मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
रमेश रावल विरेन्द्रनगर
२०७७ फाल्गुण १६ आइतबार ०५:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सात दिनदेखि चिसो भुइँमा रात

Read Time : > 2 मिनेट
रमेश रावल, विरेन्द्रनगर
२०७७ फाल्गुण १६ आइतबार ०५:३५:००

एक छाक खाएर मुख्यमन्त्री कार्यालयअगाडि बादी समुदायको दिनहुँ धर्ना,  पाँच सय मिटर दूरीमा निवास रहेका मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म चासो दिएनन् ।

शनिबार बेलुकीको ९ बजे । डम्म बादल लागेको आकाशलाई छानो बनाएर बादी समुदाय सुत्ने तरखर गर्दै छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको चौरमा यसरी खुला आकाशमुनि उनीहरूको यो छैटौँ वास हो ।

दिनभरि धर्ना बसेका उनीहरूले ओत लाग्ने ठाउँ कहीँ पाएका छैनन् । त्यसैले शीत, झरी, ठण्डीको केही परबाह नगरी बादी समुदायका करिब दुई सयजना यहाँ रात कटाइरहेका छन् । दुई सयमध्ये ७० भन्दा बढी बालबालिका र वृद्धवृद्धा छन् । उनीहरूको शिर लुकाउने थलो पनि यही खुला आकाश बनेको छ । 

‘रात छिप्पिँदै जाँदा चिसो थामिनसक्नु हुन्छ र शरीर काम्न थाल्छ,’ चिसो भुइँमै पुराना केही कपडा ओछ्याएर सुत्ने तरखर गर्दै गरेकी कमला बादी (३५)ले भनिन्, ‘भुइँमान्छेको वास आखिर भुइँमै हुने रहेछ ।’ हुन पनि उनले भनेजस्तै भएको छ । कर्णाली सरकारसँग गाँस, वास र कपास माग्न दैलेखदेखि आएका उनीहरू गत सोमबारदेखि यही चिसो भुइँमा छन् ।

दिनभरि मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिन्छन्, रातभर खुला चौरमा पल्टिन्छन् । न बाक्लो ओछ्यान, न न्यानो ओढ्ने, न शीत छल्ने छानो । दैलेख नारायण नगरपालिका– १ बाट आएकी कमलाले थपिन्, ‘सधैँ गरिबी र अभाव झेल्दै आएका हामीलाई न सरकारले हेर्दोरहेछ, न समाजले ।’

पाँच सय मिटरको दूरीमा मुख्यमन्त्री र मन्त्रीहरूको सरकारी आवास छ । मुख्यमन्त्री र मन्त्रीहरू मात्र होइनन्, त्यहाँ कर्णाली प्रदेशका सांसद तथा अन्य विशिष्ट सरकारी कर्मचारीको आवास छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनका मन्त्रीलाई लालाबालासहित चिसो भुइँमा सुतिरहेका बादीतिर हेर्ने फुर्सद छैन ।

उनीहरू सरकारी आवासको ओछ्यान र भोजनमा मस्त छन् । तर, शनिबार बेलुका पनि बादी समुदायका अधिकांशको चुलो बलेन । ‘यहाँ बस्न थालेपछि एक छाक मात्र खाएका छौँ, त्यो पनि केहीले सहयोग गर्नुभएको थियो । सहयोग गरेको खाद्यान्न सकियो, बेलुकी खाना नखाई सुत्न लागेका छौँ,’ कमलाले भनिन् । 

दैलेखको दुल्लु नगरपालिकामा बसोवास गर्दै १६ जनाको परिवारसहित आएकी भूमि बादीले पनि शनिबार एक छाक मात्र खाएको बताइन् । ‘एक छाक खाना खान्छौँ, एक छाक खाँदैनौँ । कसैले दिए खाने हो, नदिए कहाँबाट खाउँ । राम्रोसँग पानी पिउन पनि पाएका छैनौँ ।’ 

चिसो छल्न साना नानीबाबुहरू आगो बालेर ताप्दै थिए । दैलेख डुंगेश्वर गाउँपालिका– १ की सात वर्षीया बालिका सीता बादीको शरीरमा पातलो एकसरो कपडा थियो । लुगलुग काम्दै गरेकी उनले चिसोमा सुत्न नसकेर आगो तापेको बताइन् ।
सात दिनदेखि आन्दोलनरत उनीहरूका माग सुन्न सत्तासीन दल नेकपाका मात्र होइन, प्रतिपक्षी कांग्रेसका नेता पनि आएका छैनन् ।

विभिन्न आन्दोलन र चुनावका वेला नेताहरूले जुलुसमा हिँडाउने गरेको, तर अहिले कोही नआएको प्रेम बादीले गुनासो गरे । ‘आन्दोलन गर्न, समर्थन गर्न, नारा–जुलुस लगाउन हामीलाई बोलाउँछन्,’ चिसोमा काँप्दै गरेका उनले भने, ‘हामी गाँस र वास मागेर भोकभोकै आन्दोलन गर्दा कुनै राजनीतिक दलका मानिस आएका छैनन् ।’

बादी संघर्ष समितिका हिक्मत बादीले खुला चौरमा बसिरहेका बादी समुदायलाई शौचालयको समस्या रहेको बताए । खुला दिशामुक्त क्षेत्रमा दिसापिसाबको समस्या रहेको हिक्मतले बताए । ‘खुला दिसामुक्त क्षेत्र हो । अहिले हामी सामान्य पाल टाँगेर बसेका छौँ,’ उनले भने, ‘खानेपानी नभएको ठाउँमा शौच गर्ने पानी पाउन समस्या रहेको छ ।’ 

आफ्नै समुदायका जनप्रतिनिधि पनि आएनन्
आन्दोलनरत बादी समुदायले आफ्नै समुदायबाट प्रदेश तथा अन्य क्षेत्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि आन्दोलनमा नआएको गुनासो गरेका छन् । ‘अन्य समुदाय छाडिदिउँ, आफ्नै समुदायका सांसदसमेत भेट्न आएका छैनन् । उहाँहरूले हामीबाटै भोट लिएर गए पनि सयौँ घरपरिवार खुला आकाशमुनि बसिरहँदा सहानुभूति प्रकट गर्नसमेत आएका छैनन्,’ भूमिका बादीले भनिन्, ‘उहाँहरू यहाँ आउनुपथ्र्यो । हाम्रा गुनासा सुन्नुपथ्र्यो । हाम्रा मागबारे सरकारलाई झकझकाउनु पथ्र्यो ।’ 

कर्णाली प्रदेश सभामा दलित समुदायका ६ सांसद छन् । सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरू रातो कामी, दानसिंह परियार, झोवा कामी छन् । उनीहरू कोही पनि अहिलेसम्म पुगेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य विष्णु बादीले सांसदहरू बादी समुदायको मागप्रति गैरजिम्मेवार भएको आरोप लगाए । ‘भोट माग्न उहाँहरू आउनुहुन्छ, फकाउनुहुन्छ । तर, हामीलाई समस्या परेको समयमा कोही पनि आउँदैनन्,’ उनले भने, ‘आगामी चुनावमा हाम्रो भोट उहाँहरूलाई नचल्ने नै हो त ?’ 

बादी समुदायका माग तत्काल सम्बोधन गर्नुपर्ने दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय महासचिव जेबी विश्वकर्माले बताए । ‘उहाँहरूको जीवन जोगाउने जिम्मा सरकारको हो । बादी समुदायका मागप्रति राज्य उदासीन भएको मैले महसुस गरेको छु,’ उनले भने, ‘बादी समुदायका लागि कृषियोग्य जमिनका साथै एकीकृत बस्तीमा बसाउन आवश्यक छ । संघीय सरकार होस् वा प्रदेश वा स्थानीय सरकार होस्, उहाँहरूको माग तत्काल सम्बोधन होस् ।’

सशक्त आन्दोलन गर्ने चेतावनी
मुख्यमन्त्रीसँग शुक्रबारको वार्ता असफल भएपछि बादी समुदाय सशक्त आन्दोलनको तयारीमा जुटेको छ । कृषियोग्य जमिनको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ । २५ वर्षदेखि आफूहरू झुपडीमा बस्दै आएको भन्दै उनीहरूले माग पूरा नभए वर्षौँ यही स्थानमा बस्न तयार रहेको उनीहरूले बताए । कमला बादीले भनिन्, ‘हामीलाई खेती गर्न कृषियोग्य जमिन चाहियो । लसुन लगाउने बारीसम्म छैन । खेतीयोग्य जमिन भए खेती गरेरै खान्छौँ, गुजारा गर्छौँ, कसैको निगाहमा जीवन चलाउनुपर्ने थिएन ।’