१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १८ आइतबार
  • Wednesday, 26 June, 2024
टेकराज थामी काठमाडौं
२o७७ माघ १८ आइतबार o२:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेनामा अब १६ वर्षमै निवृत्तिभरण

नियमावली संशोधनमा कानुन र अर्थ मन्त्रालयको स्वीकृति

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १८ आइतबार o२:२२:oo

१६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो । 

सैनिक नियमावली २०६९ को नियम ८० को उपनियम (२) संशोधन गरी सेनामा जुनसुकै अवधिमा भर्ना भएको भए पनि फलोअर्स र सिपाही तहका सैनिकको निवृत्तिभरण अवधि १६ वर्ष हुने व्यवस्था गरिएको छ । पिउठ, अमल्दार र हुद्दाको निवृत्तिभरण अवधि भने १७ वर्ष हुनेछ । त्यस्तै, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष निवृत्तिभरण अवधि हुनेछ । सहायक सेनानी र सोभन्दा माथिल्लो पदमा कार्यरत सैनिक अधिकृतको हकमा निवृत्तिभरण अवधि २० वर्ष नै हुनेछ । 

रक्षा मन्त्रालयका सचिव रश्मिराज पाण्डेले सैनिक संशोधित नियमावलीमा सेनाको निवृत्तिभरण अवधि परिवर्तन भएको बताए । ‘सैनिक सेवा नियमावली संशोधन हुने प्रक्रियामा छ । अर्थ मन्त्रालयले त्यसलाई स्वीकृति दिइसकेको छ । जसअनुसार सिपाही र फलोअर्सको निवृत्तिभरण अवधि १६ वर्ष कायम गरिएको छ,’ उनले भने, ‘यो प्रक्रियामै छ । कानुनी मान्यता पाउन समय लाग्छ । हामीले कानुन मन्त्रालयमा स्वीकृतिका लागि पठाएका थियौँ । त्यसपछि अर्थमा पुग्यो । त्यहाँबाट पनि स्वीकृति पाइएको छ ।’ कानुन मन्त्रालयले गत १९ पुसमै रक्षालाई संशोधनका लागि सहमति दिएको थियो । त्यसलगत्तै रक्षाले अर्थमा पठाएको थियो । 

अर्थबाट स्वीकृत नयाँ नियमावलीमा भनिएको छ, ‘संवत् ०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना हुने सैनिक व्यक्तिले देहायबमोजिमको अवधिभन्दा बढी र अवधिसम्म सेनामा सेवा गरेपछि सम्बन्धित विभागीय प्रमुखको स्वीकृतिमा सेवाबाट स्वेच्छिक अवकाश लिन निवृत्तिभरण पाउनेछन् । सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म २० वर्ष, सुबेदार र प्रमुख सुबेदार १९ वर्ष, जमदार १८ वर्ष, पिउठ, अमल्दार र हुद्दा १७ वर्ष, फलोअर्स र सिपाही १६ वर्ष ।’

अहिले सेनामा सैनिक सेवा नियमावली, २०६९ ले व्यवस्था गरेअनुसार निवृत्तिभरण हुने व्यवस्था छ । नियमावलीको नियम ८० को उपनियम (२) अनुसार २८ वैशाख ०६० यता भर्ना भएका सैनिक कर्मचारीको हकमा निवृत्तिभरण अवधि जुनसुकै पदमा कार्यरत भए पनि २० वर्ष नै कायम गरिएको थियो । 

त्यसअघि भर्ना भएका हकमा भने निवृत्तिभरण अवधि दर्जाअनुसार फरक–फरक थियो । नियमावलीको नियम १ अनुसार सहायक सेनानी र सोभन्दा माथिको हकमा २० वर्ष, जमदार, सुबेदार र प्रमुख सुबेदारको हकमा १७ वर्ष, फलोअर्स र सोभन्दा माथि हुद्दाको हकमा १६ वर्ष निवृत्तिभरण अवधि तोकिएको थियो । 

सेनामा करिब ९५ हजारको दरबन्दी रहे पनि ८७ हजार नौ सय ७२ जना सैनिक सेवामा कार्यरत छन् । जसमा ८० प्रतिशत जनशक्ति सिपाही दर्जाका छन् । 

ad
ad
ad
ad