१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १४ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १४ बुधबार २२:oo:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुधबार दिनभरका मुख्य खबर

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १४ बुधबार २२:oo:oo

पहिलो दिन नौ हजार ८४ जनाले लगाए कोभिडविरुद्धको खोप 

कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अभियानको पहिलो दिन नै स्वास्थ्यकर्मीहरूको उत्साहजनक संलग्नता रहेको उनले बताए । बुधबार खोप प्राप्त गर्नेमा प्रदेश १ का एक हजार दुई सय ५५, प्रदेश २ का सात सय २६, बागमतीका दुई हजार ६ सय ९४, गण्डकीका एक हजार आठ सय ४३, लुम्बिनीका सात सय ३३, कर्णालीका सात सय ५१ र सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जना रहेका छन् । प्रवक्ता डा. गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए । मन्त्रालयले अभियानको पहिलो दिनमै खोप लगाउने व्यक्ति तथा सेवा प्रदायकहरूको स्वस्फूर्त र उल्लेख्य सहभागिता भएको जनाएको छ । 

प्रधानमन्त्री पुगे छाउनी अस्पताल, खोप केन्द्रको अनुगमन

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओली बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल पुगेर कोभिडविरुद्ध खोप केन्द्रको गतिविधि अनुगमन गरेका छन् । वीरेन्द्र सैनिक अस्पताललाई नेपाल सरकारले कोभिड– १९ विरुद्ध विभिन्न खोप केन्द्रहरूमध्ये एउटा तोकेको छ । प्रधानमन्त्री ओलीलाई सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले अस्पतालमा स्वागत गरेका थिए । जंगी अड्डाका अनुसार बुधबारै वीरेन्द्र अस्पताल तथा अन्य सैनिक अस्पतालहरूमा कार्यरत अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायतलाई खोप लगाउन थालिएको छ । बुधबार छाउनी अस्पतालस्थित खोप केन्द्रमा एक सय ४० जना र उपत्यकाबाहिरका अन्य सैनिक अस्पतालहरूमा ३७ जना गरी जम्मा एक सय ७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई खोप लगाइएको जंगी अड्डाले जनाएको छ । खोप १० दिनसम्म लगाउने कार्यक्रम छ ।

तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।  बुधबार कोभिड– १९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका हुन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन सुरु गरिएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीलगायतलाई लगाउन सुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनुपर्ने हुन्छ ।

विश्वमा कोभिड– १९ संक्रमितको संख्या दश करोड नाघ्यो 

चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको एक वर्षमा विश्वभर यसबाट संक्रमित हुनेको संख्या दश करोड (एक सय मिलियन) नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बुधबारसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या दश करोड आठ लाख ५३ हजारभन्दा बढी पुगेको छ । यो एक वर्षमा विश्वका शक्तिशाली राष्ट्रहरूले समेत कोरोना भाइरस महामारी रोक्न कर्फ्यु, यात्रा प्रतिबन्ध, लकडाउनलगायत विभिन्न हथकण्डा अपनाए । तर, कोरोना भाइरस पूर्ण नियन्त्रणमा आउन सकेको छैन । यसका कारण विश्वको अर्थव्यवस्था जीर्ण बनेको छ । जसले विश्वभर गरिबलाई झन् गरिब र अन्य प्रकारका जटिलता थप समस्याग्रस्त बनेको छ । यद्यपि, कतिपय देशका प्रमुखले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालेका कारण चाँडै नै सामान्य अवस्थामा फर्किएका छन् भने कैयौँ देशले महामारीलाई सामान्य रूपमा लिँदा भयावह अवस्थासमेत आएको छ । जस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड, चीनजस्ता देशले कोरोना महामारीबाट खासै धेरे मानवीय क्षति व्यहोर्नुपरेन, तर अमेरिका, ब्राजिलजस्ता देशले महामारीलाई अवमूल्यन गर्दा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ ।  

चीनमा कोरोना भाइरसका नयाँ संक्रमित दिनदिनै बढ्दै

चीनमा कोरोना भाइरसका नयाँ संक्रमित हरेक दिन बढ्दै गइरहेका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार गत वर्षको डिसेम्बरमा पहिलोपटक देखिएयता हरेक दिनजसो संक्रमितहरू फेला परिरहेका छन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा यो भाइरस भेटिएको हो । वुहानबाट यो भाइरस संसारका विभिन्न देशमा पुगिसकेको छ । ती देशमा अहिले पनि संक्रमित हुने क्रम जारी नै रहेकाे समाचार आइरहेका छन् । यसरी वर्ष दिन पुगिसक्दा पनि भाइरसको नियन्त्रण हुन सकेको छैन । तर, चीनले भने ६ महिनाभन्दाअघि नै यहाँ कोरोना भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर, पछिल्ला दिनमा भने फेरि यसका संक्रमितहरू देखिन थालेको चीन सरकारले जनाएको छ । चीन सरकारका अनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरूका अनुसार मंगलबार मात्रै पनि चीनमा ७५ जनामा संक्रमण देखिएको छ । तीमध्ये थप ५५ जना स्वदेशमा नै थिए । यस्तै अरू २० वटा नयाँ घटना बाहिरबाट आएका व्यक्तिमा देखिएकाे छ । 

मुख्य न्यायाधीश नियुक्तिमा असन्तुष्टि, शपथग्रहणमा उपस्थित भएनन् वरिष्ठतम् न्यायाधीश

तीनजना मुख्य न्यायाधीश नियुक्तिमा न्यायपरिषद्का सदस्य रहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले असन्तुष्टि जनाएका छन् । नवनियुक्त न्यायाधीशहरूको शपथग्रहण कार्यक्रम कार्यक्रममा समेत बुधबार कार्की अनुपस्थित भएका छन् । मुख्य न्यायाधीश नियुक्तिमा वरिष्ठलाई बढुवा नगरी सर्वोच्चका मुख्य रजिस्ट्रारलाई नियुक्त गरिएपछि उनी असन्तुष्ट बनेको उनीनिकट सर्वोच्च स्रोत बताउँछ । न्यायपरिषद्ले मुख्य न्यायाधीश नियुक्तिको नियुक्ति गर्ने क्रममा सर्वोच्चकै मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा लैजाने निर्णय गरेयता उनी अदालत आएका छैनन् । ‘प्रधानन्यायाधीशले आफ्नो मान्छे भनेर मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा सिफारिस गर्नुभएछ,’ सर्वाेच्च स्रोतले भन्यो, ‘तर, दीपककुमार कार्कीले उहाँभन्दा निकै वरिष्ठहरू मुख्य न्यायाधीश बन्न नसकेकाले पहिले न्यायाधीशमा नियुक्त गरेर अनि पछि मात्र मुख्य न्यायाधीश दिने भन्ने कुरा गर्नुभएको थियो ।’ तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उनको कुरा नमानेपछि केही दिन अघि कार्की आक्रोशित भएर बैठकबाट निस्किएका थिए । 

प्रहरीको रासनभत्ता ५० प्रतिशत बढाउन प्रस्ताव

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । पछिल्लो पाँच वर्षयता रासनभत्ता वृद्धि नभएकाले अहिलेको पाँच वर्षको हिसाब गरी एकमुष्ठ ५० प्रतिशत बढाउन दुई प्रहरी संगठनले गृह मन्त्रालयमा सिफारिस गरेका छन् । मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । यही माघदेखि नै लागू हुने गरी रासनभत्ता बढाउन गृहकार्य भइरहेको छ । २०७२ को माघयता रासनभत्ता वृद्धि हुन सकेको छैन ।रासनभत्ता वृद्धिका लागि दुवै प्रहरीबाट प्रस्ताव आएको तर निर्णय भइनसकेको सहसचिव गौतमले बताए । ‘रासनभत्ता कति बढाउने भन्ने विषय छलफलमै छ,’ उनले भने, ‘केही दिनभित्रै यसलाई टुंग्याउँछौँ ।’ गौतम नेतृत्वको समितिमा अर्थ मन्त्रालय र दुवै प्रहरीका प्रतिनिधि छन् । अर्थ मन्त्रालयले रासनभत्ता बढाउन बजेटले भ्याउने बताएपछि गृहले त्यसको सिफारिस गर्न समिति गठन गरेको हो ।

उपत्यकाका सडकमा अब ‘टल्कने कोन’

उपत्यकामा सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टल्कने ट्राफिक कोन राख्न सुरु गरेको छ । रातको समयमा सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले उपत्यकाका सडकमा यस्तो कोन राख्न सुरु गरेको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विभाग, स्थानीय निकाय र अन्य निजी संघसंस्थाको सहयोगमा सडकमा कोन राख्न सुरु गरिएको हो । महाशाखाले काठमाडौं उपत्यकाको चक्रपथ तथा चक्रपथबाहिर २६ स्थान र चक्रपथभित्रका आठ गरी कुल ३३ स्थानमा यस्ता कोनहरू राखेको हो । उक्त स्थान उपत्यकाभित्रका सबैभन्दा धेरै सवारी दुर्घटना हुने स्थान हुन् । 

मन्त्रिपरिषद्का तीन बैठक : यस्ता छन् निर्णय

सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेस गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को गत ११ माघको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समिति गठन गरेको हो । समितिले सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने र उनीहरूलाई नेपाल सरकारको तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउने सम्बन्धमा मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्ताव पेस गर्ने भएको छ । यस्तै, बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्ने निर्णय पनि गरेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ अनुरूप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएकाबाहेकका सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन र साझेदारी वनमा कटान भई घाटगद्दीमा रहेका वन र क्षेत्रमा विभिन्न अवस्थामा रहेका काठ–दाउरा प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री–वितरण तथा ओसारपसार खुला गर्ने निर्णय पनि गरेको छ । 

कहिलेकाहीँ बेपर्वाह हिँडौँ, त्यहाँ खुसी मिल्छ 

जीवन सानाठूला घटना र तीसँग जोडिएका अनुभवहरू मिलेर बितिरहेको हुन्छ । जीवन कसरी बिताउने र के कुरामा केन्द्रित हुने भन्ने विषय व्यक्तिको स्वभाव, अवस्था र जीवनशैलीमा भर पर्ने गर्छ । सामान्यतया अधिकांश व्यक्तिले समाज, परिवार र आफू वरपरको वातावरणले निर्धारण गरेको सीमाका आधारमा जीवनयापन गरिरहेका हुन्छन् । यस्तै, कतिपय अभावका कारण पनि समय आफूअनुकूल नभइरहेको पनि हुन सक्छ । यस्ता विभिन्न कार्यहरू हुन्छन्, जुन आधारभूत आवश्यकताभित्र परे पनि बेवास्ता गरिरहेका हुन्छौँ । बढ्दै गएको व्यस्त जीवनशैलीको ट्रेन्डबीच आफूलाई खुसी राख्नसमेत सामान्य क्रियाकलापमा ध्यान दिन आवश्यक देखिन्छ । 

ट्याक्टर परेड : माग पुरा गराउने विश्वभरका किसानको साझा विरोध शैली 

भारत सरकारले लागू गरेको किसानसम्बन्धी तीनवटा कानुन खारेजको माग राख्दै किसानहरूले दुई महिनादेखि लगातार विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन् । यही क्रममा गणतन्त्र दिवसको अवसरमा मंगलबार उनीहरूले विरोधस्वरूप नयाँदिल्लीमा ट्याक्टर परेड निकालेका थिए । उनीहरूले प्रतिकात्मक स्वरूपमा ट्याक्टर ¥याली निकालेको जनाएका हुन् । ¥यालीका क्रममा सुरक्षाकर्मी र आन्दोलनरत किसानबीच झडप हुँदा एकजनाको ज्यानसमेत गएको छ । सरकार र किसानबीच पटक–पटक वार्ता भए पनि त्यसको निष्कर्ष निस्केको छैन । पछिल्लो समय किसानहरूले राजधानी नयाँदिल्ली केन्द्रित आन्दोलन गरिरहेका छन् ।
 

ad
ad
ad
ad