
बेलायतमा केही महिनाअघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही सातामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।
यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घन्टामा थप एक हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १३ हजार आठ सय ५० जना पुगेको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचार आइरहेका छन् ।
मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेको तुलनामा केही कमी देखिए पनि उल्लेखनीय रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार गत २४ घन्टामा १२ हजार तीन सय ६४ जना संक्रमित थपिएका छन् ।
सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार एक सय ४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त अर्को एक समाचारमा मंगलबारसम्मको तथ्यांकमा एक करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।