मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार २२:००:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबार दिनभरको मुख्य खबर

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार २२:००:००

काठमाडौं आइपुग्यो भारतले दिएको भ्याक्सिन 

भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज भ्याक्सिन बिहीबार बिहान काठमाडौं आइपुगेको छ। भारतले एयर इन्डियाको विमानमार्फत सो भ्याक्सिन पठाएको हो । यो भ्याक्सिन चार लाख मानिसलाई लगाउने नेपाल सरकारको तयारी छ। उक्त भ्याक्सिन त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगे वाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । उनी अघिल्लो महिना मात्रै नेपाली सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । उनको कार्यकाल १ जनवरीबाटै सुरु भइसकेको छ । उनी आफ्नो जिम्मेवारी सम्हाल्न केही दिनअघि काठमाडौं आइपुगेका हुन् । 

बेलायतमा एकै दिन एक हजार आठ सय २० जना कोभिड संक्रमितको मृत्यु

बेलायतमा एकै दिन एक हजार आठ सय २० जना कोभिड संक्रमितको मृत्यु भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्रै बेलायतमा भाइरसका कारण यति धेरै नागरिकको ज्यान गएको हो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेसम्ममा यति धेरैजनाको एकै दिनमा ज्यान गएको यो पहिलोपटक भएको जनाएका छन् । उनीहरूको जानकारीअनुसार बुधबारसम्ममा यहाँ ९३ हजार दुई सय ९० जनाको कोरोना भाइरसबाट निधन भइसकेको छ । उनीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।

ह्वाइटहाउसमा बाइडेनको पहिलो दिन, १५ निर्णय

राष्ट्रपति बनेलगत्तै जो बाइडेनले ट्रम्प प्रशासनका केही नीति उल्टाइदिए 

अमरिकाका ४६औँ राष्ट्रपतिको पद सम्हालेलगत्तै जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका केही निर्णय उल्टाएका छन् । क्यापिटल हिलमा बुधबार आयोजित शपथग्रहण कार्यक्रमपछि ह्वाइटहाउस पुगेका बाइडेनले विभिन्न १५ निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ । ट्रम्पले आफ्नो कार्यकालमा जलवायु परिवर्तन तथा छिमेकी राष्ट्रसँगको सिमानामाथि अडान लिएका थिए । तर, बाइडेन यस विषयमा लचिलो बनेका छन् । जलवायु संकट तथा आप्रवासनसम्बन्धी ट्रम्प प्रशासनको नीति पनि परिवर्तन हुने उनले जनाएका छन् । बाइडेनले शपथग्रहणपछिको भाषणमा आफूसँग अनावश्यक रूपमा खर्च गर्ने समय नभएको र वर्तमान संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएका थिए । ‘अहिले धेरै काम गर्नु छ, मसँग समय नै छैन, एक सेकेन्ड पनि समय खेर नफाली हामी सबैले काम गर्नुपर्छ, यसअघि पनि भनिसकेको थिएँ कि राष्ट्रपति भएको सात दिनभित्र अमेरिकाको हितका लागि सात निर्णय गर्ने छु,’ उनले भने । 

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरूले दोस्रो चरणमा खोप लगाउने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरूले दोस्रो चरणमा कोभिड– १९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही १६ जनवरीमा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो । जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदै छ । सरकारी अधिकारीहरूका अनुसार आगामी मार्च वा अप्रिलमा सुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदलाई खोप दिने तयारी छ । 

ओलीको प्रतिगामी कदमले मुलुक संकटमा पऱ्यो : माधव नेपाल 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखे पनि पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याइपुऱ्याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरे पनि नसकिएको बताए । उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधानविरोधी, अलोकतान्त्रिक कदमहरू चालेका छन्,’ उनले भने, ‘उनले चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको छ ।’

जनार्दन शर्माको दाबी– कर्णालीमा ओली पक्ष छैन 

नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले कर्णालीमा केपी ओलीको पक्ष नभएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित भेलालाई सम्बोधन गदै शर्माले यस्तो बताएका हुन् । देशको सबैभन्दा गरिब प्रदेशको रूपमा रहेकाले कर्णालीको समृद्धिका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नचाहेकाले कर्णालीमा ओली पक्ष नभएको शर्माको दाबी छ । ‘कर्णालीको डोल्पामा पुल छैन, हुम्लामा सडक छैन, ओलीले कर्णालीलाई अधिकार दिएनन्, बजेट दिन चाहेनन्, त्यही कारण कर्णालीमा ओलीका पक्षधर छैनन् ।’

अब के हुन्छन् ‘सांसद विकास कोष’का योजना ? 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि सांसद विकास कोषका नामबाट परिचित ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’अन्तर्गतका योजना के हुन्छन् ? सांसददेखि कार्यक्रमबाट लाभान्वित नागरिकसम्मको चासो छ । संसद् विघटन भए पनि चालू आर्थिक वर्षमा यी कार्यक्रममा कुनै असर नपर्ने देखिएको छ । चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संसद् विघटन हुनुले यो कार्यक्रमलाई जारी राख्न कुनै समस्या पार्दैन । कार्यक्रम स्विकृत भई कामसमेत अघिबढिसकेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । ‘कार्यक्रम स्वीकृत भइसकेको, कार्यविधि बनिसकेको र तोकिएको दिनभित्र योजना छनोट गरेर पालिकाहरूमा गइसकेको छ, मन्त्रालयलाई जानकारी पनि प्राप्त भइसकेको अवस्था छ । प्रतिनिधिसभा विघटनले यसलाई कुनै पनि असर पार्दैन,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले भने । 

केही मान्छेको तमासाबारे जनतालाई सजग बनाउनुपर्छ : प्रधानमन्त्री ओली (भिडियोसहित)

प्रधानमन्त्री केपी ओलीले आफूहरू देश बनाउने अभियानमा रहेको दाबी गरेका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘हामी कुनै आवेग, उत्तेजना र आक्रोशमा छैनौँ । कसैप्रति आग्रह र दुराहग्रह साँध्नु पनि छैन । हामी रातो झण्डा फहराउनेवाला हौँ । पेरिसडाँडामा जस्तो कालोझण्डा फहराउनेवाला होइनौँ, रातो बेलुन उडाउँछौँ, कालो बेलुन उडाउनेवाला होइनौँ, राष्ट्रिय झण्डा फहराउँछौँ, कालो झण्डा फहराउँदैनौँ । चम्किलो, उज्यालो भविष्यतर्फ अगाडि बढिरहेका छौँ, किनभने हामीलाई देश बनाउनु छ ।’

देशव्यापी प्रदर्शनले जनताको भावना अभिव्यक्त गरेको छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार व्यक्त गरेका छन् । केपी ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध भन्दै कांग्रेसले बिहीबार देशव्यापी विरोध प्रदर्शन गरेको हो । ‘आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ,’ विज्ञप्ति जारी गरेर देउवाले भनेका छन् । कांग्रेसले बिहीबार देशभरका ६ हजार सात सय ४३ वडाबाट विरोध गरेको छ । 

रोनाल्डोले राखे सर्वाधिक गोल गर्ने विश्वकीर्तिमान

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्व फुलबलमा धेरै गोल गर्ने विश्वकीर्तिमान राखेका छन् । इटालियन सुपर कपमा बुधबार राति रोनाल्डोले नेपोलीविरुद्ध दुई गोल गरेसँगै उनी व्यक्तिगत धेरै गोल गर्ने खेलाडी बनेका हुन् । इटालियन सुपरकपमा रोनाल्डोकै दुई गोलका कारण युभेन्ट्सले नेपोलीलाई २–० ले हरायो । रोनाल्डोले कीर्तिमान रच्ने क्रममा अस्ट्रियाका जोसेफ विकान र ब्राजिलका पेलेलाई पछि पारेका हुन् । रोनाल्डोको नाममा अब सात सय ६० गोल भएको छ । यसअघि विकानले सर्वाधिक सात सय ५९ गोलको विश्वकीर्तिमान राखेका थिए । नेपोलीसँगको प्रतिस्पर्धाअघि रोनाल्डो सात सय ५८ गोलका साथ दोस्रो स्थानमा थिए । पेलेले आफ्नो करिअरमा सात सय ५७ गोल गरेका छन् । रोनाल्डोका प्रत्याशी अर्जेन्टिनी लियोनल मेसी सात सय ४२ गोलका साथ तेस्रो स्थानमा छन् । रोनाल्डोको रेकर्ड बराबरी वा तोड्न सक्ने खेलाडीमा मेसी मात्रै छन् । मेसीले रोनाल्डोको विश्वकीर्तमान गोलसंख्या बराबरी गर्न थप १८ गोल गर्नुपर्छ । ब्राजिलका विश्व च्याम्पियन खेलाडी रोमारियो सात सय ३४ गोलका साथ चौथो स्थानमा छन् ।

सुरक्षा घेरामा ओली समूहको युवा भेला 

सप्तरीमा तनावैतनावबीच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षले राजविराजस्थित रंगशालामा बिहीबार ‘बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रम’ गरेको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्यद्वय सुखराम यादव र जगदीश साह, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतलगायतले सम्बोधन गरेका छन् । उनीहरूले ओलीले मधेससहित सिंगो देशको पक्षमा काम गर्दा विरोधीहरू आत्तिएको दाबी गरेका छन् । ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको र चुनावमा जाने निर्णय लोकतान्त्रिक र संवैधानिक भएको उनीहरूको जिकिर छ ।

वर्षमानको प्रश्न– ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ? 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रतिनिधिसभा विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।  पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरका आधारमा न्यायोचित फैसला गर्ने उल्लेख गरे । प्रतिनिधिसभा विघटनलाई ओली समूहबाहेक सबै राजनीतिक दल, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानुनविद्, नागरिक अगुवा, सामाजिक अभियन्ता र सार्वजनिक सञ्चार सबैले असंवैधानिक भनेकाले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नरहेको उनको भनाइ छ । 

भ्याक्सिन लगाएपछि कमजोर महसुस हुनु सामान्य हो ?

भारत सरकारले नेपाललाई अनुदानमा दिएको भ्याक्सिन बिहीबार नेपाल आइपुगेको छ । अक्सफोर्ड÷एस्ट्राजेनेका र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक भ्याक्सिनको १० लाख डोज नेपाल आइपुगेको हो । भ्याक्सिन नेपाल आइपुगेसँगै महामारी नियन्त्रणमा आशा बढेको छ । तर, भ्याक्सिन उपलब्धताको खुसीसँगै यसको साइडइफेक्टले आममानिसमा त्रास पनि बढाइरहेको छ । भारतमा पछिल्लो समय प्रयोग भइरहेको कोभिसिल्ड र कोभ्याक्सिनले साइडइफेक्ट देखाएका समाचारसमेत आइरहेका छन् । भ्याक्सिन लगाएपछि भारतमा देखिएको साइडइफेक्ट तुलनात्मक रूपमा कम भएको र जोखिमयुक्त नभएको विज्ञहरूले आश्वासन दिएका छन् । तैपनि कोभिड भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेपछि भारत र अन्य देशका प्रयोगकर्ताले कमजोरी महसुस गरेको गुनासो गरिरहेका छन् ।