नेपालमा पनि तीनजनामा देखियो कोरोनाको नयाँ भाइरस
बेलायत र अफ्रिकी मुलुकहरूमा देखिएको कोराेना भइरसको नयाँ संस्करण नेपालमा पनि तीनजनामा देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बेलायतबाट फर्किएका नागरिकका ६ वटा नमुनामध्ये तीनजनामा नयाँ भाइरसको संक्रमण पुष्टि भएको हो ।
विज्ञप्तिअनुसार बेलायतमा देखिएको नयाँ भाइरस बी११७ नै नेपालमा पनि देखिएको हो । बेलायतबाट फर्किएका नागरिकहरूबाट संकलन गरिएको नमुना परीक्षण गर्दा एस जिन टार्गेट नेगेटिभ देखिएपछि नयाँ प्रजातिको भाइरस पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा २७ पुसमा मन्त्रालयले नमुना हङकङ पठाएको थियो । नमुना परीक्षणपछि इमेलमार्फत राष्ट्रिय जनस्वास्थ्य कार्यालयलाई पठाएको नतिजामा तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि अस्ट्रेलियाले सन् २०२१ मा सिमानाका नखोल्ने
सबैजसो नागरिकले कोभिडविरुद्धको भ्याक्सिन लगाइसकेपछि पनि अस्ट्रेलियाले सन् २०२१ भर अन्तर्राष्ट्रिय सिमानाका पूर्ण रूपमा नखोल्ने जनाएको छ । कोरोना भाइरसबाट आफ्ना नागरिकलाई जोगाउन अस्ट्रेलियाले यस्तो योजना अघि सारेको हो ।
यसैबीच यहाँका स्वास्थ्य विभागका प्रमुखले सोमबार अस्ट्रेलियामा कोरोना भाइरसका कुनै पनि नयाँ केस नदेखिएको बताएका छन् । अस्ट्रेलियाले आगामी महिनादेखि कोभिडविरुद्ध फाइजर भ्याक्सिन लगाउने तयारी गरेको छ । तर, नर्वेका केही वृद्धवृद्धामा भ्याक्सिन लगाएपछि साइटइफेक्ट देखिएको बताएपछि अन्योल बढेको जनाएको छ । अस्ट्रेलियन नागरिक ब्रेनडेन मुर्फेले एबिसी टिभीसँग भने, ‘हाम्रा धेरै नागरिकलाई खोप लगाउनु छ । हामीलाई थाहा छैन यो खोपले राम्रोसँग काम गर्छ कि गर्दैन ।’
पौडेललाई देउवाको प्रस्ताव– तपाईं लचिलो भइदिनुस्
कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भइदिन आग्रह गरेका छन् । सोमबार अपराह्न पौडेलनिवास बोहराटार पुगेका देउवा करिब डेढ घन्टापछि बाहिरिएका थिए ।
समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयमा भएको छलफलमा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन् । देउवाले पार्टीको १४औँ महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भइदिन आग्रह गरेका छन् ।
रामचन्द्र पौडेल भन्छन्- संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्– ‘लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।’
पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिँदै त्यसपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने बताउँदै आएका छन् । पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताएका छन् ।
प्रधानमन्त्री कप : विशाल पौडेलको ह्याट्रिक
गण्डकी प्रदेशका युवा क्रिकेटर विशाल पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो ह्याट्रिक विकेट लिएका छन् । उनले प्रतियोगिताअन्तर्गत सोमबार प्रदेश १ विरुद्ध भएको खेलमा ह्याट्रिकसहित चार विकेट लिएका हुन् ।
उनकै उत्कृष्ट प्रदर्शनमा गण्डकी प्रदेशले प्रतियोगितामा पहिलो जित हात पारेको छ । पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित भएको गण्डकीले समूह ‘ए’मा दुई खेलबाट दुई अंक नै जोडेको छ ।
मूलपानीस्थित क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ थालेको प्रदेश १ लाई २७.४ ओभरमा एक सय दुई रनको सहज योगफलमा रोक्न विशालले उत्कृष्ट प्रदर्शन गरे । उनले अन्तिमका तीन खेलाडीलाई लगातार तीन बलमा आउट गरे ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न अपिल गरेका छन् । प्रचण्ड र नेपालले लोकतन्त्रसमर्थक सम्पूर्ण जनसमुदाय र नेकपाका समस्त कार्यकर्ता, समर्थक र शुभचिन्तकमा अपिल जारी गरेका हुन् । यस्तो छ अपिल
फारम भरेको दुई वर्षमा प्रवेश परीक्षा
त्रिभुवन विश्वविद्यालयको तीनवर्षे एलएलबी अध्ययनका लागि फारम भरेका विद्यार्थीको दुई वर्षमा प्रवेश परीक्षा हुन लागेको छ । दोस्रो वर्षमा अध्ययन गर्नुपर्ने विद्यार्थीले बल्ल प्रवेश परीक्षा दिने पाउने भएका छन् ।
विद्यार्थी भर्ना संख्याको विषयमा विवाद हुँदा अनिश्चित भएको शैक्षिक सत्र झन्डै दुई वर्षमा टुंगो लागेको छ । थोरै क्षमता भएका क्याम्पसमा कैयौँ गुणा बढी भर्ना गर्दा समस्या भएको थियो । अहिले त्रिविले कोटा कायम गरेर भर्ना प्रक्रिया अघि बढाउने बाटो खोलेको हो ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
७५३औँ खेलमा मेसीले व्यहोरे रातो कार्ड
अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेसी मैदानमा खासै ‘रफ’ खेल्दैनन् । क्लब तथा अर्जेन्टिनी टोलीमा उनलाई एक आदर्शवान र उदाहरणीय खेलाडीका रूपमा लिने गरिन्छ । ‘फेयर प्ले’ रुचाउने मेसीले आइतबार क्लबस्तरीय प्रतिस्पर्धामा पहिलोपटक रातो कार्ड व्यहोरेका छन् ।
बार्सिलोनाले स्पेनिस सुपर कप फाइनलमा एट्लेटिको बिल्बाओविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलको अन्तिम इन्जुरी समयमा मेसीले धैर्यता गुमाउँदा रातो कार्ड पाए । खेलको १२०औँ मिनेटमा विपक्षी टोलीका खेलाडी एसियर भिलाब्रेलाई अभद्र व्यवहार गरेको भन्दै रेफ्रीले मेसीलाई रातो कार्ड देखाएका हुन् ।