१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रिच बेन्जामिन
२०७७ माघ ६ मंगलबार ०८:५२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आन्दोलनले जन्माएका मार्टिन लुथर किङ

Read Time : > 3 मिनेट
रिच बेन्जामिन
२०७७ माघ ६ मंगलबार ०८:५२:००

डा. मार्टिन लुथर किङ जुनियरबारे ममा एउटा बलियो छाप परेको छ । जिज्ञासु आँखा, निर्दोष तथा सहज अनुहार र अनौपचारिक पहिरनका साथ देखिने डा. किङ मलाई कुनै घरायसी जमघटमा देखिने दाइभाइजस्तो लाग्छ । सन् १९६३ मा वासिङ्टनमा आयोजना भएको र्‍यालीमा डा. किङले आफ्नो सपना उजागर गरे । त्यो भाषण दिँदा उनी जम्मा ३४ वर्षका मात्र थिए । अमेरिकाको राष्ट्रिय औसत आयु ३८ पुगेको समयमा उनी आजका अधिकांश अमेरिकीभन्दा कान्छा हुने थिए । युवा भईकन पनि वा युवा भएकै कारणले डा. किङले इतिहासको बृहत्तर दृश्य बुझ्न सके । उनले एक असफल राष्ट्रपति र दक्षिणपन्थी डिजिटल मिडियाको उक्साहटमा अमेरिकी कंग्रेसमाथि भएको आक्रमणको अनुमान गर्न सकेका थिएनन् होला । तर, उनले दुई सिनेट चुनावमा अमेरिकाको दक्षिणी भेगका युवा उम्मेदवारको जितलाई पहिल्यै पूर्वानुमान गरेका थिए । ३३ वर्षका जोन ओसोफ र ५१ वर्षका राफायल वारनोकले जर्जिया राज्यका दुई सिनेट पदमा जित हासिल गरेका छन् । 

डा. किङ राम्रो वक्ता त थिए नै, साथमा उनी मतदातालाई राम्ररी परिचालन गर्न सक्थे । सन् १९६५ को प्रारम्भमा डा. किङको नेतृत्वमा अलाबामा राज्यको सेल्मामा मतदाता दर्ता अभियान सञ्चालन भएको थियो । हप्तौँहप्तासम्म विभिन्न र्‍यालीको नेतृत्व गर्दै डा. किङले सेल्माका सयौँ अश्वेत बासिन्दालाई न्यायालय लगे । एक मतदाता दर्ता र्‍यालीविरुद्ध कारबाही गर्ने क्रममा प्रहरी अधिकारीले उनीलगायत २५० प्रदर्शनकारीलाई कैद गरे । सोही दिन काउन्टी अधिकारीले विभेदविरुद्ध प्रदर्शन गरिरहेका पाँच सयभन्दा बढी स्कुले बालबालिकालाई समेत पक्राउ गरे । 

अलाबामाको मरिओननजिक सम्पन्न ¥यालीमा २६ वर्षका अश्वेत सिभिल राइट्स अभियन्ता जिम्मिली ज्याकसनको हत्यापछि डा. किङ, साउदर्न क्रिस्चियन लिडरसिप कन्फरेन्स र स्टुडेन्ट ननभायलन्ड कोअर्डिनेटिङ कमिटीले सेल्मादेखि मोन्टगोमेरीस्थित क्यापिटोलसम्म मताधिकार मार्च आयोजना गर्‍यो । यस मार्चमा ३९ वर्षीया होसिया विलियम र २५ वर्षिया जोन लेविसलगायत सयौँ प्रदर्शनकारीलाई एडमन्ड पेटस पुलबाट अघि बढ्न दिइएन । अलाबामा राज्यका प्रहरी तथा स्थानीय भिजिलान्तेले प्रदर्शनकारीमाथि लाठी तथा अश्रुग्यासको प्रयोग गरे । ‘ब्लडी सन्डे’ नामक त्यस हिंसाका क्रममा अन्य धेरैका अतिरिक्त पछि अमेरिकाको कंग्रेस सदस्य बनेका लेविसको टाउको फुटेको थियो । 

श्वेत राष्ट्रवादी तथा सत्यको खण्डन गर्नेको बिगबिगी रहेको अहिलेको समय मार्टिन लुथर किङ जुनियरको विरासतलाई स्मरण गर्ने उत्कृष्ट समय हो 

पछि संघीय सुरक्षासहित मार्च पुनः सुरु भयो । यो कारबाहीका लागि एउटा अलग विरासतले पृष्ठभूमि तयार गरेको थियो । सन् १९३० को दशकमा इला बेकरको अभियान पनि अघि बढिरहेको थियो । यही अवधिमा उनी न्युयोर्क सहरमा सामुदायिक संगठनकर्ताको रूपमा सक्रिय थिइन् । सन् १९४० को दशकको मध्यसम्म उनले आफ्नो प्रभाव अमेरिकाका दक्षिणी भेगभर फैलाइन् । उनले कैयौँ नश्लवादविरोधी समूहमा नयाँ सदस्य भर्ती गरिन् र नयाँ मतदातालाई मतदानका लागि प्रेरित गरिन् । यही जगमा टेकेर बेकर, विलियम, लेउस तथा डा. किङले नश्लवादविरोधी काम अघि बढाएका थिए । उनीहरूले व्यक्तिगत तथा काम गर्ने क्रममा धेरै कानुनी रूपमा समर्थन रहेको विभेदको सामना गरे । तर, विभेदका बाबजुद उनीहरू डग्मगाएनन् ।

श्वेत राष्ट्रवादी तथा सत्यलाई समर्थन गर्न नचाहनेहरूको संख्या बढिरहेको समयमा अमेरिकीहरूले यी अग्रगामी चेत भएका युवा नेतृत्वबाट पाठ सिक्नुपर्छ । आफ्ना अग्रगामी चेतको प्रयोग गरेर नै ती नेताहरू कठिन समयमा पनि आफ्नो लक्ष्यमा अटल रहन सके । हामी डा. किङ र उनका मित्रहरूले यति धेरै उपलब्धि कसरी हासिल गरे भन्ने जान्नका लागि तिनको सांगठनिक रणनीतिलाई अवलोकन गर्न सक्छौँ । उनीहरूको रणनीति अध्ययन गरेर तथा तिनलाई राजनीतिक शक्ति हासिल गर्न प्रयोग गरेर पनि उनीहरूलाई सम्मान दिन सक्छौँ । 

अहिले अमेरिकाको स्थानीयस्तरमा यस्ता धेरै नेता तथा संगठक काम गरिरहेका छन्, जो मानव समानता तथा शक्तिलाई पुनराकार दिइरहेका छन् । यसमा जर्जियाका अभियन्ताहरू सबैभन्दा चम्किलो उदाहरण बनेर अघि आएका छन् । न्यु जर्जिया, प्रोजेक्ट, ब्ल्याक भोटर्स म्याटर र जर्जिया स्ट्यान्ड–अपजस्ता समूहले सन् २०१६ पछि झन्डै पाँच लाख २० हजार मतदाताको नाम दर्ता गरायो । द न्यु जर्जिया प्रोजेक्ट एक्लैले यस आमचुनाव र त्यसलगत्तैको सिनेट चुनावमा झन्डै २० लाख घरमा पुगेर मतदान गर्न आग्रह गरेको थियो । त्यस्तै, ६० लाख फोन तथा ४० लाख म्यासेजसमेत सम्प्रेषित भएका थिए । 

पछिल्लो चुनावमा पहिलोपटक मतदान गरेका अमेरिकी अर्थात् सन् २००२ पछि जन्मिएका अमेरिकीका लागि ‘ब्लडी सन्डे’ सुदूर इतिहासजस्तो लाग्ला । तर, संघीय क्यापिटोलमाथिको आक्रमण र तिनमा कन्फडेरेट्स संकेतको प्रयोगपछि ‘ब्लडी सन्डे’को सान्दर्भिकता पुनः बलियो बनेको छ । जर्जियाको चुनावी उलटफेर तथा ट्रम्पवादविरुद्धको प्रतिरोध बृहत्तर भाष्य तथा स्वतन्त्रता अभियानको एक महत्वपूर्ण घटनाका रूपमा हेर्नुपर्छ । यो कुनै अल्पकालीन जोडघटाउमा आधारित छैन, बरु ती कुनै साहस, कारबाही तथा उद्देश्यको प्रतिफल हो । 

‘इमानदार भएर भन्ने हो भने मेरो विचारमा मार्टिनले आन्दोलन निर्माण गरेकोभन्दा पनि आन्दोलनले मार्टिनलाई बनायो । यो भनेर मैले उनको अपमान गर्न खोजेको होइन । मेरो लागि यही नै सत्य हो,’ एक अन्तर्वार्तामा डा. इला बेकरले भनेकी थिइन् । किङको जन्मोत्सव मनाइरहँदा हामीले नेतृत्वलाई ‘महान् मानव’ बनाएर तिनको पूजा गर्ने कुराबाट बच्नुपर्छ । डा. किङको वरिपरि निर्माण भएको मिथकका बाबजुद उनको वास्तविक योगदान सिभिल राइट्स आन्दोलनलाई एक्लैले लक्ष्यमा पुर्‍याउने थिएन । बरु असल उद्देश्य प्राप्तिका लागि एक सबल संगठन निर्माता हुनुमा देखिन्छ । डा. किङलाई मोजेजका रूपमा देखाउनु उनको असाधारण कामको महानताप्रतिको धोका हो । अहिलेको समयमा उनको कामबाट पाठ सिक्नु सबैभन्दा महत्वपूर्ण भएको छ । 

रिच बेन्जामिन लेखक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य