१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : संजित परियार
नवीन प्यासी काठमाडाैं
२०७७ माघ १९ सोमबार ०६:२८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिक अगुवाको सन्देश : प्रतिगमनविरुद्ध अलग–अलग होइन, अब संयुक्त आन्दोलन

 प्रतिनिधिसभाविघटनविरुद्ध आन्दोलनमारहेका नागरिक समाज, स्रष्टाहरू, अधिकारकर्मी, सामाजिक अभियन्ता गोलबद्ध हुँदै संयुक्त आन्दोलनको तयारीमा

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ माघ १९ सोमबार ०६:२८:००

शनिबार दिउँसो १ बजेतिर डा.गोविन्द केसी नयाँ बानेश्वरमा ‘अहिंसात्मक नागरिक प्रदर्शन’लाई सम्बोधन गर्दै भनिरहेका थिए, ‘संविधानको हत्या गर्ने ती तानाशाहलाई कसरी सडकमा ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।’ प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएका केसीको आफूहरू कुनै पार्टीको समर्थन र विरोधमा नउत्रिएको र संविधानको रक्षार्थ आन्दोलनमा होमिएको भनाइ थियो ।

१२ माघमा पनि केसी बालुवाटारमा भएको ‘बृहत् नागरिक आन्दोलन’मा सहभागी थिए । त्यसवेला भनेका थिए, ‘जनताले ज्यानको आहुति दिएर ल्याएको संविधानलाई कुल्चिएर केपी ओली श्री ७ महाराज बने । ऊ (ओली) सडकको भाषा सुन्दैन । यदि साँच्चै सुन्दैन भने सुन्ने बनाइन्छ ।’ 

१२ माघमै बृहत् नागरिक आन्दोलनको टोलीभन्दा अघि मानवअधिकारवादीको समूहले अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्ने गरी प्रधानमन्त्री ओलीको अभिव्यक्ति आएको भन्दै बालुवाटार घेराउ गर्न खोजेको थियो । तर, निषेधित क्षेत्र तोडेको भनेर प्रहरीले कृष्ण पहाडी, कृष्ण कँडेललगायत २६ जना अधिकारकर्मीलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ रिहाइ गरियो । त्यसलगत्तै बृहत् नागरिक आन्दोलनको टोली बालुवाटार पुगेको थियो । उनीहरूमाथि प्रहरीले लाठीचार्ज तथा पानीको फोहोरा प्रहार गरेको थियो । आधा दर्जनभन्दा बढी घाइते भएका थिए ।

१७ माघमा पोखरामा बृहत् नागरिक आन्दोलनको ब्यानरमा युवाहरूले जुलुस निकालेर प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको विरोध जनाए । महेन्द्रपुलमा रहेको सहिद भीमसेन दाहाल (०६२/६३ को जनआन्दोलनमा सेनाको गोली लागेर मारिएका) को शालिकअघि पुगेर कोणसभा गरेको जुलुसले ओलीको प्रतिगामी कदमविरुद्ध खुलेर विरोध गरेका थिए ।

काठमाडौंमा बृहत् नागरिक आन्दोलनले सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल चउरमा आइतबार आन्दोलन ग र्‍यो । आन्दोलनमा केदारभक्त माथेमा, नारायण वाग्ले, राजेन्द्र महर्जन, रिता परियार,अनुभव अजित, युग पाठक, तुलानारायण शाहलगायतको सहभागिता थियो ।

१७ माघमै मण्डला थिएटरमा वामपन्थी र प्रजातान्त्रिक स्रष्टाहरू भेला भए । दिउँसो ३ बजे भेला भएका स्रष्टाहरूको मूल उद्देश्य भने प्रगितमनविरुद्ध नै थियो । प्रतिगमनविरुद्ध अग्रगमनको पक्षमा संयुक्त रूपमा आन्दोलन गर्ने योजनाका साथ समिति पनि बनेको छ । तर, कार्यक्रमहरू भने तय भइसकेको छैन । स्रष्टा संगीत श्रोताका अनुसार कार्यक्रम भने समितिले तय गर्नेछ र त्यसअनुसार यो आन्दोलन अगाडि जानेछ ।

स्रष्टाहरूको भेलाले ०४६ सालमा भएको पहिलो जनआन्दोलनमा पारिजात, मोहन कोइरालालगायत वामपन्थी र प्रजातान्त्रिक स्रष्टाहरूको संयुक्त समूहले ३ चैतदेखि गरेको आन्दोलनको झल्को पनि दिएको छ । त्यसवेला पारिजातहरू मुखमा कालोपट्टी बाँधेर सडकमा उत्रिएका थिए । त्यही समूहको एक सदस्य ७४ वर्षीय निनु चापागाइँ यसपटक पनि सक्रिय रूपमा लागेका छन् । स्रष्टाहरूको संयुक्त मोर्चा ०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि सडकमा ओर्लिएको थियो । यसपटक विमल निभा, नारायण ढकाल, श्रवण मुकारुङ, राजन मुकारुङ, विना थिङ तामाङ, शकुन्तला जोशी, झुमा लिम्बूलगायत स्रष्टाहरू मोर्चा बनाएर सडकमा जाने योजनामा छन् । 

नागरिक आन्दोलनले एक नेता मान्दैन
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेका नागरिक समाज, स्रष्टाहरू, अधिकारकर्मी, सामाजिक अभियन्ता आ–आफ्नै समूहमार्फत सक्रिय छन् । कोही माइतीघरमा आन्दोलन गरिरहेका छन्, कोही बानेश्वरमा त कोही मण्डला नाटकघरमा मिटिङ गरिरहेका छन् ।

सबै एकीकृत भएर अगाडि जाँदा त्यसको असर अथवा लहर अलि ठूलो हुने थियो कि भन्ने जनचासो पनि देखिन्छ । उद्देश्य एकै त छ, तर उनीहरू फरक फरक मोर्चामार्फत सक्रिय छन् । तर, नागरिक आन्दोलन एउटा मात्र नभएर ठाउँठाउँमा समूहमार्फत आन्दोलन गरिने भएकाले एकै ठाउँबाट आन्दोलन गरिनुपर्छ भन्ने नरहेको वामपन्थी तथा प्रजातान्त्रिक स्रष्टाहरूको आन्दोलनमा सक्रिय कवि श्रवण मुकारुङ बताउँछन् ।

उनका अनुसार गोल एउटै भए पनि एकीकृत हुनैपर्छ भन्ने हुँदैन । उनी भन्छन्, ‘नागरिक आन्दोलन नै यस्तै हो । कोही कहाँबाट उठ्छन्, कोही कहाँबाट । सबै एकीकृत भएर उठ्नुपर्छ भन्ने मात्रै हुँदैन । सबैले आ–आफ्नो ठाउँबाट एकै गोलका लागि आन्दोलन गर्ने हो ।’

यसरी समूहगत रूपमा आन्दोलन हुनुलाई स्वाभाविकै मान्छन् राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौला । नागरिक आन्दोलनको प्रारम्भिक चरणमा भएकाले ओलीको दास बन्न नचाहने नागरिकहरू विभिन्न ठाउँमा गोलबद्ध भइरहेको बताउँदै उनी भन्छन्, ‘ठाउँठाउँबाट आएका जलप्रवाह एक ठाउँमा मिसिएपछि ठूलो भेल बन्छ । भेलको नियम र आन्दोलनको नियम एकै हो । एक ठाउँमा पुगेपछि भेल बन्छ नै ।’

मुकारुङ पनि विविध समूह मिल्दै एकजुट हुँदै आन्दोलन बिस्तारै अगाडि बढ्ने पनि बताउँछन् । अन्तिम चरणमा सबै एकै ठाउँमा आइपुग्ने र राजनीतिक दल पनि एकै ठाउँमा आइपुग्ने मुकारुङको भनाइ छ । भन्छन्, ‘गोल एकै भएपछि आइपुग्ने पनि एकै ठाउँमा त हो । पुग्ने ठाउँ सडकै हो ।’ यसरी समूह–समूहबाट आन्दोलन हुनु कसैले अर्को समूहलाई काउन्टर दिनु पनि नभएको र विचार नमिलेका कारण पनि नभएको मुकारुङ बताउँछन् । भन्छन्, ‘भोलि दलित, मधेसी, जनजातिको पनि समूह बन्न सक्छ । त्यो स्वाभाविक प्रक्रिया हो ।

नागरिक आन्दोलन भनेको एकजनालाई नेता बनाएर हिँड्नुपर्छ भन्ने सिद्धान्तबाट पर हुन्छ । जहाँ नागरिक छन्, उनीहरू भेला हुन्छन् र प्रतिरोधमा उत्रन्छन् ।’ समय बित्दै गएपछि वास्तविक रूपमा निरंकुशता, प्रतिगमनविरुद्ध रहेकाहरू एकै प्रवाहमा गोलबद्ध हुने संग्र्रौलाको विश्लेषण छ । 

अन्तिममा सँगै हुनेछौँ 
गत ११ पुसदेखि युग पाठकले संयोजन गरेको नागरिक आन्दोलन अहिलेसम्म निरन्तर छ । शृंखलाबद्ध रूपमा सिर्जनात्मक तवरले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काइरहेको समूहमार्फत पोखरा, झापा हुँदै पश्चिम नेपालतिर पनि विस्तार भइरहेको बताउँछन् पाठक ।

यसबीचमा आफूहरूले सबैले समेटेरै अगाडि जान व्यापक गृहकार्य गरेको उनको भनाइ छ । भन्छन्, ‘सम्पदा बचाउ अभियन्ताहरूदेखि डा.गोविन्द केसीसम्मलाई हामीले ल्यायौँ । केसीको कार्यक्रममा पनि गइरहेका छौँ । हामी निरन्तर सबैथरीका कार्यक्रममै छौँ । सबैथरी मिल्दै मिलाउँदै जाने हो ।’ अहिलेसम्म आइपुग्दा आफूहरूले बृहत्तर स्वरूप देखाएको पाठकको दाबी छ ।

अहिले भइरहेको नागरिक आन्दोलन सबै स्वतस्फूर्त भएकाले समन्वय भएर एकीकृत भएमा अझै गज्जब हुने राजेन्द्र महर्जनको विश्लेषण छ । भन्छन्, ‘जहाँ जहाँबाट उठ्नुपर्ने हो, उठेकै छ । एक ठाउँमा पुगेर समन्वय भएरै छाड्छ । समन्वयका लागि संवाद चलिरहेको छ । एकीकृत रूपमा जाँदा त्यसको प्रभाव ठूलो त जरुर हुने नै छ ।’

पाठक पनि अहिले उठिरहेको विविध स्वतन्त्र नागरिक, स्रष्टाहरूको समूहलाई स्वाभाविक मान्छन् । राजनीतिक दलप्रति विश्वसनीयता एकदमै कम भएको समयमा नागरिक समाजको तर्फबाट आन्दोलन उठ्न समय लाग्ने बताउँछन् । भन्छन्, ‘तर, कुनै न कुनै समय राजनीतिक दल नै आउने हो । तर, अहिले राजनीतिक दलसँग एजेन्डा र विचार छैन, त्यो नागरिक समाजसँग छ । त्यसअनुसार हामी सबै अगाडि बढ्ने हो ।’ साथै जहाँ–जहाँबाट उठे पनि, मतहरू फरक भए पनि आफूहरू एकै ठाउँमा रहेको उनको भनाइ छ ।

देशै ठप्प हुने तरिकाले आन्दोलनमा ओर्लिएका वेला नभएकाले सबै आ–आफ्नो तरिकाले एकै उद्देश्यका लागि आइरहेकाले बिस्तारै सँगै अगाडि बढिनेमा ढुक्क छन् उनी । धेरै कर्नरबाट आन्दोलन उठ्नुलाई स्वाभाविक र जायज मान्छिन् अधिकारकर्मी मोहना अन्सारी । ‘धेरै ठाउँबाट आन्दोलन उठ्छन् । आउँछन् । र, आन्दोलन अन्ततः सडकमा पुग्ने हो,’ सबैको मिलनबिन्दुबारे बताउँछिन् अन्सारी । अहिले उठिरहेको विविध आन्दोलन बिस्तारै सबै ठाउँबाट उठेर एकीकृत हुँदै, जोडिँदै जाने र दमन, हस्तक्षेपको प्रतिरोध गर्ने अन्सारीको भनाइ छ ।

‘गोविन्द केसीको आन्दोलनमा हामी गयौँ । देशको विभिन्न ठाउँबाट धेरै जोडिइरहनुभएको छ,’ अन्सारी भन्छिन्, । ०६२/६३ को जनआन्दोलनमा पनि यस्तै परिदृश्य देखिएकाले तत्कालको समयमा यसलाई स्वाभाविक मान्छिन् उनी । उनी सम्झिन्छन्, ‘त्यसवेला पनि हरेक राजनीतिक दलको छुट्टाछुट्टै आन्दोलन हुन्थ्यो । पछि आएर सबै मिसिए ।

सबैलाई एक ठाउँमा आउन दश–बाह्र दिन लागेको थियो ।’ तर, अहिले जे जसरी आफूहरू आए पनि अन्तिममा एक ठाउँमा उभिने कुरामा विश्वस्त छिन् अन्सारी । तर, नागरिक आन्दोलन अहिलेका लागि मात्र नभएर महिला, थारू, आदिवासी, दलितलगायत सबैले चाहेको व्यवस्था नआएसम्म निरन्तर चलरिहने बताउँछिन् उनी ।

लेखक नारायण ढकाल १६ माघमा टेकु पचलीघाटमा बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा सरिक भएका थिए । उनले आफ्ना मन्तव्य पनि राखे । त्यसपछि १७ माघमा वामपन्थी तथा प्रजातान्त्रिक स्रष्टाहरूको भेलामा पनि आफ्नो धारणा राखिरहेका थिए । लेखक ढकाल भन्छन्, ‘म त के भन्छु भने एकताको प्रयत्न गरेर एकीकृत भएर जानुपर्छ ।

त्यसका लागि पहल गर्नुपर्छ । विभाजित हुँदा शक्ति कम हुन्छ । मिल्दा सन्देश पनि जान्छ र आन्दोलन परिचालन पनि राम्रोसँग हुन्छ ।’ अहिले आन्दोलन बलियो भएर जानुपर्ने स्थिति आएको र त्यसका लागि राजनीतिक दलहरूलाई समीक्षा गराएर एक ठाउँमा एकताबद्ध गरेर आन्दोलन गर्नुपर्ने लेखक ढकालको भनाइ छ ।