एमबिबिएसको शुल्क १५ प्रतिशत बढाउन सिफारिस

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

अहिले ४० लाख, शुल्क बढाउँदा ४६ लाख पुग्ने, अन्य कार्यक्रममा पनि १५ प्रतिशत बढाउन सिफारिस, तर आयोग अन्योलमै

एमबिबिएसलगायत चिकित्सा शिक्षाको स्नातक तहको शुल्क १५ प्रतिशत बढाउन सिफारिस गरिएको छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको शुल्क निर्धारण गर्न गठन गरेको कार्यदलले शुल्क बढाउन सिफारिस गरेको हो । 

अबको नयाँ शैक्षिक सत्रबाट कार्यान्वयन हुने गरी नयाँ शुल्क निर्धारण गर्न आयोगले कार्यदल बनाएको थियो । आयोगका निर्देशक प्रा.डा. रमेश आचार्यको संयोजकत्वमा गठन गरिएको कार्यदलले १५ प्रतिशत शुल्क बढाउन सकिने प्रतिवेदन बुझाएको छ । कार्यदलले प्रस्ताव गरे पनि अहिलेको परिस्थितिमा शुल्क बढाउने वा नबढाउने भन्ने विषयमा आयोगकै सदस्यहरू एकमत नहुँदा टुंगो लागेको छैन । 

शुक्रबार बसेको आयोगको बैठकमा आयोगका सहअध्यक्षहरू शिक्षा तथा स्वास्थ्यमन्त्री, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूले पनि शुल्क बढाउने विषयमा विस्तृत अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । निजी मेडिकल कलेजका सञ्चालकले शुल्क वृद्धि हुनुपर्ने दबाब दिए पनि आयोगका अधिकांश सदस्यले समर्थन गरेका छैनन् । 

आयोगको बैठकमा अधिकांश सदस्यहरू कोभिड–१९ महामारीका कारण आर्थिक अवस्था राम्रो नभएको र अभिभावकलाई भार बढ्ने भएकाले शुल्क निर्धारणका विषयमा विस्तृत अध्ययन गर्नुपर्ने पक्षमा देखिएका थिए । आयोगले नयाँ भर्ना गर्नुपर्ने समय नजिकिएकाले बैठकमा शुल्क निर्धारणको प्रस्ताव लगेको थियो । यस्तो अवस्थामा शुल्क बढाउँदा विवाद आउन सक्ने भएकाले सदस्यहरू सचेत भएको बैठकमा सहभागी एक अधिकारीले बताए । 

यदि कार्यदलको सिफारिसअनुसार, आयोगले निर्णय गरेमा एमबिबिएसको शुल्क साढे ४६ लाख पुग्नेछ । यसअघि आयोगले उपत्यकामा एमबिबिएसका लागि ४० लाख २३ हजार दुई सय ५० रुपैयाँ निर्धारण गरेको थियो । त्यस्तै, बिडिएसमा २० लाख १९ हजार पाँच सय ८० निर्धारण गरेको थियो । शुल्क बढेमा बिडिएसको २३ लाख पुग्नेछ । अझ उपत्यकाबाहिर निर्धारित शुल्कको १० प्रतिशत बढी लिन पाउने व्यवस्था रहेको छ । 

यसअघि एमबिबिएस र बिडिएसको मात्र शुल्क निर्धारण गरेको आयोगले यस वर्ष नर्सिङको शुल्क पनि निर्धारण गर्ने भएको छ । यसअघि एमबिबिएस र बिडिएसबाहेकका विषयमा विश्वविद्यालयले शुल्क तोक्ने अधिकार दिएको थियो । विश्वविद्यालयलाई अघिकार दिँदा फरक–फरक शुल्क निर्धारण भएकाले आयोगले यस वर्ष औसत शुल्क निर्धारण गर्न सिफारिस भएको छ । 

आयोगका प्रवक्ता एवं सदस्यसचिव डिल्लीराम लुइँटेलले बैठकमा स्नातक तहका कार्यक्रमको शुल्कका विषयमा छलफल भएको बताए । ‘आयोगको बैठकमा शुल्क निर्धारणको प्रस्ताव पेस भएर छलफल भएको हो, विस्तृत अध्ययन गरेर शुल्कको विषयमा आयोगले निर्णय गर्छ,’ प्रवक्ता लुइँटेलले भने । शुल्क वृद्धिका लागि सिफारिस भए पनि के गर्ने भन्ने आयोगले निर्णय गर्ने उनको भनाइ छ । 

मुद्रास्फीति बढेकाले शुल्क बढाउनुपर्ने तर्क
निजी मेडिकल सञ्चालकले नेपालमा मुद्रास्फीति बढेकाले शुल्क बढाउनुपर्ने तर्क गरेका छन् । कार्यदलमा निजी मेडिकल कलेजका प्रतिनिधिहरूको समेत प्रतिनिधित्व थियो । उनीहरूले सकेसम्म धेरै शुल्क बढाउन दबाब दिएका थिए भने सरकारी प्रतिनिधिले कम गर्न पहल गरेका थिए । नेपालमा गत वर्ष मुद्रास्फीति ४.५ र अहिले ६.१५ रहेकोलगायतका आधारमा कार्यदलले १५ प्रतिशत शुल्क बढाउन सिफारिस गरेको एक सदस्यले बताए । 

कार्यदलमा प्रा.डा. आचार्यको संयोजकत्वमा प्रा.डा. दिलीप शर्मा, सिए महेश गुरागाईं, काठमाडौं विश्वविद्यालयका प्रशासन प्रमुख दीपक दाहाल, शिक्षा र अर्थ मन्त्रालयका एक–एकजना प्रतिनिधि, निजी मेडिकल कलेज सञ्चालकको तर्फबाट डा. सुरेश कनौडिया र डा. नटराज प्रसाद रहेका थिए ।

एमबिबिएसमा एकीकृत प्रवेश परीक्षाको तयारी
चिकित्सा शिक्षा ऐनअनुसार, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पहिलोपटक एमबिबिएसलगायत स्नातक तहका चिकित्सा शिक्षाका कार्यक्रममा एकीकृत प्रवेश परीक्षाको तयारी गरेको छ । यसअघि शिक्षा मन्त्रालयले छात्रवृत्तिमा विद्यार्थी छनोट गरेर पठाए पनि यो वर्षदेखि आयोगले नै एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी छात्रवृत्तिमा पठाउने भएको छ । 

पहिलोपटक एमडी÷एमएसको एकीकृत परीक्षा लिएर नतिजासमेत सार्वजनिक गरिसकेको छ । आयोगले डिएम÷एमसिएच तथा एमबिबिएसको प्रवेश परीक्षाको तयारी गरिरहेको छ । आयोगका सदस्यसचिव एवं प्रवक्ता डिल्लीराम लुइँटेलले एमबिबिएसको प्रवेश परीक्षाको पाठ्यक्रम बनिसकेको बताए । अब विज्ञबाट नमुना प्रश्नपत्र निर्माण गरी सार्वजनिक गर्ने बताए । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि एमबिबिएसको परीक्षाको प्रक्रिया सुरु हुनेछ । 

ऐनले सार्वजनिक शैक्षिक संस्थामा स्नातक तहमा कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको भए पनि अझैसम्म टुंगो नलाग्दा चिकित्सा शिक्षा आयोग पनि अन्योलमा छ । एमबिबिएसको सिट निर्धारण गर्दा नै सार्वजनिक वा निजी शैक्षिक संस्था छुट्याउनुपर्छ । ऐनअनुसार, सार्वजनिक संस्था धेरै भए पनि सरकारको प्रत्यक्ष लगानी भएका संस्थामा मात्रै कार्यान्वयनमा ल्याएको छ । 

ऐनले गरेको सार्वजनिक शैक्षिक संस्थाको परिभाषाअन्तर्गत पर्ने नेपाली सेनाको मेडिकल कलेज, काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पताललगायतमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्छ । तर, अहिलेसम्म पनि टुंगो लागेको छैन । 

सुझावित समाचार