मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
असाद डान्दिया
२०७७ फाल्गुण ९ आइतबार ०९:०७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

न्युयोर्क श्रमिकको सहर हो

‘असली न्युयोर्कवासी’ को हुन् भन्ने बहसमा न्युयोर्कका श्रमिक वर्ग र आप्रवासी प्रायः छुट्ने गर्छन् 

Read Time : > 2 मिनेट
असाद डान्दिया
२०७७ फाल्गुण ९ आइतबार ०९:०७:००

मेरा पितालाई खोप लगाउन अनलाइन बुकिङ गर्नुअघि मैले यो प्रक्रिया यति जटिल होला भन्ने सोचेको थिइनँ । मेरा पिता अत्यावश्यक क्षेत्रसँग जोडिएका कामदार हुन् र उनमा पहिलेदेखि दीर्घरोग छ । वयोवृद्ध उमेरका र पर्याप्त अध्ययन नगरेकाले मेरा पितामा प्राविधिक ज्ञान त्यति छैन । आप्रवासीका हिसाबमा मेरा दुवै अभिभावकलाई अंग्रेजी राम्ररी आउँदैन । यही कारणले उनीहरूलाई सहरको स्वास्थ्य, शिक्षा, श्रम र राजनीतिक कर्मचारीतन्त्रको सामना गर्नुपर्ने वेला मजस्ता युवाले सघाइदिनुपर्छ । 

पिताका लागि खोपको बुकिङ गर्ने समयमा यो सहरमा मेरा पिताजस्तै अवस्थाका अन्य हजारौँ मानिस हुन सक्ने कुराको होस आयो । अमेरिका र सम्भवतः विश्वकै आर्थिक तथा सांस्कृतिक राजधानी मानिने न्युयोर्क सहरमा खोप लगाउन यस्तो कठिनाइ रहेको देख्दा सुरुमा त मलाई विश्वास गर्न पनि गाह्रो भयो । महामारीको पहिलो लहर अमेरिका पुग्दा न्युयोर्क कोरोना भाइरसको एपिसेन्टर बनेको सन्दर्भमा खोप वितरणमा झन् सहजता अपनाइनुपथ्र्यो । 

भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनको चहलपहलपछि यस सहरमा मेयरको चुनावको चहलपहल सुरु भएको छ । अमेरिकाको सांस्कृतिक केन्द्र र आर्थिक पावरहाउस भएको र देशका सबैभन्दा ठूला मिडियाको मुख्यालय भएकाले न्युयोर्क सहरको मेयर छनोटबारे देशव्यापी चर्चा हुने गर्छ ।

पूर्वराष्ट्रपतीय उमेदवार एन्ड्रु याङको प्रवेशले ट्विटरमा ‘असली न्युयोर्कवासी’ को हुन् भन्ने बहस सुरु भएको छ । तर, यो प्रश्नले जति विषय उजागर गर्छ, त्योभन्दा धेरै कुरा ढाकछोप गर्ने गर्छ । को न्युयोर्कवासी हो, को होइन भन्ने मापदण्ड तय गर्ने अधिकार कोसँग छ ? सन् १९९० को दशकमा ब्रुकलिनमा जन्मिएको म निरन्तर सोही स्थानमा बस्दै आएको छु । मेरो बस्तीमा बस्नेहरू आप्रवासी समुदायका हुन् । त्यस्ता स्थानमा आफूलाई आवश्यक पर्ने प्रार्थना स्थल, विद्यालय, क्लिनिक, सुपरमार्केटजस्ता सबै कुरा दश घरको दूरीमा पाइने भएकाले बाहिर धेरै निस्किनुपर्ने आवश्यकतै हुँदैन । 

न्युयोर्कमा मेरो जस्तै सामुदायिक बस्ती दर्जनाैँ छन् । धेरै सामुदायिक बस्तीमा अश्वेत–अमेरिकी र खैरा अल्पसंख्यकको बसोवास छ । तर, विडम्बना ! हरेक ठूला विपत्मा यस क्षेत्रका बासिन्दा सबैभन्दा बढी प्रभावित हुने गर्छन् ।  मैले आफ्नो जीवनकालमा न्युयोर्क सहरलाई आइपरेका चार ठूला विपत् देखेँ– सन् २००१ सेप्टेम्बर ११ को आक्रमण, सन् २००८ को स्टक बजार संकट, सन् २०१२ को स्यान्डी आँधी र अहिलेको कोभिड–१९ ।

हरेक सहरका आफ्नै विशिष्टता हुन्छन्, अन्तर्राष्ट्रिय रूपमा न्युयोर्क ‘बाक्लो छाला’ भएको सहरको रूपमा परिचित छ । 

यीमध्ये पहिलो संकटमा मेरा बस्तीका केही डिपोर्ट गरिए, दोस्रो आर्थिक संकटमा धेरैले रोजगारी गुमाए, स्यान्डी आँधीबाट घर गुमाउनेको संख्या ठूलो थियो भने अहिले कोरोनाबाट थुप्रैले ज्यान गुमाएका छन् । हरेक सहरका आफ्नै विशिष्टता हुन्छन् । न्युयोर्कको अन्तर्राष्ट्रिय रूपमा चिनिने केही चरित्र छन् ।

जस्तो हामीलाई ‘बाक्लो छाला’ भएको सहर भन्छन् । न्युयोर्कको सहरी संस्कृति कठोर, नटुट्ने र निरन्तर लागिरहने प्रकृतिको छ । र, यो सहरको अर्को अक्सर बिर्सिने स्वभाव हो– यो सहर असली मानिसको सहर हो । जसमा गरिब र श्रमिक, काला र खैला, आप्रवासी र शरणार्थी पर्छन् ।

न्युयोर्कबारे मिडियामा हुने बहसमा अवलोकन गर्ने हो भने सहरको यो चरित्रप्रति सामान्य मात्र उल्लेख हुने गर्छ । त्यसैले त कोरोना भाइरसको एपिसेन्टर हुँदा ‘न्युयोर्कको अवसान त भइसकेन ?’ भन्ने प्रश्न उठ्छ । खासमा यो प्रश्नले सहरको भन्दा पनि प्रश्नकर्ताको चरित्र दर्साउँछ । सहरको अवसान हुँदो हो त मेरो बस्ती कसरी अस्तित्वमा रहिरहन्छ ? 

न्युयोर्कसम्बन्धी बहसमा सामान्यतया न्युयोर्कवासी नै छुटाइन्छन् । यी न्युयोर्कवासी, जो महामारीले सहरलाई पूर्ण प्रभावित बनाउँदा पनि यहीँ बसिरहेका थिए र महामारीको अन्त्यपछि पनि यहीँ नै बसिरहेका छन् । कतिजना श्रमिकले आफ्नो नाम सरकारी खातामा नभएकाले सहयोग रकम पाउन सकेनन् ? र, स्वास्थ्य क्षेत्रको जटिल प्रक्रियाका कारण कति जीवन बचाउने खोप पाउनबाट वञ्चित हुनेछन् ?

हामी ‘साँचो न्युयोर्कवासी’ वा ‘न्युयोर्कको अवसान भयो÷भएन’ जस्ता सांस्कृतिक विषयमा भन्दा न्युयोर्कमा बस्ने सामान्यजनको भौतिक स्थितिमा बढी केन्द्रित हुनुपर्छ । सांस्कृतिक बहसमा हाम्रो अडान जे भए पनि न्युयोर्क सबैको हो भने पहिले यसले आफ्ना श्रमिकलाई ध्यान दिनुपर्छ । 
(डान्दिया शिक्षाविद् हुन्)अलजजिराबाट