१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
विजयराज खनाल काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कर्जा ब्याज घट्यो, घटेन किस्ताकर्जा ब्याज घट्यो, घटेन किस्ता

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:१७:oo

बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको औसत ब्याजदर ११ प्रतिशतबाट ९ प्रतिशतमा ओर्लिएको छ । तर, ब्याजदर घटेको लाभ ग्राहकहरूले तत्काल पाउन सकेका छैनन् । राष्ट्र बैंकले मासिक किस्ता घटाउन नपाइने व्यवस्था गरेका कारण पनि कोभिडको प्रभावबाट गुज्रिरहेका व्यवसायीले तत्काल लाभ पाउन नसकेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बताए । उनले भने, ‘अहिले त कम किस्ता तिर्न पाउने हो भने उनीहरूलाई सजिलो हुने थियो ।’ 

एकीकृत निर्देशिका, २०७७ मा कर्जा नोक्सानी व्यवस्था स्पष्ट पार्दै राष्ट्र बैंकले परिवर्तनशील ब्याजदर भएका कर्जाको ब्याजदर परिवर्तन भएको कारणबाट कर्जाको समयावधि तथा किस्ता रकम परिवर्तन भएमा नोक्सानी व्यवस्था गर्नुनपर्ने उल्लेख छ । तर, ब्याजदर बढेर कर्जाको समयावधि तथा किस्ता संख्या थपिन गएमा वा ब्याजदर कम भई कर्जाको समयावधि तथा किस्ता संख्या घट्न गएमा पनि कर्जा स्वीकृत गर्ने वेलामा निर्धारित किस्ता रकम घटाउन नपाइने उल्लेख छ । 

यो प्रावधानका कारण बैंकहरूले दिएको राहत व्यवसायीहरूले तत्काल पाउन नसक्ने अवस्था बनेको हो । यद्यपि, किस्ता रकम नघटे पनि घट्दो ब्याजदरका कारण सम्पूर्ण किस्ता भुक्तान हुने अवधि भने अगाडि सर्ने भएको छ । कोभिडबाट प्रभावित व्यवसायीहरूलाई दीर्घकालीनभन्दा तत्कालीन लाभ बढी आवश्यक रहेको भन्दै नेपाल बैंकर्स संघले मासिक किस्ता रकम घट्दो ब्याजदरअनुसार मिलाउने सुविधा दिनुपर्ने माग गरेका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअगाडि बैंकरहरूसँग भएको छलफलमा उनीहरूले यस्तो माग गरेका हुन् । 

राष्ट्र बैंकले तरलता खिच्दा बैंकहरूलाई कम ब्याजदर दिइरहेकाले पनि निक्षेपकर्ताहरूको ब्याजदर बढाउन नसकिएको बैंकरहरूले बताउँदै आएका छन् । बैंकहरूले पछिल्लो समय साधारण बचतको ब्याजदर औसतमा साढे २ प्रतिशत र मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत बनाएका छन् । 

राष्ट्र बैंकले ब्याजदरलाई डोर्‍याउन कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरमा समेत चालू आवमा तल्लो सीमा (निक्षेप संकलनदर) १ प्रतिशतले घटाएर एक प्रतिशतमा सीमित बनाएको थियो । यही कारण राष्ट्र बैंकले जारी गरेका विभिन्न अवधिका निक्षेप संकलन उपकरणमा ३८ अर्ब रुपैयाँ पार्क गरेका थिए । यसरी पार्क गर्दा बैंकहरूले अधिकतम शून्य दशमलव ४० देखि शून्य दशमलव ६२ प्रतिशतसम्म ब्याजदर पाएका थिए । रिभर्स रिपोमा समेत बैंकहरूले लगानी गर्दा शून्य दशमलव २ देखि शून्य दशमलव ४ प्रतिशतसम्म ब्याज पाइरहेका थिए ।

गत ९ पुसमा भने तीन महिना अवधिको रिभर्स रिपोमार्फत ५६ अर्ब पार्क गर्दा बैंकहरूले १ दशमलव २८ प्रतिशतसम्म ब्याज पाएका थिए । राष्ट्र बैंकले जारी गरेका विभिन्न समयावधिका ऋणपत्रमा समेत बैंकहरूले १ दशमलव १७ प्रतिशत हाराहारीमा लगानी गरेका छन् ।

उनीहरूले यी ब्याजदरलाई बढाउन राष्ट्र बैंकसँग आग्रह गरेका छन् । राष्ट्र बैंकले चालू आवको ६ महिनामा भने बैंक तथा वित्तीय संस्थाहरूमा रहेको २ खर्ब ४१ अर्ब रुपैयाँ तरलता विभिन्न समयमा जारी गरेको रिभर्स रिपो र निक्षेप संकलनमार्फत प्रशोचन गरेको छ । हाल भने बैंकिङ प्रणालीमा ६४ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलताको अवस्था सामान्यीकरण हुँदै गइरहेको देखिन्छ । 

बैंकरहरूले ग्राहकसँग लिन सकिने पुनर्कर्जाको ब्याजदर बढाइदिनसमेत भनेका छन् । हाल राष्ट्र बैंकले बैंकहरूलाई १ देखि ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जाका लागि पुँजी दिने गर्छ । बैंकहरूले भने यसरी प्राप्त पुँजीमा ग्राहकहरूबाट ३ देखि ५ प्रतिशतसम्म ब्याजदर लिन पाउँछन् । पुससम्ममा पुनर्कर्जाका लागि ४५ अर्ब २५ करोड रुपैयाँको माग भएकोमा यो स्वीकृतिको चरणमा छ । 

सिएसआर रकम अस्पताल निर्माणमा
बैंकरहरूले सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको रकम अस्पताल बनाउन प्रयोग गर्न पाउनुपर्ने मागसमेत राष्ट्र बैंकसमक्ष गरेका छन् ।  बैंकिङ क्षेत्रमा काम गर्नेहरूका लागि ‘बैंकिङ अस्पताल’ खोल्न यस्तो रकम प्रयोग गर्ने माग बैंकरहरूले राखेका हुन् ।

बैंकहरूले खुद नाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोष खडा गरेर राख्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरूले मात्रै गत आर्थिक वर्षमा ५४ अर्ब ३२ करोड नाफा गरेका थिए । यस आधारमा वाणिज्य बैंकहरूले मात्रै सिएसआर कोषमा करिब ५४ करोड राखेको देखिन्छ । यस्तो कोषमा जम्मा भएको ५ प्रतिशत रकम भने वित्तीय साक्षरताका लागि खर्चिनुपर्ने व्यवस्था छ । 

ad
ad