मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण ११ मंगलबार ०९:०४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इलाममा डाइलाइसिस मेसिन जडान

पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बिरामीले पनि इलामबाटै सेवा पाउने

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार ०९:०४:००

इलाम अस्पतालबाट मिर्गौलारोगीहरूलाई सेवा दिने गरी डाइलाइसिस मेसिन जडान गरिएको छ । पूर्वी पहाडी जिल्लाहरूमै पहिलोपटक इलाममा त्यस्तो सेवा दिन लागिएको हो । नगरपालिका र रोटरी क्लब धरानको सहयोगमा डाइलाइसिस मेसिन जडान गरिएको हो । 

इलाम अस्पतालमा डाइलाइसिस मेसिन जडान भएपछि नियमित रूपमा डाइलाइसिस गराउनुपर्ने मिर्गौलारोगीहरूलाई टाढाको अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । यसका लागि ४३ लाख ७५ हजार रुपैयाँ लगानी भएको छ । मेसिन खरिदका लागि इलाम नगरपालिकाले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम रोटरी क्लब धरानको पहलमा जुटाइएको हो ।

मेसिन सञ्चालनका लागि इलाम नगरपालिकाले एकजना जनशक्तिको खर्च व्यहोर्नेछ भने बाँकी जनशक्तिको व्यवस्थापन जिल्ला अस्पताल इलामले गर्नेछ । जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा मेसिन जडान गरिएको छ । डाइलाइसिस गराउने ठाउँ जिल्ला समन्वय समितिले निःशुल्क उपलब्ध गराएको छ । 

मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिलाई तालिम गराएपछि सेवा सुरु गरिनेछ । ‘दुई स्वास्थ्यकर्मीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा तालिम गराएपछि मिर्गौलारोगीको डाइलाइसिस सुरु हुन्छ,’ रोटरी क्लबका कृष्ण शाहले भने, ‘तालिम गराउने विषयमा प्रतिष्ठानसँग सम्झौता भइसकेको छ ।’ जिल्ला अस्पताल इलामले तालिममा पठाउने जनशक्तिको छनोटसमेत गरिसकेको छ । 

एउटा डाइलाइसिस मेसिनबाट चार घन्टामा एकजनाले सेवा लिन सक्नेछन् । तीनवटा मेसिन भए पनि एकपटकमा दुईजनालाई मात्रै सेवा दिन सकिने जिल्ला अस्पताल इलामका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘एकपटकमा दुईजना बिरामीलाई सेवा दिन सकिन्छ,’ उनले भने, ‘एउटा मेसिन स्पायर राख्नुपर्ने हुन्छ ।’ 

पूर्वी पहाडी जिल्लाका बिरामीलाई राहत
सेवा सुरु भएपछि इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बिरामीले इलामबाटै सेवा पाउनेछन् । इलाम अस्पतालमा सेवा सुरु भएपछि नियमित डाइलाइसिसका लागि तराई तथा काठमाडौंमा जानुपर्ने बाध्यता टर्नेछ । अहिले तीनवटा मेसिन जडान भएपछि निकट भविष्यमा नै सातवटा मेसिन थप गरेर १० वटा बनाइने इलाम नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघ एक नम्बर प्रदेशका संयोजकसमेत रहेका महेश बस्नेतले बताए । 

‘हामी चाँडै सातवटा मेसिन थपेर १० वटा पुर्‍याउँदै छौँ,’ नगरप्रमुख बस्नेतले भने, ‘जर्मन राजदूतावासले नेपाल नगरपालिका संघमार्फत दुई सयवटा डाइलाइसिस मेसिन दिने भएको छ । त्यसमार्फत प्राप्त सातवटा मेसिनका लागि हामीले आग्रह गरेका छौँ ।’ इलाममा मिर्गौलारोगीका लागि आवश्यक पर्ने डाइलाइसिसका लागि उपकरण जडान भएपछि यसले मिर्गौलारोगपीडितको जीवनलाई सरल, सहज र लामो बनाउन सहयोग पुग्ने बस्नेत बताउँछन् । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले डाइलाइसिस गर्ने उपकरण इलाममा जडान भएपछि पूूर्वी पहाडी क्षेत्रका बासिन्दाले ठूलो राहत मिल्ने बताए । ‘डाइलाइसिस गराउनकै लागि तराईमा भएका अस्पताल या राजधानी जानुुपर्ने बाध्यता थियो, यसले अब त्यस्तो बाध्यता हटाउँछ,’ प्रमुख बरालले भने ।

जिल्ला अस्पतालमा अहिले पनि विशेषज्ञ चिकित्सकलगायतका जनशक्तिको अभाव रहेको भन्दै उनले अन्य जिल्ला अस्पतालको तुलनामा इलाममा जनशक्तिको अवस्था राम्रो रहेको बताए । जिल्ला अस्पतालमा केही समयअघि मात्रै दुईवटा भेन्टिलेटर जडान गरिएको छ । अर्को एउटा भेन्टिलेटरसमेत जडानको अन्तिम चरणमा रहेको बताइएको छ । यसअघि जिल्ला अस्पतालमा भेन्टिलेटर सुविधा थिएन ।