१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा हरेक दिन ३५ टन विद्युतीय फोहोर उत्पादन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२२:oo

नेपालमा प्रत्येक दिन ३५ सय टन विद्युतीय फोहोर उत्पादन हुने गरेको पाइएको छ । बढ्दो विद्युतीय सामग्रीको प्रयोगसँगै विद्युतीय फोहोरको परिमाण पनि बढ्दै गएको त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक डा. ज्योति गिरीले बताइन् । उनका अनुसार उत्पादन हुने फोहोरमध्ये मेटलको हिस्सा २ प्रतिशत, प्लास्टिकको १२ प्रतिशत, पेपरको ९ प्रतिशत, सिसाको ३ प्रतिशत, टेक्सटायलको २ प्रतिशत, रबरको १ प्रतिशत र अन्यको ५ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, अर्गानिक फोहोर सबैभन्दा बढी ६६ प्रतिशत हिस्सा रहेको छ । विद्युतीय फोहोरअन्तर्गत मेटल र प्लास्टिकजन्य सामग्री पर्ने उनले बताइन् । 

नेपालमा विद्युतीय फोहोरमा सबैभन्दा बढी हिस्सा सिआरटी डेस्कटपको रहेको छ । सन् २०१६ मा काठमाडौंमा गरिएको अध्ययनअनुसार यस्तो खालको फोहोरको हिस्सा ३१ प्रतिशत छ । त्यस्तै, सिआरटी टिभीबाट उत्पादन भएको विद्युतीय फोहोरको हिस्सा ३० प्रतिशत रहेको छ । दुई दशकअघि नेपालमा ठूलो मनिटर भएका कम्प्युटर र टिभीको प्रयोग गरिन्थ्यो ।

अहिले ती सामग्रीलाई एलसिडीले विस्थापित गरेका छन् । जसका कारण ती सामग्री अब विद्युतीय फोहोरमा रूपान्तरण भएको गिरीले बताइन् । ‘आगामी २० वर्षमा अहिले प्रयोग गरिएका सामग्री फोहोरमा परिणत हुनेछन्,’ उनले भनिन्, ‘दुई दशकअघि नेपालमा विद्युतीय सामग्रीको प्रयोग ज्यादै न्यून थियो ।’  त्यस्तै, रेफ्रिजेरेटरको १६ प्रतिशत, वासिङ मेसिनको १० प्रतिशत, ल्यापटपको ४, एलसिडी टिभी र डेस्कटपको ३–३, मोबाइलको १ र अन्यको २ प्रतिशत हिस्सा रहेको उनले बताइन् । 

नेपालीको आम्दानीसँगै विद्युतीय फोहोर उत्पादनमा समेत वृद्धि हुन थालेको छ । आम्दानीको ठूलो हिस्सा विद्युतीय सामग्री खरिदमा लगानी गर्न थालेपछि विद्युतीय फोहोर बढ्न थालेको डा. गिरीले बताइन् । रोजगारीमा जाने कामदारले भित्र्रयाउने विद्युतीय सामग्री तथा रेमिट्यान्स विभिन्न खालका सञ्चारका साधनमा खरिदमा प्रयोग हुँदा नेपालमा विद्युतीय फोहोर बढ्दो क्रममा छ । 

विश्वमा चीनमा सबैभन्दा बढी विद्युतीय फोहोर उत्पादन हुन्छ । डा. गिरीका अनुसार चीनमा वार्षिक ७ हजार २ सय ११ किलोटन विद्युतीय फोहोर उत्पादन हुन्छ । अमेरिकामा ६ हजार २ सय ५ किलोटन, जापानमा २ हजार १ सय ३९, भारतमा १ हजार ९ सय ७५, जर्मनीमा १ हजार ८ सय ८४, युकेमा १ हजार ६ सय ३२, ब्राजिलमा १ हजार ५ सय ३४, रसियामा १ हजार ३ सय ९२, फ्रान्समा १ हजार ३ सय ७३ र इन्डानेसियामा १ हजार २ सय ७५ किलोटन विद्युतीय फोहोर उत्पादन हुन्छ ।

कोरोना महामारीले विद्युतीय सामग्रीको प्रयोग झन् बढाएको विद्युतीय अनुसन्धानकर्तासमेत रहेकी डा. गिरीले बताइन् । ‘कोरोना संक्रमण परीक्षणका लागि जताततै थर्मलगन, थर्मोमिटरलगायतका नयाँ खालका प्रविधि प्रयोग भएका छन् । भोलिका दिनमा यो पनि विद्युतीय फोहोरमा परिणत हुनेछ,’ उनले भनिन् । 

दिन–प्रतिदिन बढ्दै गएको विद्युतीय फोहोरको व्यवस्थापनमा सरकारले नीतिगत व्यवस्था नगरेको पूर्वविज्ञानमन्त्री गणेश शाहले बताए । सरकारले अन्य फोहोरको समेत व्यवस्थापन गर्न नसकेको अवस्थामा विद्युतीय फोहोरो व्यवस्थापनमा योजना नबनाएको उनले बताए । पछिल्लो दशकमा विस्तार भएको विद्युतीय सामग्रीको उपयोग अबको दशकमा फोहोरका रूपमा आउनेछ । यही दशकमा व्यवस्थापनका लागि आवश्यक कदम नचाल्ने हो भने गम्भीर समस्याका रूपमा आउने पूर्वमन्त्री शाहले बताए । 

ad
ad