मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ३ सोमबार
  • Monday, 16 December, 2024
२o७७ फाल्गुण ३ सोमबार o३:३४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२० लाख खोप किन्ने सरकारको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण ३ सोमबार o३:३४:oo

सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको कुरा अझै टुंगिसकेको छैन । 

खोप खरिदको प्रस्तावसहितको फाइल स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले व्यवस्थापन महाशाखामा पठाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सचिव लक्ष्मण अर्यालले यस विषयमा थप छलफल गरिरहेका छन् । अर्थ मन्त्रालयले खोप खरिद गर्न दुई अर्ब विनियोजन गरिसकेको छ । 

भारतलाई बेचेकै मूल्यमै खोप उपलब्ध गराउन नेपालले सेरमलाई आग्रह गरेको छ । भारतले प्रतिडोज चार डलरमा खरिद गरेको थियो । तर, सेरमले नेपाललाई ढुवानी मूल्यसमेत गरेर प्रतिडोज साढे चार डलरमा मात्रै उपलब्ध गराउन सक्ने बताएको थियो । तर, पछिल्लो समय २० लाख डोज चार डलरकै मूल्यमा उपलब्ध गराउन कम्पनी सकारात्मक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

‘हाम्रोतर्फबाट सबै तयारी पूरा भएको छ, खोप उत्पादन गर्ने कम्पनीले चार डलरमा दिने औपचारिक निर्णय गरेपछि तत्काल ल्याउँछौँ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले भने । स्वास्थ्य मन्त्रालयले सोझै कम्पनीबाट खरिद गर्ने उनले बताए । 

हालसम्म नेपालमा ‘कोभिसिल्ड’बाहेक अन्य खोपले प्रयोगको अनुमति पाएको छैन । यसअघि भारत सरकारले १० लाख डोज यही खोप अनुदानमा उपलब्ध गराएको थियो । 

आइतबारदेखि सुरु भएको पहिलो चरणको दोस्रो अभियानमा दुई लाख ६२ हजार आठ सय ७६ जनालाई खोप लगाउने सरकारको योजना छ । पहिलो अभियानमा एक लाख ८७ हजार आठ सय २५ जनाले खोप लगाएका थिए । 

भारतले अनुदानमा दिएको १० लाख डोजभित्रबाटै दोस्रो अभियान चलिरहेको छ । चार लाख ३० हजारलाई अनुदानको खोप लगाउने सरकारको लक्ष्य रहेको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । 
पहिलो अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, नेपाल प्रहरी, सीमामा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी र पत्रकारलाई दोस्रो अभियानमा खोप दिइनेछ । पहिलो चरणको खोप अभियान १४ माघदेखि ११ दिनसम्म चलेको थियो ।