मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १५ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १५ बिहीबार २२:oo:oo
Read Time : > 6 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबार दिनभरका मुख्य खबर

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १५ बिहीबार २२:oo:oo

निर्वाचन आयोगले निर्वाचन सम्बन्धमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो 

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न पनि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न बोलाइएको हो । पार्टीबाट अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधि बोलाइएको हो ।’

अदालतको अवहेलना मुद्दा : प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओली, चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई  बाटोको म्यादबाहेक सात दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको हो । 

अबको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवनमरणको संघर्षको अवधि : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले वैशाखको चुनावका लागि सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आफूनिकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले वैशाखमा चुनाव हुने भन्दै अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिएका हुन् । बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवनमरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको बताए । प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी पनि गरे । पार्टीमा शुद्धीकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहीनता र स्वार्थी प्रवृत्ति किनारा लागेको जिकिर पनि गरे । पार्टी एक विचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाइ छ । 

प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गर्‍यो : नेकपा प्रचण्ड-माधव समूह

नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले  जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ । बुटवलको  गोलपार्क,  जितगढी तथा राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन सभामा परिणत हुनेछ । 

मध्यावधि चुनावमा जान रहर थिएन : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मध्यावधि निर्वाचन सरकारको चाहना नभई बाध्यता भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आयोजित नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले समयअगावै निर्वाचनमा जानुपर्ने बाध्यता आइलागेको बताएका हुन् । दुई ठूला कम्युनिस्ट पार्टीले अघिल्लो निर्वाचनमा गरेको गठबन्धनलाई एकताको रूपमा बुझेर जनताले मुलुकको अभिभारा सुम्पिए पनि पूरा गर्न नसकेको उनको भनाइ छ । ‘जनताले ठूलो अभिभारा दिएर बहुमतसहितको भोट दिएर पठाए, तर पार्टीभित्रको आन्तरिक झमेलाले जनताको अभिभारा पूरा गर्न सकिएन । अनि फेरि जनताकै बीचमा जाने निर्णय गरेर प्रतिनिधिसभा विघटन गरिएको हो,’ उनले भने, ‘पार्टीकै शीर्ष नेताहरूले प्रधानमन्त्रीलाई घेरामा पारेर काम गर्न नदिएपछि फेरि जनतामा जानुको विकल्प भएन । मध्यावधि सरकारको रहर होइन, बाध्यता हो ।’ 

माला र खादा नलगाउन कार्यकर्तालाई डा. कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यक्रमहरूमा स्वागतस्वरूप माला र खादा लगाइदिने तथा फूल दिने काम नगर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संक्रमणको जोखिमकै बीचमा पार्टीका गतिविधिहरू भइरहेकाले सबैले अनिवार्य मास्क लगाउन आग्रह गर्दछु,’ डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् । महाधिवेशनको तयारी र अन्य राजनीतिक उतारचढावका कारण कोइरालाको जिल्ला दौडाहा कायम छ । कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा पुनः तीनदिने विरोधका कार्यक्रम घोषणा गर्दै कार्यकर्तालाई सडक प्रदर्शनका लागि आग्रह गरेको छ । 

प्रदेश पूर्वाधार विकास कार्यक्रम : मुख्यमन्त्री कार्यालयमै रोकिए चार सय योजनाको फाइल

चालू आर्थिक वर्ष सुरु भएको सात महिना बित्नै लाग्दा सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रमका योजनाहरूको कार्यान्वयन अख्तियारी जान सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले करिब चार सय योजनाको अख्तियारी सम्बन्धित कार्यालयलाई पठाएको छैन । प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सभाका ३२ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले यस वर्ष करिब नौ सय योजना छनोट गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका छन् । तीमध्ये पाँच सय योजनाको कार्यान्वयन अख्तियारी ६ माघमा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सभा सदस्यलाई ‘खुसी पार्न’ ल्याइएको प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३२ वटा निर्वाचन क्षेत्रमा प्रतिक्षेत्र तीन करोड रुपैयाँका दरले विनियोजन गरिएको छ । सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य संयोजक रहेको समितिले छनोट गरेका योजनामा यो बजेट खर्च गर्ने व्यवस्था छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशन 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिएकी छिन् । शीतलनिवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रित भई अघि बढाउन निर्देशन दिएकी हुन् । उनले पूर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्ने गरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्न पनि भनेकी छिन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा. उषा झा, शिक्षासचिव गोपीनाथ मैनाली, शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुख डा. तुलसी थपलिया र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको उपस्थिति थियो ।

उद्योगी विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने’ अभियान

कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको लगानी पूर्वाधार रोजगारी विशेष उपसमिति संयोजक रहेका चौधरीले गरिखाने अभियान अगाडि बढाउन लागेका हुन् । नेपाली जनतालाई गरिखाने बाटोमा लैजाने र पछि उनीहरूलाई हुनेखाने बनाउने योजना रहेको उद्योगी चौधरीले बताए । वीरगन्जमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले नेपालीको जीवनस्तर रूपान्तरण गर्ने गरी गरिखाने योजना ल्याइएको बताए । कोभिडको व्यावहारिक कठिनाइसँगै अर्थतन्त्र र नेपाली आमजीवनमा पारेको प्रभावको विश्लेषण गर्दै यो अभियानले निकास दिने लक्ष्य राखेको उनले बताए । 

कोभिडविरुद्धको भ्याक्सिनको एक डोज कति प्रभावकारी ?

सामान्यतः कुनै पनि भाइरसविरुद्ध पूर्ण रूपमा काम गर्न खोपका सबै डोज आवश्यक हुन्छन् । जस्तै, बालबालिकामा दिइने दादुरा, गलगाँड, रुबेलाविरुद्धको भ्याक्सिनको एक डोजले मात्रै काम गर्दैन । अर्थात् एकपटकभन्दा बढी लगाउनुपर्ने हुन्छ । एउटा मात्रै भ्याक्सिनको डोजकाे ४० प्रतिशत पनि प्रभाव देखिँदैन । खोप पूर्ण रूपमा प्राप्त नगरेका व्यक्तिमा पुनः संक्रमण हुने जोखिम रहन्छ । इम्युनोलोजिस्टहरूका अनुसार, भ्याक्सिन आधा डोज मात्रै दिँदा शरीरमा इम्युनिटीले पर्याप्त रूपमा काम गर्न असमर्थ हुने गर्छ । शरीरमा भ्याक्सिन लगाइसकेपछि प्रतिरक्षा प्रणालीले महत्वपूर्ण दुईवटा सेता रक्तकोष सक्रिय गर्छ, प्लाज्मा बी सेल र प्लाज्मा टी सेल । प्लाज्मा बी सेलहरू शरीरमा एन्टिबडी बनाउनमा केन्द्रित हुन्छन् । तर, बी सेल शरीरमा एकदमै छोटो समय मात्रै रहन्छन् । दोस्रो डोज दिँदा केही समय बी सेलले काम गरे पनि केही हप्तामै गिरावट आउने गर्छ । यस्तै, टी सेलले भाइरस पहिचान गर्ने र मार्ने काम गर्छ । टी सेल भने शरीरमा लामो समयसम्म रहिरहन्छ । अर्थात् एकपटक भ्याक्सिन लगाइसकेपछि भ्याक्सिनले जीवनभरि पनि काम गर्न सक्छ । अर्थात् खोपको एउटा डोज भाइरसविरुद्ध लड्न पर्याप्त नहुन सक्छ ।

अस्ट्रेलियामा लकडाउन खोल्ने तयारी

अस्ट्रेलियन सरकारले डिसेम्बरदेखि लगाएको लकडाउन खुलाउने तयारी गरेको छ । क्रिसमस मनाएपछि एकै दिन एक सय ८० व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सरकारले विभिन्न राज्यमा लकडाउन जारी गरेको थियो । न्यु साउथ वेल्स राज्यले विभिन्न मापदण्ड बनाएर सोहीअनुसार लकडाउन खुला गर्न लागेको बिबिसीले जनाएको छ । एक महिनाभित्र संक्रमित तथा कोभिड– १९ नियन्त्रणमा आएपछि लकडाउन खुलाउन लागेको स्थानीय प्रशासनले जनाएको छ । पछिल्लो ११ दिनयता न्यु साउथ वेल्स राज्यमा एकजनामा पनि संक्रमण देखिएको छैन । ‘न्यु साउथ वेल्सले कोरोनाविरुद्ध उत्कृष्ट काम ग¥यो, क्रिसमसपछि भयावह रूप लिने आकलन गर्दै लकडाउन जारी गरिएको थियो । अब सबै प्रतिबन्ध हटाउने तयारी भइरहेको छ,’ क्विन्सल्यान्डका अनास्टासिया पालाज्कुकले भने । कोरोना भाइरसले महामारीको रूपमा लिएपछि अस्ट्रेलियामा अहिलेसम्म २२ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये नौ सय नौजनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियन सरकारका अनुसार अन्य राष्ट्रका तुलनामा अस्ट्रेलियामा कोभिड– १९ निकै कम मात्रामा फैलिएको छ । 

बेइजिङमा नागरिकलाई बिदा मनाउन बाहिर ननिस्किन आग्रह

चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरू प्रत्येक दिनजसो भेटिन थालेपछि अधिकारीहरूले बेइजिङ सहरमा बाहिर ननिस्किन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’को बिदा मनाउन एकैपटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकलाई आग्रह गरेका छन् । हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि बिदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरू पनि बिदा हुने भएकोले ठूलो संख्याका मानिस यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर बिदा मनाउने गरेका हुन्छन् ।

टेस्टमा छिटो दुई सय विकेट लिने रावडा तेस्रो खेलाडी

दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रावडा टेस्ट क्रिकेटमा छिटो दुई सय विकेट लिने तेस्रो बलर बनेका छन् । कराँचीमा चलिरहेको पाकिस्तानविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा रावडाले यो उपलब्धि हात पारेका हुन् । उनले ४४ टेस्टमा आठ हजार एक सय ५४ बल फ्याँक्दै दुई सय विकेट हात पारेका हुन् । टेस्टमा कम खेलमा दुई सय विकेट लिने रेकर्ड पाकिस्तानका स्पिनर यासिर साहको नाममा छ । उनले केवल ३३ टेस्टमा दुई सय विकेट संख्या पु¥याएका हुन् । 

प्रधानमन्त्री कप क्रिकेट : आर्मी लगातार चौथोपटक फाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब लगातार चौथोपटक प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो । आर्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको चारै संस्करणको फाइनलमा पुग्ने एक्लो टोली बनेको छ । वर्षाका कारण फाइनल खेल पूरा हुन नपाउँदा आर्मीले पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाढेको थियो । त्यसपछिका दुई फाइनलमा भने आर्मी पराजित भएको छ । 

धनुषामा मदिरा उद्योगीको हत्या 

धनुषामा मदिरा उद्योगीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिका– ७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका– ७ चुओरका ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मंगलबाार बिहान आफ्नो घरबाट उद्योग आएका रेग्मीको शव रक्ताम्य अवस्थामा बिहीबार उद्योगको प्रांगणमा रहेको कोठाभित्र फेला परेको हो । प्रहरीका अनुसार टाउकोमा गहिरो चोट लागेको छ भने शरीरबाट अत्यधिक रगत बगेको छ ।