मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
आमोद दाहाल
२०७७ फाल्गुण १६ आइतबार १०:२९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सहर पशुपक्षीको पनि हो

Read Time : > 5 मिनेट
आमोद दाहाल
२०७७ फाल्गुण १६ आइतबार १०:२९:००

झट्ट भन्दा सहरभित्रको गरिबी भन्नासाथ हाम्रो मानसपटलमा साँघुरो गल्लीभित्रको घरमा एउटा सानो र घाम नपर्ने डेरामा कोच्चिएर बसिरहेका वा त्यही कोठामा पनि बस्ने सामथ्र्य नभई नदीकिनारको अव्यवस्थित सार्वजनिक स्थल अतिक्रमण गरी टहरो बनाएर बस्दै आएका परिवारको तस्बिर याद आउँछ । तर, यहाँ उजागर गर्न खोजिएको गरिबी त्यो होइन । सहरमा मानिसका साथै मानिससँग सयौँ वर्षदेखि आश्रित र अन्तरसम्बन्धित घरपालुवा र अरू पशुपक्षी पनि बस्ने गर्छन् ।

सहरमा गाई, कुकुर, बिरालोजस्ता घरपालुवा जनावर ठूलो संख्यामा रहेका छन् । यहाँ सदियौँदेखि काग, परेवा र भँगेराजस्ता चरा पनि बस्दै आएका छन् । कुनै सहरमा यी घरपालुवा पशुपक्षीका अलावा केही संख्यामा बाँदर पनि बस्दै आएका छन् । कथा र परिघटना फरक भए पनि सहरका व्यथा समान छन् । त्यसैले सरल रूपमा बुझ्नका लागि यहाँ काठमाडौं सहरभित्रका गाई, कुकुर, भँगेरा, परेवा र बाँदरको अवस्थाबारे उजागर गर्न खोजिएको छ ।

काठमाडौंका सडक, नदीकिनार र तरकारी बजारवरपर छाडा छाडिएका गाई, गोरु र कलिला बाच्छा देखिने गर्छन् । यिनको संख्या यति नै छ भनेर यकिन छैन । तर, सहजै के अनुमान गर्न सकिन्छ भने यिनको संख्या सयौँमा छ । सडकमा बेवारिसे अवस्थामा रहेका गाईवस्तु कार्टुनका कागज र फोहोरका थुप्रामा फ्याँकिएका प्लास्टिकभित्र रहेका सडेगलेका खानेकुरा खाएर जेनतेन बाँचेका छन् । काठमाडौंका खेतबारी जोत्न गोरुको प्रयोग नगरिने हुनाले बाच्छो जन्मेपछि कलिलैमा सडकमा खेद्ने चलन धेरै पहिलेदेखिकै हो ।

गाई दुहुनो होउन्जेल पाल्ने र थारो भएपछि सडकमा धपाउने क्रम बढेकाले होला हिजोआज सडकमा बेवारिसे गाईको संख्या पनि बढ्न पुगेको छ । पहिले यसरी छाडिने गाईको संरक्षण होस् भनेर गौचरण बनाउने प्रचलन थियो । सहरमा ठाउँ–ठाउँमा ठूला चउर थिए र गाईवस्तुका लागि पानी खान भनेर पोखरीसमेत थिए । तर, अहिले प्रायः सबै ठाउँका चउर र पोखरी मासिएका छन्, अथवा मासिने क्रममा छन् । गाईकै लागि भनेर परापूर्वकालदेखि खुला चउरका रूपमा राखिएको पशुपति गौचरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेको पनि दशकौँ भइसक्यो । 

आजकल काठमाडौंमा जताततै पिच र ढलान छ भने बाँकी रहेको ठाउँ धुलाम्मे मात्र छ । यहाँका बेवारिसे गाईवस्तुले मुस्किलले जुर्दा मात्र घाँस खान पाएका छन् । वेला–वेलामा बाटोमा साना कलिला वेबारिसे बाच्छा माउ खोज्दै हिँडेका देखिन्छन् । ती साना बाच्छा, जसले राम्रोसँग घाँस त खान जानेको छैन, तिनले जीवन बाँच्नका लागि कसरी सघर्ष गर्न सकेका होलान् ?

साना बाच्छालाई फेरि कुकुरका झुण्डले भेटे भने लखेट्ने र झम्टिने पनि गर्छन् । कतिपय साना बाच्छा सडकमा धेरै दिनदेखि केही खान नपाएर तथा पानी पिउन नपाएर छट्पटाई कलिलैमा मरिरहेका छन् । कतिपय गाईवस्तु प्लास्टिकभित्र रहेका सडेगलेका खानेकुरा खोज्दै खाइरहेका देखिन्छन् ।

यसरी प्लास्टिकभित्र रहेको सडेगलेका खाने कुरा खाने क्रममा गाईवस्तुले प्लास्टिक पनि निल्न पुग्छन् र त्यही प्लास्टिक आन्द्रामा जेलिएर पाचन प्रणालीले काम गर्न नसक्दा कतिपय गाईवस्तु मर्ने गरेका छन् । काठमाडौंका सडकमा मरेका गाईबाच्छाको सिनो व्यवस्थापनमा काम गर्दै आएका संघसंस्थाले दिएको अनौपचारिक तथ्यांक मान्ने हो भने काठमाडौं महानगरपालिकाभित्र प्रत्येक वर्ष सरदर चार सयभन्दा बढी गाईबाच्छा मृत भेटिन्छन् । घाँस खाने गाई प्लास्टिक खान बाध्य छन् र पानी पिउन नपाएर बाच्छाहरू मरिरहेका छन् भन्ने तथ्यले काठमाडौंका गाईवस्तुको दुरावस्था प्रस्ट हुन्छ ।  

अब कुकुरको चर्चा गरौँ । काठमाडौं सहरमा रहेका कुकुरलाई दुई समूहमा वर्गीकरण गरेर हेर्न सकिन्छ । एउटा घरमा पालिएका कुकुर र अर्को बेवारिसे कुकुर । अधिकांश सडकमा बस्ने कुकुर सडकमै जन्मिएका हुन्छन् । केही भने घरमा पालिएका कुकुर भए पनि रोगी र बूढो भएपछि सडकमा बेवारिसे छाडिन्छन् । सडक कुकुरको बस्ने ठाउँ भनेकै साँघुरा गल्ली, फुटपाथ र फोहोरको थुप्रो हो । अधिकांश सडक कुकुर कहिल्यै नुहाउन नपाएका र लुतो लागेर पूरै रौँ झरेका देखिन्छन् ।

सडकमा अधिकांश कुकुर भोका, लुला र घाइते भेटिन्छन् । केही पुराना नेवार बस्तीमा कुनै चाडबाड तिथि पर्‍यो भने स्थानीयहरू घरअगाडि खानेकुरा राखिदिन्छन् । केही मासु पसले र होटेल पसलेहरू बचेको कमसल खानेकुरा फोहोरमा फाल्नुको साटो त्यहीवरपर बस्ने कुकुरलाई दिने गर्छन् । यी अपवाद र दयालु पात्रको फेला परेकाबाहेक अरू सडककुकुरको अवस्था दयनीय छ । अन्य अवस्थामा सडकमा बस्ने कुकुर फोहोरका थुप्रामा फ्याँकिएका कुहिएका खाने कुरामा निर्भर छन् ।

आजकल टोलैपिच्छे महानगरले गाडीमार्फत फोहोर संकलन गर्ने भएकाले यही फोहोर पनि भेट्न मुस्किल छ । आजकल बाटोमा हिँड्दै गर्दा वेलाबखत लाग्ने गर्छ, आखिर यी कुकुर साँच्चैमा के खाएर बाँचेका छन् ? शान्त भएर कसैलाई नटोकी, नभुकी बसेका वेलामा पनि कतिपय मानिसमा कुकुरसँग डराउने त कोहीमा त्यत्तिकै रिसाएर लात्ताले हिकार्उने प्रवृत्ति छ । अझ मोटरसाइकल र गाडी चालकमा भने सडकछेउमा बसेका कुकुरलाई पनि किचुँलाझैँ गरेर गाडी कुदाउने प्रवृत्ति छ ।

पोथी माउ भँगेरा र परेवा अन्डा त पार्छन्, तर तिनले पारेका अन्डा अडिने ठाउँ र गुँड नभएर भुइँमा खसी फुट्ने गरेका छन् । सामान्य लाग्ने यिनै कारणले विकराल रूप लिँदा काठमाडौंमा भँगेरा लोप हुने अवस्थामा छन् । तारमा र अप्ठ्यारो भित्तामा रातभर उभिएर बस्न बाध्य परेवाको दैनिकी साँच्चै टिठलाग्दो छ ।

काठमाडौंमा भएको अर्को प्राणी हो बाँदर । बाँदर घरपालुवा त होइन, तर सयाैँ वर्षदेखि पशुपति मन्दिर र वरपरको जंगल, थापाथलीको कालमोचन मन्दिर, स्वयम्भूनाथ स्तूपा वरपर बाँदरका केही झुण्ड स्थायी रूपले बसोवास गर्दै आएका छन् । सहर बढेसँगै काठमाडौंमा यी बाँदरको वासस्थान साँघुरिँदै गएको छ ।

पशुपति र स्वयम्भू क्षेत्रवरपरबाट आजकल महानगरपालिकामा बाँदरका सम्बन्धमा उजुरी पर्ने गरेका छन् । एक–दुईपटक त बाँदरलाई नियन्त्रण गर्नुपर्‍यो भनेर सर्वोच्चमा रिट पनि परिसकेको छ । यी उजुरी र रिट परेको सुन्दै गर्दा अचम्म लाग्छ– बाँदरहरू सयौँ वर्षदेखि बस्दै आएको ठाउँ वरपर गएर रुख मासी मानिस बस्न थालेका छन् अनि बाँदरले हैरान पारे भनेर फेरि मानिसले नै उजुरी गरिरहेका छन् । रुख नभएर, खेल्ने ठाउँको अभावमा बाँदर पनि अवश्य रुखो भएको हुनुपर्छ । जंगल भएको भए बाँदरको पनि वासस्थान मासिने थिएन ।

अब चराबारे चर्चा गरौँ । पहिले–पहिले काठमाडौंमा माटो, इँटा र काठले बनेका घर हुन्थे । घरका छानामुनि खोपामा परेवा र भँगेरा बस्न मिल्ने ठाउँ हुन्थे । काठमाडौं नै भए पनि यहाँ धानका खेत थिए । गाईवस्तुका टौवा थिए । कागले गुँड पार्न मिल्ने वरपर अग्ला–अग्ला रुख हुन्थे । सहर नै भए पनि ठाउँ–ठाउँमा फूल, झाडी र चउर थिए । तर, हिजोआज ती सबै लोप भइसके ।

पुराना माटो, इँटा र काठले बनाइएका घर भत्काएर कंक्रिटले बनेका घर बन्न थाले । चउर मासिएका छन् र अग्ला रुख पनि अधिकांश काटिएका छन् । केही मन्दिर छाडेर अन्त कतै परेवा र भँगेरालाई बस्ने ठाउँ पनि छैन । पोथी माउ भँगेरा र परेवा अन्डा त पार्छन्, तर तिनले पारेका अन्डा अडिने ठाउँ र गुँड नभएर भुइँमा खसेर फुट्ने गरेका छन् ।

सामान्य लाग्ने यिनै कारणले विकराल रूप लिँदा काठमाडौंमा भँगेरा लोप हुने अवस्थामा छन् । तारमा र अप्ठ्यारो भित्तामा रातभर उभिएर बस्न बाध्य परेवाको दैनिकी साँच्चै टिठलाग्दो छ । फोहोर र सिनो व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने काग पनि रुख र बाँसका झ्याङ काटिँदै जाँदा र गुँड बनाएर वास बस्ने ठाउँ नै नपाउँदा यिनको भविष्य पनि अनिश्चित नै छ । 

यी पशुपन्छीबारे निकै कम सोचिएको छ । सदियौँदेखि यो क्षेत्रमा बस्दै आएका यी पशुपक्षी कंक्रिटको जंगलमा आफ्नो जीवन–मरणको दोसाँधमा उभिएका छन्, तर उनीहरूबारे कसैले पनि चिन्ता गरिरहेको छैन । पशुपक्षीको जीवनसँगै मानिसको जीवन पनि गाँसिएको छ भनेर हामीले कहिले बुझ्ने ? स्पष्ट कुरा के हो भने सहर जति मानिसको हो, त्यति पशुपक्षीको पनि हो । तपाईं –हामी स्वस्थ छौँ, फुर्तिला छौँ, पढेलेखेका छौँ र खुसीसाथ आफ्नो परिवारमा बसेका छौं ।

तर, हामी हिँड्ने सडकमा गाईको सानो बाच्छो भोकाएर, तिर्खाएर रुदै आफ्नो माउ खोजिरहेछ । बाँदरको एउटा सानो बच्चा झुसे भएर एउटा पुरानो भत्किन लागेको सत्तलमा बसेको छ, उसको वरपर कतै रुख र खेल्ने लहरा छैनन् । एउटा माउ कुकुरले केही दिनअघि मात्र ६–७ वटा छाउरा पाएको छ, साना छाउरा माउको दूध पिउन तँछाडमछाड गरिरहेका छन्, तर केही पनि पोषिलो खान नपाएकाले दुब्लाएको माउको थुनबाट दूध नै आएको छैन । यस्ता दृश्य देख्दा हामी जति सम्पन्न भए पनि हाम्रो हृदयमा अवश्य प्रश्न खेल्नुपर्ने हो । हाम्रो सम्पन्नता र वैभवताको तलाउमा त्यो दृश्यले जरुर तरंग ल्याउनुपर्ने हो, तर हामी अझै तरंगित भएका छैनौँ ।

काठमाडौंमा मानिसको कल्याण गर्न नसकेको सरकारले पशुपक्षीको कल्याण कसरी गर्न सक्ला भन्ने प्रश्न उठ्न सक्छ ? यहाँ एउटा उदाहरण प्रासंगिक हुन्छ– केही दिनपहिले म माइतीघरबाट थापाथलीतर्फ जाँदै थिएँ । बाटोकिनार फुटपाथमा दिउँसो प्रदर्शनकारीलाई फोहोरा हान्दा भुइँमा जमेको अलिकति पानी बाँकी रहेछ । माघ महिना भए पनि त्यो दिन घाम राम्रै लागिरहेको थियो । बाटो फुटपाथमा मानिस खासै हिँडिरहेका थिएनन् ।

फुटपाथमा जमेको पानीछेवैमा केही भँगेरा आएर सुरुमा पानी पिए, अनि केही बेरपछि त्यहीँ चुलबुल गर्दै नुहाएर गए । आखिर एक अँजुली जमेको पानीले पनि तिर्खा मेट्दो रहेछ र नुहाउन पुग्दो रहेछ । काठमाडौंमा रहेका पुराना पोखरी पुनः व्यवस्थित गर्ने, यहाँका अव्यवस्थित र खुला ठाउँलाई सफा गरी चउर, पार्कमा रूपान्तरण गर्ने, अधिकांश ठाउँमा रुख रोप्ने र मानिसले उपभोग गरी बचेका खानेकुरा ताजा रहँदै पशुपक्षीलाई बाँडिदिने हो भने सडकमा बस्दै आएका पशुपक्षीका आधाभन्दा धेरै दुःख निराकरण भएर जान्छ । यसका लागि हाम्रो सोच परिवर्तन हुन आवश्यक छ ।