मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धार्चे गाउँपालिका–७ लापुमा रहेको प्रभातकिरण मावि
२०७७ फाल्गुण १३ बिहीबार ०९:१२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामुदायिक विद्यालयमा शिक्षकलाई  तलब खुवाउन अभिभावकसँग शुल्क 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १३ बिहीबार ०९:१२:००

सरकारले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, उत्तरी गोरखाका केही सामुदायिक विद्यालयले शिक्षकलाई तलब खुवाउने नाममा अभिभावकसँग पैसा उठाउने गरेका छन् । धार्चे गाउँपालिका–७ लापुको प्रभातकिरण मावि र कालरात्रि माविले अभिभावकसँग चन्दा उठाउँदै आएको छ । अभिभावकलाई स्वैच्छिक रूपमा केही रकम सहयोग गर्न मिल्ने भए पनि बारम्बार सहयोग मागेर बाध्य बनाउन नमिल्ने शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्रमुख खेमराज पौडेल बताउँछन् । 

‘अभिभावकलाई इच्छा लागेर दिनु छुट्टै कुरा हो, तर बाध्य बनाएर पटक–पटक चन्दा असुल गर्न मिल्दैन,’ उनले भने । शिक्षा एकाइ प्रमुख पौडेलले यसो भने पनि प्रभातकिरण र कालरात्रि माविले आफूहरूसँग पैसा उठाइरहेको ती विद्यालयमा छोराछोरी पढाउने अभिभावकले बताएका छन् । 

विद्यालयले भने निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन शुल्क लिनैपर्ने बाध्यता रहेको बताएको छ । प्रभातकिरण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरोज गुरुङले निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन मुस्किल रहेकाले अभिभावकसँग सहयोग माग्ने गरेको बताए । 

‘विद्यालयमा गुणस्तरीय शिक्षाका लागि निजी स्रोतबाट तीनजना शिक्षक राखेका छौँ,’ उनले भने, ‘उनीहरूलाई मासिक रूपमा करिब ३५ हजार तलब दिनुपर्छ, अन्य आयस्रोत केही छैन । त्यसैले अभिभावकबाट उठेको पैसाले नै उनीहरूलाई तलब दिने गरेका छौँ ।’ विद्यालयको आवश्यकताअनुसार सरकारले शिक्षक व्यवस्था नगरेकाले अभिभावकबाट चन्दा संकलन गर्नुपरेको उनको भनाइ छ । 

प्रभातकिरणले लिन्छ मासिक डेढ सय
व्यवस्थापन समितिका अध्यक्ष गुरुङका अनुसार विद्यालयले स्थानीय ८१ घरधुरीबाट प्रति घरधुरी एक सय ५० को दरले शुल्क संकलन गर्दै आएको छ । स्थानीय सरकारसँग आवश्यक दरबन्दीका लागि पटक–पटक पत्राचार गर्दा पनि बेवास्ता भएपछि यो उपाय निकालिएको उनको भनाइ छ । ‘निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन अभिभावकसँग चन्दा उठाउनु हाम्रो बाध्यता बनेको छ,’ प्रभातकिरण माविका सहायक प्रधानाध्यापक श्यामबहादुर नेपालीले भने, ‘त्यसरी पैसा उठाउनु वैधानिकता होइन, तर विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यताले हामीले यसो गरेका हौँ ।’

कालरात्रिले लिन्छ मासिक ४ सयसम्म
कालरात्रि माविका सहायक प्रअ सूर्य विश्वकर्माले पनि निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन अभिभावकसँग शुल्क उठाउनुपरेको दाबी गरे । ‘माविमा इसिडीदेखि १० कक्षासम्म चलाउन सरकारको दरबन्दीले मात्रै पुग्दैन,’ उनले भने, निजी स्रोतबाट पनि शिक्षक राख्नुपर्ने हुन्छ, त्यसका लागि अभिभावकसँग सहयोग शुल्क भनेर लिने गरेको हो ।’ स्थानीय ९४ घरधुरीबाट मासिक दुईदेखि चार सयसम्म शुल्क लिने गरेको उनले बताए ।

गाउँपालिकाकी शिक्षा शाखा प्रमुख मञ्जु पौडेलले विद्यालयमा दरबन्दीअनुसार शिक्षकको परिपूर्तिका लागि पहल भइरहेको बताइन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार विद्यालयहरूमा शिक्षक पदपूर्ति गर्ने काम भइरहेको उनले बताइन् । धार्चेमा केही महिनाभित्र प्राविका तीन र निमाविका १० जना शिक्षकका लागि दरबन्दी आउने सम्भावना रहेको उनले बताइन् ।