मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ २० मंगलबार १०:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करोडौँको भवन अलपत्र छोडेर अर्काे भवन शिलान्यास गरे मन्त्री ढकालले 

Read Time : > 1 मिनेट
२०७७ माघ २० मंगलबार १०:४४:००

सँगै जोडिएको कराेडौँ रुपैयाँ पर्ने भवन अलपत्र छाडेर प्रदेश प्रदेश १ मा सरुवा रोग अस्पतालको शिल्यान्यास गरिएको छ । मोरङको सुन्दरहरैँचा– ११ मा निर्माण गरिने प्रादेशिक सरुवा रोग अस्पतालको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले शिलान्यास गरेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा जमिनमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । सोमबार शिलान्यास गरेको भवनकै छेउमा अर्बाैँ रुपैयाँ परेको अस्पतालको भवन अलपत्र अवस्थामा छ । उक्त अस्पतालको सुरक्षा नहुँदा अवैध धन्दासमेत चल्ने गरेको छ ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनको तीनवटा ब्लक र  दुई सय ५० भन्दा बढी कोठा रहेका छन् । तर, ती भवन सबै जीर्ण बन्दै गएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ स्थित कर्जुनामा दुई दशकअघि सुवर्ण फर्मास्युटिकल्स नामक औषधि उद्योग निर्माण सुरु भएको थियो । तर, अहिलेसम्म पनि उद्योग सञ्चालनमा आउन सकेको छैन । पटकपटक चुनावी नारा मात्रै बन्दै गएको उक्त औषधि कम्पनी यसपटक पनि चुनावी नारा मात्रै हुने पक्का छ । 

आफ्नो निर्वाचन क्षेत्रमा भएका भवन अलपत्र नै छाडेर मन्त्री ढकालले तामझामसहित ५० शय्याको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने भन्दै शिलान्यास गरेका छन । ०५५ सालमा शेखर कोइरालाले उक्त भवन शिलान्यास गरेका थिए । भवन  शिलान्यास गरे, तर त्यसपछि कहिल्यै निर्माणस्थल परिसरमा फर्किएनन् । 

शिलान्यास कार्यक्रममा सहभागी भएका राष्ट्रिय सभा सदस्य रमेशजंग रायामाझीले मन्त्री ढकाललाई छेउको भवनजस्तै अलपत्र बनाउने हो भने शिलान्यास गर्नुको अर्थ नरहेकोसमेत बताए । उनले भानुभक्त ढकाललाई चुनावमा भोट माग्नका लागि मात्रै शिलान्यास गरेकोसमेत आरोप लगाए ।

भारतीय सरकारी औषधि कम्पनीको ३४ करोड तथा सुवर्ण फर्मास्युटिकल्स, साल्ट ट्रेडिङ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ११ करोड गरी कुल ४५ करोडको लगानीमा उद्योग निर्माण सुरु भएको थियो । निर्माणको ठेक्का पाएको निर्माण कम्पनी तुण्डी कन्स्ट्रक्सनलाई लगानीकर्ताहरूले सबै रकम भुक्तानी दिन नसकेपछि उक्त भवन अलपत्र अवस्थामा  छ । 

लगानीकर्ताहरूले केही अगाडि उद्योग सञ्चालनका लागि बजेटको व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग अनुरोध गरेका थिए । प्रदेश सरकारले बजेट व्यवस्थापन त गर्‍यो, तर पुराना भवनलाई सञ्चालनमा ल्याउने गरी होइन नयाँ भवन बनाउनका लागि मात्रै ।  अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरिएको छ भने भवनका लागि २५ करोड लाग्ने अनुमान गरिएको छ ।