मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अजित अधिकारी काठमाडौं
२०७७ माघ २५ आइतबार ११:०९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयल निगमलाई एक महिनामै  डेढ अर्ब नोक्सान 

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ माघ २५ आइतबार ११:०९:००

नेपाल आयल निगमले एक महिनामा डेढ अर्ब रुपैयाँ नोक्सान व्यहोरेको छ । पछिल्लो डेढ महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागेका कारण निगमले नोक्सान व्यहोर्नुपरेको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले १ फेब्रुअरीमा निगमलाई तेलको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

‘आइओसीले हामीलाई १ र १६ तारिखमा गरी महिनामा दुईपटक तेल खरिदको नयाँ मूल्यसूची पठाउँछ । १ फेब्रुअरीको मूल्यसूची धेरै नै बढेर आएको थियो, तर नेपाली बजारमा इन्धनको मूल्य समायोजन गरेका छैनौँ,’ उनले भने, ‘आगामी १६ फेब्रुअरी (४ फागुन) सम्म यही मूल्यमा तेल बिक्री गर्दा निगमलाई ९७ करोड ७५ लाख नोक्सान हुने देखिन्छ ।’

यसअघि ५ देखि १८ माघसम्म निगमले तेल बिक्री गर्दा ४६ करोड ६६ लाख नोक्सानी खपेको थियो । यसरी ५ माघदेखि ४ फागुनसम्मको एक महिनामा निगमले तेल बिक्रीबाट १ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ नोक्सान खेप्न लागेपछि निगम कर्मचारी अतालिएका छन् । 

पछिल्लो ६ वर्षयता निरन्तर नाफा कमाइरहेको निगमले पहिलोपटक एक महिनामै करिब डेढ अर्ब नोक्सानी खेप्न लागेको हो । सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न झन् जटिल हुने निगमका अधिकारीहरू बताउँछन् । दुई–तीन महिना घाटा सहेर तेल बेच्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ । निगम स्रोतका अनुसार चालू आव ०७७/७८ को मंसिर मसान्तसम्म निगमले ३ अर्बभन्दा बढी नाफा आर्जन गरिसकेको छ । मंसिरयता भने नाफा खुम्चिँदै गएको थियो । ५ माघमा मूल्यवृद्धि गर्दासमेत निगमले १६ माघसम्मको १५ दिनमा ४६.६६ करोड नोक्सान खेपेको थियो ।

स्रोतका अनुसार अहिलेसम्म आर्जन गरेको ३ अर्ब नाफाले अबको थप एक महिना धान्न सक्छ । त्यसपछि कम्पनी ‘ब्रेक इभन’मा पुग्नेछ । ब्रेक इभनमा पुग्नुअघि नै निगमले मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरेर घाटापूर्ति गर्ने योजना बनाएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेका वेला नेपाली बजारमा बढाउन पाइँदैन भनेर नै थोरै–थोरै रकम कट्टा गरी मूल्य स्थिरीकरण कोषमा जम्मा गरिएको छ । यो कोषमा अहिलेसम्म ११ अर्ब रुपैयाँ भइसकेको छ,’ स्रोतले भन्यो, ‘अब यही कोषको रकम प्रयोग गरेर घाटापूर्ति गर्ने गृहकार्य सुरु भइसकेको छ ।’ कोषमा १४ असोज ०७१ देखि रकम जम्मा गर्न थालिएको थियो ।

स्रोतका अनुसार आउँदो १५ दिनपछि पनि मूल्य बढाउन सरकारले अवरोध गरे घाटाबराबरको रकम कोषबाट झिकेर निगमले चलाउनेछ । ‘यसबाट मूल्य स्थिर भई उपभोक्तालाई फाइदा हुनेछ । अर्कातिर निगमलाई समेत घाटा नभई कारोबार अघि बढाउन सकिन्छ,’ ती कर्मचारीले भने ।निगमले चालू आवको माघसम्म आठपटक मूल्य समायोजन गरिसकेको छ । जसका कारण ६ पटक पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टीतेलमा पाँचपटक मूल्यवृद्धि तथा दुईपटक मूल्य घटेको छ ।

यसरी भयो नोक्सान

ग्यासमा ४५.५६ करोड घाटा
१९ माघमा आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले खाना पकाउने एलपी ग्यास १ हजार १ सय २९ रुपैयाँ ८१ पैसामा खरिद गरेको छ । सम्पूर्ण लागत जोड्दा ग्यासको परल मूल्य १ हजार ६ सय ९२ रुपैयाँ ११ पैसा हुन आउँछ । तर, निगमले ग्यासको उपभोक्ता मूल्य १ हजार ३ सय ७५ रुपैयाँ कायम गरेको छ । जसका कारण प्रतिसिलिन्डर निगमलाई अहिले ३१७.११ रुपैयाँ नोक्सान छ । १५ दिनमा करिब साढे १४ लाख सिलिन्डर खपत हुने अनुमानका आधारमा निगमलाई यो अवधिमा ग्यास बिक्री गर्दा ४५ करोड ५६ लाख रुपैयाँ घाटा छ ।

डिजेलमा ४४.३५ करोड नोक्सान
आयल निगमले आइओसीबाट डिजेल प्रतिलिटर ५२.३९ रुपैयाँमा किनेको छ । यसमा सम्पूर्ण लागत जोड्दा प्रतिलिटर ९७.६७ रुपैयाँ हुन आउँछ । काठमाडौंमा डिजेलको मूल्य ९३ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ । १५ दिनमा ९५ हजार किलोलिटर डिजेल खपत हुने अनुमानका आधारमा यो अवधिमा कुल ४४ करोड ३५ लाख रुपैयाँ नोक्सान हुने निगमको प्रक्षेपण छ ।

पेट्रोलमा २०.३९ करोड नोक्सान
पेट्रोल ५१ रुपैयाँ ६९ पैसामा खरिद गरेको छ । सो खरिद दरमा सम्पूर्ण खर्च जोड्दा निगमको लागत १ सय १६ रुपैयाँ ८० पैसा हुन आउँछ । निगमले उपत्यकामा १ सय १० रुपैयाँ मूल्य तोकेको छ । जसका कारण पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ८० पैसा घाटा छ । १५ दिनमा ३० हजार किलोलिटर पेट्रोल बिक्री हुने अनुमानित तथ्यांकअनुसार यो अवधिमा निगमलाई पेट्रोल बिक्रीबाट कुल २० करोड ३९ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण छ ।

मट्टीतेल र हवाई इन्धनमा १२.५९ करोड नाफा
खपत अत्यन्तै न्यून रहेको मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ । आइओसीबाट ४८.६७ मा किनेको मट्टीतेल ९३ रुपैयाँमा बिक्री गर्दा निगमलाई अन्य खर्च कटाएर १८.१० रुपैयाँ नाफा छ । ४८.०५ रुपैयाँ प्रतिलिटरमा किनेको हवाई इन्धन आन्तरिक विमान कम्पनीलाई ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय विमान कम्पनीलाई ८६.८० रुपैयाँमा बिक्री गर्दा क्रमशः ३२ लाख र ९ करोड ८० लाख रुपैयाँ नाफा हुने देखिएको छ ।