१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०६:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा दोहोरो अंकको गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०६:५३:००

आइतबार हालसम्मको उच्च बिन्दु छोएको नेप्से परिसूचकमा सोमबार भने गिरावट आएको छ । बजार खुल्दा अघिल्लो दिनको भन्दा माथिबाट खुले पनि त्यसपछि लगातार घट्दो प्रवृत्तिमा देखियो । कारोबारको मध्यमा एकपटक सामान्य वृद्धिको प्रयासमा देखिएको नेप्से सफल हुन सकेन । 

नेप्से परिसूचक ३२ दशमलव ६७ अंक अर्थात् १ दशमलव २४ प्रतिशतले घटेर २ हजार ६ सय ७ बिन्दुमा आइपुगेको छ । केही दिनदेखि लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्षित हुँदा यो समूहगत परिसूचक बढे पनि अन्य समूहगत परिसूचक भने घटेका छन् । बैंकिङ क्षेत्र बढ्ने अपेक्षामा रहेका लगानीकर्ता भने निराश देखिएका छन् । 

बजारमा सूचीकृत ३८ मध्ये १७ वटा जलविद्युत्को मूल्य बढेपछि यो समूहगत परिसूचकमा सबैभन्दा धेरै २ दशमलव २६ प्रतिशतले वृद्धि भएको हो । आँखु खोला जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलोपर्सलगायतका कम्पनीको सेयर मूल्य बढेको हो । आँखु खोलाको मूल्य बढेर यस दिन सर्किट ब्रेक नै लागेको छ ।

गत आवको दोस्रो त्रैमासमा ९१ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीको चालू आवको यही अवधिमा ४० लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, कम्पनीको सञ्चित नोक्सान २५ करोड ५७ लाख रुपैयाँ छ । यो नोक्सान २२ करोडबाट बढेको हो । लगानीकर्ताले कम्पनीको मूल्यलाई मात्र प्राथमिकतामा राखेको देखिन्छ । यो क्षेत्रमा मूल्य कम रहेका कम्पनीहरूमध्ये यो कम्पनी पनि एक हो ।

जलविद्युत् समूहसँगै ‘अन्य’ समूहगत परिसूचकमा समेत वृद्धि भएको छ । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) र चन्द्रागिरिलगायतकाको मूल्य बढेसँगै यो समूहमा वृद्धि भएको हो । प्राथमिक सेयर निष्कासनयता दुवै कम्पनीको मूल्य दैनिजसो वृद्धि भइरहेको छ ।

निफ्राको ३२ करोड रुपैयाँको सेयर कारोबार हुँदा एउटै ब्रोकर भृकुटी स्टक ब्रोकिङ (५५ नम्बर) बाट मात्रै १० करोड रुपैयाँभन्दा धेरै रकमको सेयर खरिद भएको छ । १० प्रतिशतले नै मूल्य बढेर सर्किट ब्रेक लागेको निफ्रामा पछिल्लो समय संस्थागत लगानीकर्ताले समेत सेयर खरिद बढाइरहेका छन् । 

यस दिन व्यापारमूलक र बैंकिङ समूहगत परिसूचकमा सबैभन्दा धेरैले गिरावट आएको छ । व्यापारमूलक समूहको एक मात्र सक्रिय साल्ट ट्रेडिङको मूल्य घटेको हो । त्यस्तै, बैंकिङ समूहको सेन्चुरी, सिभिल, मेघा बैंकलगायत अधिकांशको मूल्य घटेको छ । 

यस दिन कारोबार रकम केही घटेर ८ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । यद्यपि, यो औसत दैनिक करोबार रकमभन्दा धेरै हो । २ सय ७ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा ४३ को भने मूल्य बढेको, १ सय ५२ को घटेको र बाँकीको स्थिर छ ।