मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ली हेदोङ
२०७७ फाल्गुण ४ मंगलबार ०९:३४:००
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको राजनीतिलाई लिएर विभाजित छ अमेरिका

Read Time : > 1 मिनेट
ली हेदोङ
२०७७ फाल्गुण ४ मंगलबार ०९:३४:००

ट्रम्पको राजनीतिक पुनरागमनको सम्भावना बाँकी रहेकाले डेमाक्रेट्सहरूले उनको फिर्ती रोक्नका लागि थप हत्कण्डा अपनाउने सम्भावना छ 

अमेरिकी सिनेटमा शनिबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो महाभियोग सुनुवाइमा मतदान भयो । डोनाल्ड ट्रम्प आफूमाथि लागेको आरोपबाट मुक्त भए । दोस्रो महाभियोगमार्फत डेमोक्रेटिक पार्टीले अमेरिकी जनतालाई डोनाल्ड ट्रम्प देशको राजनीतिक प्रणालीका लागि खतरनाक रहेको देखाउने प्रयास गरेको थियो । पछिल्लो महाभियोगले ट्रम्पप्रतिको धेरै अमेरिकीको धारणा प्रभावित हुनेछ र यसले ट्रम्पआबद्ध रिपब्लिकन पार्टीलाई पनि असर गर्नेछ । 

मतदान हुँदा सातजना रिपब्लिकन सिनेटरले पनि ट्रम्पलाई दोषी मान्नुपर्ने पक्षमा मत हाले । यो अमेरिकी इतिहासमा आफ्नै दलका राष्ट्रपति (वा पूर्वराष्ट्रपति) विरुद्ध सबैभन्दा धेरै सिनेटर उभिएको घटना हो । यस परिप्रेक्षमा परिणाम जे आए पनि डेमोक्रेट्सहरूले राजनीतिक उपलब्धि हासिल गरिसकेका छन् । 

ट्रम्पको राजनीतिक पुनरागमनको सम्भावना बाँकी रहेकाले डेमाक्रेट्सहरूले उनको फिर्ती रोक्न थप हत्कण्डा अपनाउने सम्भावना छ । ट्रम्पलाई पुनः चुनाव उठ्नबाट रोक्न डेमोक्रेट्सहरूले अमेरिकी संविधानको १४औँ संशोधनलाई पनि प्रयोग गर्न सक्छन् । उनीहरू यसमा पनि असफल हुन सक्छन् । तर, त्यसले ट्रम्पको राजनीतिक फिर्तीलाई नकारात्मक रूपमा प्रभावित बनाउनेछ । 

सामान्य अमेरिकीदेखि अमेरिकी राजनीतिक एलिटहरू ‘अमेरिकी हुनु’को परिभाषालाई कसरी परिभाषित गर्ने भन्ने विषयमा अन्योल छन्

महाभियोग मतदानलगत्तै ट्रम्पले जारी गरेको वक्तव्यमा भनिएको छ , ‘अमेरिकालाई महान् बनाउने आन्दोलन भर्खर सुरु मात्र भएको छ, म हाम्रा सबै जनताका लागि अमेरिकाको महानता हासिल गराउनेतर्फको असाधारण यात्रा जारी राख्न इच्छुक छु ।’ यस वक्तव्यमा व्यक्त भावनालाई ख्याल गर्दा ट्रम्पले भविष्यमा पनि चुनाव लड्ने चाहना राखेको देखिन्छ । अवसर आयो भने उनी पुनः राष्ट्रपति पदका लागि उठ्ने निश्चित छ ।

ट्रम्पप्रति अझै ठूलो संख्यामा मानिस बफादार देखिन्छन् । तिनलाई ‘मेक अमेरिका ग्रेट अगेन (अमेरिकालाई पुनः महान् बनाऔँ)’को नाराले अझै आकर्षित गर्छ । तर, ट्रम्पले सन् २०२४ मा राष्ट्रपति उठ्ने विषयमा केही कुराले अझै अवरोध पुर्‍याउने जोखिम कायमै छ । भविष्यमा चुनावमा उठ्न नदिने डेमोक्रेट्सको प्रयास ट्रम्पका अघि सबैभन्दा ठूलो अवरोध हुनेछ । सामाजिक सञ्जालमा पहुँच गुमाएपछि ट्रम्पको प्रभावमा के–कस्तो असर पर्नेछ भन्नेमा पनि धेरैको नजर हुनेछ । 

अन्य रिपब्लिकन नेताको कदम पनि निर्णायक ठहर्छ । यी सबै अवरोध पार गरेर पनि यदि ट्रम्प पुनः राष्ट्रपति पदका लागि उठे भने अमेरिकाको सामाजिक विभाजन तथा अराजकता थप गहिरिनेछ । रिपब्लिकन पार्टीभित्रका नेतासँग बलियो उमेदवार नदेखिएको अवस्थामा ट्रम्पलाई समर्थन गर्नुबाहेक अन्य विकल्प रहँदैन । आखिर हरेक पार्टीलाई बलियो उमेदवारको चाहना हुन्छ ।

तथापि उनको राष्ट्रपतिकालको अस्थिर चरित्र र अन्तिम समयमा क्यापिटल हिलमा भएको हुलदंगाले उनको जनमतमा क्षय गरायो । त्यसअतिरिक्त धेरै रिपब्लिकन नेतामा ट्रम्पप्रति मोहभंग भएको छ । जस्तो संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत रहेकी निक्की हेलीले क्यापिटल हिलको दंगाका लागि सार्वजनिक रूपमै ट्रम्पको आलोचना गरिन् । निकीजस्तै ट्रम्पप्रति राजनीतिक कारणले असन्तुष्ट रिपब्लिकन नेता धेरै छन् । 

‘खासमा यो महाभियोग सुनुवाइ डोनाल्ड ट्रम्पसँग सम्बन्धित नभएर हामी को हौँ भन्नेसँग जोडिएको छ,’ डेमोक्रेटिक पार्टीका प्रमुख प्रोसेक्युटर जेमी रास्किनले भने । तर, यो महाभियोग सुनुवाइले रस्किनले औँल्याएजस्तो जवाफ अमेरिकी जनतालाई दिएको छैन । अमेरिका अहिले कठिन अवस्थामा छ । सामान्य अमेरिकीदेखि अमेरिकी राजनीतिक एलिटहरू ‘अमेरिकी हुनु’को परिभाषालाई कसरी परिभाषित गर्ने भन्ने विषयमा अन्योलमा छन् । यसले अमेरिकामा जारी सांस्कृतिक युद्ध, पहिचानको संघर्ष र समग्र सामाजिक विभाजन कम हुनुको साटो थप गहिरिँदै जानेछ भन्ने देखाउँछ । 

(लेखक चाइना फरेक अफेर युनिभर्सिटीस्थित इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनसँग आबद्ध प्राध्यापक हुन्) 
ग्लोबल टाइम्सबाट