मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
कार्ल जिमर
२०७७ माघ २९ बिहीबार ०८:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खोपले सबै कोरोना भाइरसविरुद्ध काम गर्न सक्छ ?

Read Time : > 2 मिनेट
कार्ल जिमर
२०७७ माघ २९ बिहीबार ०८:०५:००

अनुसन्धानदाताले भविष्यमा प्राणघातक रूप लिन सक्ने अन्य कोरोना भाइरसविरुद्ध तयारी गर्न आह्वान गर्न थालेका छन्

कोभिड–१९ को खोपलाई चिकित्सा विज्ञानको इतिहासमा कोसेढुंगाको रूपमा सम्झना गरिनेछ । अधिकांश खोप बनाउन औसतमा दश वर्ष लाग्ने गरेकोमा कोरोना भाइरसविरुद्धको खोप केही महिनामै तयार भयो । तर, डा. केभोन मोदजाराद भने यसबाट पनि सन्तुष्ट छैनन् । अमेरिकाको मेरिल्यान्डस्थित वाल्टर रिड आर्मी इन्स्टिच्युट अफ रिसर्चमा कार्यरत मोदजाराद विश्वभर २३ लाख मानिसको ज्यान गएपछि आएको खोपलाई ढिलै मान्छन् । ‘अझै सबै देशमा खोप पुग्न दुईदेखि तीन वर्ष लाग्ने देखिन्छ । साँच्चैको छिटो खोप प्रकोप सुरु हुनुअघि नै तयार भइसकेको हुनुपर्छ,’ मोदजारादले भने । 

भविष्यमा अझै अरू पनि कोरोना भाइरसका प्रकोप देखिने बलियो सम्भावना छ । कोरोना भाइरस धेरै भाइरसलाई जनाउने भाइरस परिवार हो । हामीलाई लाग्ने सामान्य रुघादेखि हाल विश्वव्यापी महामारीसम्म कोरोना भाइरसका अलग–अलग प्रजातिले लगाउने गर्छन् । चमेरा र अन्य विभिन्न वन्यजन्तुमा कोरोना भाइरसका धेरै प्रजातिका भाइरसको पहिचान भइसकेको छ । यीमध्ये कही भाइरस ढिलोचाँडो अन्य जीव वा मानिसलाई पनि संक्रमित गर्ने गरी परिवर्तित हुनेछन् । नयाँ प्रजातिमा अनुकूलित हुने गरी रूपान्तरण हुने भाइरसको गुण नै हो ।

मोदजारादको खास अध्ययन क्षेत्र भविष्यमा महामारीको रूप लिन सक्ने संक्रामक रोग हुन् । उनले धेरै पहिलेदेखि नै हामीलाई कोरोना भाइरसका लागि धेरै प्रकारका खोपको आवश्यकता रहेकोमा सचेत गराउँदै आएका थिए । धेरै खोप बने मात्र धेरै प्रजातिका कोरोना भाइरसलाई नियन्त्रण गर्न सक्ने उनी र उनीजस्तै धेरै वैज्ञानिकको भनाइ छ । तर, कोभिड–१९ प्रकोपअघि उनीहरूको आह्वान बेवास्तामा पर्‍यो । तर, अहिले भने अनुसन्धानदाताको ठूलो समूह सबै प्रजातिका कोरोना भाइरसविरुद्ध काम गर्ने एकल खोपको प्राटोटाइप विकास गर्नेतर्फ लागेको छ । प्रारम्भिक चरणमा रहेका यी खोजका निष्कर्ष जनावरहरूमा परीक्षण गरिएका छन् र त्यस क्रममा तिनले उत्साहप्रद नतिजा देखाइरहेका छन् । 

कोरोना भाइरस धेरै भाइरसलाई जनाउने भाइरस परिवार हो । हामीलाई लाग्ने सामान्य रुघादेखि हाल विश्वव्यापी महामारीसम्म कोरोना भाइरसका अलग–अलग प्रजातिले लगाउने गर्छन् ।
 

डा. एरिक टोपोल ठूलो स्तरको खोप निर्माण परियोजना सुरु गर्नुपर्ने विश्वास गर्नेमध्येका एक वैज्ञानिक हुन् । क्रिप्स रिचर्स इन्स्टिच्युटमा मोलेकुलर मेडिसिनमा प्राध्यापन गर्ने टोपेललाई पर्याप्त जनशक्ति भयो भने त्यस्तो खालको खोप यही वर्षको अन्त्यसम्म प्राप्त हुन्छ भन्ने विश्वास छ । टोपेलले क्mिप्स रिसर्च इन्स्टिच्युटका अर्का संक्रमण रोगविज्ञ डेनिस बर्टनसँग मिलेर यस विषयमा चर्चित नेचर जर्नलमा लेख लेखेका छन् । कोरोना भाइरसको कुनै पनि प्रजाति पहिलोपटक सन् १९६० को दशकमा पहिचान भएको थियो । खोप निर्माताका लागि ती उच्च प्राथमिकतामा थिएनन् । दशकौँसम्म कोरोना भाइरसका कारण हल्का रुघाखोकी मात्र हुन्छ भन्ने विश्वास थियो । तर, सन् २००२ मा सार्स–कोभ नामक नयाँ कोरोना भाइरस देखियो । यस भाइरसले प्राणघातक न्युमोनिया निम्त्याउन थाल्यो । वैज्ञानिकहरू तत्कालै यसविरुद्ध खोप बनाउन एकजुट भए । 

पहिले मानिसका लागि कोरोना भाइरसको खोप नबनेकाले यसको जैविक तत्वबारे पर्याप्त जानकारी थिएन । यस सम्बन्धमा ठूलो अनुसन्धान गर्नुपर्‍यो । अन्ततः अनुसन्धानदाताले प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने माध्यम पत्ता लगाइछाडे । कोरोना भाइरसको सतहमा हुने प्रोटिन(स्पाइक)माथि आक्रमण गरे भाइरस निस्तेज हुने देखियो । एसिया र बाहिरका जनस्वास्थ्य अधिकारीले सार्सको खोप आउनुअघि नै महत्वपूर्ण काम गरे । उनीहरूको क्वारेन्टाइन तथा अन्य कदम निकै प्रभावकारी प्रमाणित भयो । जनस्वास्थ्यविज्ञको प्रयासले केही महिनाभित्र सार्स–कोभ पूर्णतः निर्मूल भयो ।

मृतकको संख्या ७७४ मा सीमित भयो । मर्स र सार्सबाट तुलनात्मक रूपमा कमको ज्यान गयो । अनुसन्धानदाताको ध्यान त्यस समय देखिएका थप प्राणघातक इबोला र जिका भाइरसतर्फ गएकाले कोरोना भाइरस छायामा पर्‍यो । सन् २०१६ मा मारिया इलोना बोटाजीले उनी काम गर्ने बायलर कजेज अफ मेडिसिनका केही सहकर्मीसँग मिलेर अमेरिकी सरकारलाई एक निवेदन गरेकी थिइन् । निवेदनमा उनीहरूले सम्पूर्ण कोरोना भाइरसविरुद्ध काम गर्ने खोपको विकास गर्न अनुदान खर्च माग गरेका थिए । त्यस पत्रको कुनै जवाफ आएन । 

नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टिसियस डिजिजका भाइरस विज्ञ डा. म्याथु मेमोलीमाथिको उदाहरणलाई दुःखद मान्छन् । उनका अनुसार चिकित्सा क्षेत्रका धेरै लगानीकर्ताहरू सबैले देख्ने क्षेत्रमा मात्र पैसा लगानी गर्न खोज्छन् । तर, कहिलेकाहीँ रोग सबैको नजरमा नपरी पनि खतरनाक रूप विकास भइरहेको हुन्छ । विगतका कोरोना भाइरसका अन्य प्रजातिमा भएका अध्ययनले यसपटक सार्स–कोभ–२ का लागि नयाँ खोप तीव्र बनाउन सम्भव भयो । बायोएनटेकले पिफाइजरसँग मिलेर बनाएको खोपलाई अमेरिकी सरकराले ११ महिनामै स्वीकृति दियो । यसअघि ठेउलाविरुद्धको खोप चार वर्षमा बनेर रेकर्ड थियो । कोभिड–१९ महामारी अन्त्य भइसकेको छैन ।

तर, कैयौँ अनुसन्धानदाताले आगामी प्राणघातक कोरोना भाइरसविरुद्ध तयारीका लागि आह्वान गरेका छन् । विगतमा तीनपटक महामारीको रूप लिएको भाइरसले भविष्यमा पनि त्यही रूप लिने सम्भावना रहेको भाइरस विज्ञ डेनियल होफ्ट बताउँछन् । र कैयौँ अनुसन्धानदाता तथा वैज्ञानिकले यसतर्फ प्रारम्भिक काम थालिसकेका छन् । कोरोना भाइरसका विभिन्न प्रजाति एक–अर्कासँग धेरै मिल्दाजुल्दा हुने भएकाले सबैविरुद्ध काम गर्ने खोप निर्माण त्यति कठिन पनि नरहेको यसतर्फ काम गरिरहेका विज्ञ बताउँछन् ।

(विज्ञान लेखक कार्ल जिमर ब्लगर, स्तम्भकार र पत्रकार पनि हुन्)
न्युयोर्क टाइम्सबाट