले ओभरीमा क्यान्सर भएको थाहा पाएको थिइन् । त्यतिवेला ओभरीको क्यान्सर ‘फस्ट फेजको बी’ मा थियो । ट्युमरको सफल शल्यक्रिया भएको थियो । त्यसको तीन सातापछि किमोथेरापी सुरु गरेको उनले बताइन् । ६ पटकको किमोथेरापीपछि क्यान्सर पूर्ण ठीक भएको उनको भनाइ छ । 

आत्मविश्वास हुनुपर्छ
क्यान्सर हुँदैमा बाँचिँदैन भन्ने मनोविज्ञानले समस्या थपिदिएको चिकित्सक अर्यालको अनुभव छ । करिब ६० वर्षको उमेरमा क्यान्सर सर्भाइबर बनेकी डा. अर्याल भन्छिन्, ‘आफूमा आत्मविश्वास हुनुपर्छ । आधा रोग ठीक हुन्छ । मलाई क्यान्सर भएपछि परिवारका सदस्यहरू भने निकै डराउनुभएको थियो, मलाई भने सामान्य लागेको थियो । वर्षौंदेखि यही क्षेत्रमा काम गरेको भएर पनि मलाई उपचारपछि निको हुन्छु भन्ने विश्वास थियो ।’ क्यान्सरका लक्षण तेस्रो वा चौथो स्टेजमा पुगेर मात्र थाहा हुने र त्यतिवेलासम्म उपचारका माध्यमबाट निको पार्न सहज नहुने हँुदा आममानिसमा क्यान्सर मृत्युको पर्यायवाची बनेको छ ।

नेपालमा क्यान्सरपीडितको तथ्यांक हेर्दा महिलामा पाठेघरको क्यान्सर र स्तन क्यान्सर पहिलो नम्बरमा छ । समयमै क्यान्सर रोगबारे थाहा नहुँदा हरेक वर्ष महिलामा क्यान्सर मृत्युको मुख्य कारण बन्ने गरेको छ । डा. अर्याल भन्छिन्, ‘जीवनको आधाभन्दा बढी समय चिकित्सा पेसामा बिताएकाहरूका लागि पनि क्यान्सर थाहा नहुने अवस्था छ, गाउँस्तरमा यसको अवस्था झन् भयावह देखिन्छ । स्वास्थ्य चेकजाँचको अभावका कारण क्यान्सरपीडितको तथ्यांक नै यकिन छैन ।’ 

गम्भीर समस्या देखिनेबित्तिकै
विदेश जानुपर्छ भन्ने मानसिकता गलत

डा. अर्यालका अनुसार उनले क्यान्सरको उपचार सरकारी अस्पतालमा गराएपछि स्वास्थ्य सेवा विभागका केही मान्छे रिसाएका थिए । नेपालका केही वरिष्ठ चिकित्सकहरूले त क्यान्सरको उपचार गराउन भारत जानसमेत सुझाब दिएको उनको भनाइ छ । उनले भनिन्, ‘गम्भीर समस्या देखिँदा विदेश जानैपर्छ भन्ने मानसिकता हटाउन जरुरी छ । नेपालमा सफल उपचार गर्न सकिन्छ, हामीले आफैँमाथि विश्वास गर्न सक्नुपर्छ । विदेश जाने टे«न्ड हट्दा आममानिसलाई नेपालमै भएको स्वास्थ्य सेवा उपयोग गर्ने उत्प्रेरणा मिल्छ ।’