मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १५ बिहीबार
  • Wednesday, 18 December, 2024
मञ्जु टेलर काठमाडौं
२o७७ माघ १५ बिहीबार o३:४१:oo
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कसरी बनेका छन् कोरोना भाइरसविरुद्धका भ्याक्सिन ?

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १५ बिहीबार o३:४१:oo

- कोरोनाभाइरसकै जिनदेखि चिम्पान्जीको जिनसम्म प्रयोग गरी कोरोनाविरुद्धको भ्याक्सिन निर्माण

- धेरै प्रविधिमा आधारित भएर कोरोनाभाइरसविरुद्ध भ्याक्सिन निर्माण भइरहेका छन्, केही भ्याक्सिन बनाउन कोरोना भाइरसको पनि प्रयोग गरियो

......

कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध हाल ६४ वटा भ्याक्सिन मानवीय शरीरमाथिको क्लिनिकल परीक्षणमा छन् । तीन भ्याक्सिनले दुईभन्दा बढी देशमा प्रयोगका लागि अनुमति पाइसकेका छन् । यी भ्याक्सिन युरोप र अमेरिका देशहरूले आफ्ना नागरिकलाई (मास भ्याक्सिनेसन) लगाउन थालिसकेका छन् । त्यसबाहेक रुस र चीनमा बनेका केही भ्याक्सिनले देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति पाएका छन् । न्युयोर्क टाइम्सले संकलन गरेको तथ्यअनुसार अरु २० भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगेका छन् । कोरोना भाइरसविरुद्धको भ्याक्सिन कसरी बन्छन् ? विश्वभरको फरक वातावरण र जीवनशैलीका स्वस्थ मानिसले समेत प्रयोग गर्ने भ्याक्सिन कसरी बनिरहेका छन् ? कोरोना भाइरसविरुद्ध बनेका आठवटा भ्याक्सिनबारे केही जानकारी :

मेसेन्जर आरएनए भ्याक्सिन फाइजर

जर्मन कम्पनी बायोन्टेकले फाइजरसँग मिलेर निर्माण गरेको बिएन्टी१६२बि२ नामक कोभिडविरुद्धको भ्याक्सिन आरएनएमा आधारित भ्याक्सिन हो । जुन क्लिनिकल ट्रायल परीक्षणमा कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । सार्स कोभिडले प्रोटिनको माध्यमबाट मानव कोषमा प्रवेश गर्छ । उक्त स्पाइक प्रोटिनको आधारमा भ्याक्सिन र औषधि निर्माण गरिन थालिएको छ । भ्याक्सिनले मेसेन्जर आरएनएलाई जेनेटिक मेटेरियल प्रयोग गरेर कोषहरूमा प्रोटिन बनाउँछ, जसले भाइरसलाई कोषभित्र प्रवेश गर्नबाट रोक्ने गर्छ ।

मोडर्ना

स्पाइक प्रोटिनहरूले सम्भावित खोप र उपचारका लागि लक्ष्य निर्धारण गर्छन् । फाइजर खोपजस्तै मोडर्नाले पनि भाइरसको जिनमा आधारित रहेर स्पाइक प्रोटिन निर्माण गर्छ । भ्याक्सिनमा आरएनए अर्थात् आनुवंशिक सामग्री प्रयोग गर्छ, जसले कोषहरूमा रहेको प्रोटिनको मात्रा अध्ययन गर्छ । भ्याक्सिनमा प्रयोग गरिएको आरएनए भ्याक्सिनमार्फत सीधै शरीरमा पठाउँदा इन्जाइमका कारण टुक्रामा विभाजित हुन्छ । यसका लागि फाइजरले आरएनएलाई एक किसिमिको तेलीय पदार्थमा मिसाएर प्रयोगमा ल्याउनेछ । 

आरएनए मोलिक्युल कमजोर हुने भएकाले तापक्रम नमिल्दा भण्डार गर्न गाह्रो हुन्छ । शरीरमा इन्जेक्सन दिइसकेपछि खोपका कणहरू कोषसँग ठोक्किन्छन् र आरएनए बाहिर निस्कन्छ । कोषमा रहेका कणहरूले भाइरसको अवस्था अध्ययन गरी स्पाइक प्रोटिन निर्माण गर्छ । बिस्तारै खोपले दिएको आरएनए कोषहरू नष्ट गर्छन् । केही स्पाइक प्रोटिनहरू टुक्रिएर स्पाइक्स बनेर कोषको सतहमा गएर बस्छन्, यस्तै खोपबाट दिइएका आरएनएका अणुहरूसमेत कोषको सतहमा हुन्छन्, जुन पछि प्रतिरक्षा प्रणालीले पत्ता लगाउँछ ।

एडिनो भाइरसमा आधारित भ्याक्सिन अक्सफोर्ड एस्ट्राजेनेका

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका कम्पनीसँग मिलेर निर्माण गरेको एजेडडि१२२२ नामक भ्याक्सिन एडिनो भाइरसमा आधारित भ्याक्सिन हो । जुन परीक्षणको क्रममा ९० प्रतिशतभन्दा माथि प्रभावकारी देखिएको छ । यो भ्याक्सिन स्पाइक प्रोटिनमा आधारित भए पनि भाइरसको आरएनएमा नभई डिनएमा आधारित भ्याक्सिन हो । अन्वेषकहरूले भाइरसको स्पाइक प्रोटिन र जिनलाई अर्को भाइरसमा थपेर एडिनो भाइरस निर्माण गर्छन् । एडिनो भाइरस सामान्य भाइरस हो, जसले फ्लुजस्ता लक्षण देखाउँछ । एस्ट्राजेनेकाले चिम्पान्जीमा रहेको एडिनो भाइरसको आधारमा कोभिड भाइरसविरुद्धको खोप निर्माण गरेको छ । 

जोनसन एन्ड जोनसन

जोनसन एन्ड जोनसनले निर्माण गरेको एडी२६कोभ२एस नामक भ्याक्सिन यही जनवरीदेखि प्रयोगमा ल्याइने भएको छ । यो भ्याक्सिनमा एडिनो भाइरस २६ प्रयोग गरिएको छ । जोनसनले एडिनो भाइरसलाई परिमार्जन गरेर खोपमा राखेको छ, जुन कोषिकाभित्र प्रवेश गर्न सक्छ, तर कुनै किसिमको समस्या देखाउँदैन । एडिनो भाइरस वर्षौंदेखि अनुसन्धान गरेर भ्याक्सिनमा प्रयोग गरिन थालिएको हो, जुन योभन्दा अगाडि इबोलाविरुद्धको भ्याक्सिनमा प्रयोगमा आइसकेको छ । जोनसनले एचआइभी र जिका भाइरसविरुद्धको भ्याक्सिनमा पनि एडिनो भाइरस प्रयोग गरिरहेको बताएको छ । 

प्रोटिनमा आधारित भ्याक्सिन नोभाभ्याक्स

नोभाभ्याक्स भ्याक्सिन प्रोटिनमा आधारित भ्याक्सिन हो, जसलाई एनभिएक्स कोभ २३७३ नाम दिइएको छ । अमेरिकामा उत्पादन गरिएको यो भ्याक्सिनले परीक्षणको सुरुवातमै शरीरमा कोभिडविरुद्ध प्रशस्त एन्टिबडी उत्पादन गरेको बताइएको छ । भ्याक्सिन भाइरसको स्पाइक जिनको अध्ययन गरेर निर्माण गरिएको हो । भ्याक्सिनमा प्रयोग गरिएका ननपार्टिकलहरूले भाइरसलाई कोषमा प्रवेश गर्न दिँदैन, फलस्वरूप भाइरसका आरएनएहरू बिस्तारै नष्ट हुँदै जान्छन् । 

निष्क्रिय भाइरसमा आधारित भ्याक्सिन

हाल बनिरहेका अधिकांश भ्याक्सिन निष्क्रिय भाइरसको प्रयोग गरेर उत्पादन भइरहेका छन् । सामान्यतः खोपको माध्यमबाट शरीरमा निष्क्रिय भ्याक्सिन प्रयोग गरेर शरीरको प्रतिरोधी क्षमतालाई सक्रिय पार्ने काम गर्छ । 

सिनोभ्याक

चाइनिज निजी कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोनाभ्याक नामक औषधि निष्क्रिय भाइरसमा आधारित भ्याक्सिन हो । जुन क्लिनिकल परीक्षणको समयमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिन निर्माण गर्ने क्रममा चीन, बेलायत, इटली, स्पेन र स्विट्जरल्यान्डमा कोरोना भाइरसको नमुना संकलन गरी बनाइएको थियो । भ्याक्सिनमा निष्क्रिय भाइरस राखिएको छ, जसले शरीरमा रहेको प्राकृतिक प्रतिरोधीलाई बढाउने हुँदा प्रतिरोधीले कोभिड भाइरसविरुद्ध लड्ने काम गर्छ । 

सिनोफर्म

सन् २०२० को सुरुवातमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्सले बिबिआइबिपी कोर भी नामक कोभिडविरुद्धको भ्याक्सिन निर्माण गरेको थियो । अन्वेषकहरूले कोरोना भाइरसको ठूलो स्टक उत्पादन गरेर बिटाप्रोपीओक्टनद नामक रसायनसँग मिसाएर प्रतिक्रिया तयार गरेका थिए । तिनीहरूले भाइरसको जिनसँग सम्बन्ध राखेर भाइरसलाई निष्क्रिय गर्न मद्दत गर्छन् । सुरुवातमा कोरोना भाइरस फैलिनबाट अक्षम भए पनि तिनीहरूको स्पाइक प्रोटिन कोषको सतहमा रहिरहन्छन् । अनुसन्धानकर्ताहरूले त्यसपछि निष्क्रिय भाइरसहरू आल्मुनियम सम्बन्धित कम्पाउन्डहरू मिसाएर राखिएको थियो । जसले शरीरमा रहेको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने हुँदा शरीरमा भाइरसहरू प्रवेश गर्नबाट रोक्न सकिन्छ । सामान्यतः भाइरसविरुद्धका खोप निर्माण गर्दा सोही निष्क्रिय भाइरस प्रयोगमा ल्याइन्छ । 

भारत बायोटेक

भारतले निर्माण गरेको यो भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममै रहे पनि भारत सरकारले प्रयोगका लागि अनुमति दिइसकेको छ, जुन निष्क्रिय भाइरसमा आधारित छ । निर्माणको क्रममा अन्वेषकहरूले कोरोना भाइरसको ठूलो स्टक उत्पादन गरे, जसलाई बिटा प्रोपिओक्टेलोन भन्ने रसायनसँग मिलाए । यसले जिनसँग सम्बन्ध राखेर भाइरसलाई निष्क्रिय पार्ने काम गर्छ । बिस्तारै भाइरसले शरीरमा थप आरएनए उत्पादन गर्न सक्दैन र फलस्वरूप शरीरमा भाइरसको प्रभुत्व घट्दै जान्छ ।